आँवुखैरेनीको शैक्षिक सुधार अभियान : ग्रामीण वडामा रहेको कन्यादेवी माविमा छात्राबास

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा छात्राबास सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रका बालबालिकाहरु पठन पाठन गर्ने उक्त विद्यालयमा गाउँपालिकाले छात्राबास सञ्चालन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार एक कार्यक्रमका बीच छात्राबासको शुभारम्भ गर्दै न्यून विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीलाई समायोजन गरी पठनपाठनमा सहज बनाउने उद्देश्यले छात्राबास संचालनमा ल्याएको बताए ।
अध्यक्ष चुमानले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिकस्तर सुधारका लागि छात्रावास कार्यक्रम महत्वपूर्ण पहल भएको बताउँदै छात्रावासलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सबै पक्षको सकरात्मक पहल र सहकार्यको आवश्यकता रहेको जोड दिए ।

विद्यालयमा छात्राबास कार्यक्रमको शुरुआतसँगै कक्षा ८, ९ र १० का लगभग ४५ जना विद्यार्थीहरू छात्राबासमा बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा प्राप्तिमा सहजता पुर्याउने र सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु रहेको बताइएको छ ।
नेपालमा सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घट्दो क्रममा छ । विशेष गरी दुर्गम क्षेत्रका विद्यालयहरूमा यो समस्या अझ गम्भीर बनिरहेको अवस्थामा आँबुखैरेनी गाउँपालिकाले सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन र अभिभावकहरूको आकर्षण बढाउन विभिन्न योजनाहरू अघि बढाएको छ ।
गाउँपालिकाले सार्वजनिक शिक्षा क्षेत्रको सुधारका लागि करिब ३० जना स्वयंसेवक शिक्षकको व्यवस्था गरी विद्यालयका रिक्त दरबन्दी पुरा गर्दै आएको छ ।

विद्यालयका भौतिक संरचनाहरू जस्तै भवन, झ्याल, ढोका, शौचालय, डेस्क र बेन्चहरूको सुधार कार्यक्रम सञ्चालन गरेको छ भने निःशुल्क विद्यालय बस सेवा समेत सञ्चालनमा ल्याएको छ ।
यस्तै, पालिकाले खाजा र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ६ का विद्यार्थीहरूका लागि खाजा र अभिभावकहरूका लागि स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।
पढाइमा अभिभावकको सहभागिता कार्यक्रम अन्तर्गत गाउँपालिकाले जनप्रतिनिधिहरूका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा अध्ययन गराउने व्यवस्था गरेको छ भने शिक्षासंगै सीप कार्यक्रम पनि अगाडि बढाइएको छ ।

सार्वजनिक शिक्षा क्षेत्रमा भएका चुनौतीहरूको समाधानका लागि निरन्तर पहल गर्दै अगाडि बढेको गाउँपालिकाले छात्रावास कार्यक्रमबाट जिल्लाका अन्य विद्यालयहरूसम्म यो पहल फैलाउने र शिक्षाको स्तर सुधारमा मद्दत पु¥याउने योजना अगाडि बढाइएको छ ।










