तनहुँको व्यासमा फोहोर व्यवस्थापनको पाटो जटिल : जग्गा हडप्ने समुह हाबी भएको भन्दै समितिले सार्वजनिक गर्‍यो अडियो

सविन लामिछाने/भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । सदरमुकाम दमौलीसहित नगर क्षेत्रका विभिन्न स्थानमा फोहोर व्यवस्थापन गर्न नगरपालिकाले पटक–पटक ठाउँ परिवर्तन गर्दै आएपनि दीर्घकालीन समाधानको टुङ्गो अझै लाग्न सकेको छैन ।
नगरपालिकाले स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा विभिन्न समस्या उत्पन्न भइरहेका छन् । सुरूमा व्यास–३ भतेरीस्थित मादी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो, तर नदी कटानका कारण उक्त स्थान प्रयोग गर्न नसकिने भएपछि नगरपालिकाले वैकल्पिक स्थानमा व्यवथापन गर्दै आएको छ ।
वैकल्पिक रुपमा व्यास–१ खकौलीमा निजी जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्ने गरेपनि उक्त स्थान ६ महिनामै भरिएपछि पुनः व्यास–१३ सोढेंस्थित मादी नदी किनारलाई अस्थायी ल्याण्डफिल्ड साइटका रुपमा प्रयोग गरिएको थियो ।
नगरपालिकाले स्थायी ल्याण्डफिल्ड साइट निर्माणका लागि विभिन्न जिल्लाका नमुनायोग्य ल्याण्डफिल्ड साइटहरूको अध्ययन गरिसकेको छ । अध्ययन भ्रमणमा करिब २ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने ल्याण्डफिल्ड साइट तथा ट्रस्ट निर्माणका लागि करिब ९ लाख रुपैयाँ खर्च गरिएको छ । तर, यति ठूलो लगानी भए पनि नगरपालिकाले अझै पनि स्थायी फोहोर व्यवस्थापन केन्द्रको टुङ्गो लगाउन सकेको छैन ।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्न दीर्घकालीन समाधानका लागि भन्दै वडा नं. १३ पोखरीभञ्याङमा ४० रोपनी जग्गा खरिद गर्ने निर्णय ग¥यो । सो जग्गा युगिन कृषि फार्म प्रा.लि.मा दर्ता रहेको छ, जसको एक सेयर स्थानीय ईश्वरराज पन्थको स्वामित्वमा छ ।
नगरपालिकाले सार्वजनिक जग्गा खोज्दा उपयुक्त ठाउँ नपाएपछि सो जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरी जग्गा खरिदको लागि वडाध्यक्ष वसन्त आलेको संयोजकत्वमा सरसफाई जग्गा व्यवस्थापन समिति गठन गरिएको थियो ।
उक्त समितिले जिल्ला समन्वय समिति तनहुँमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जग्गा खरिद अनुमति माग्यो । तर, जग्गा खरिद प्रक्रियामा विभिन्न असमझदारीहरू उत्पन्न हुन थालेको सरसफाई जग्गा व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १३ का वडाध्यक्ष समेत रहेका वसन्त आलेले बताए । उनका अनुसार, ‘नगरको बजार क्षेत्रबाट दैनिक सात ट्याक्टर नकुहिने फोहोर संकलन हुन्छ, जसमा एक ट्याक्टर फोहोर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गर्न लागेका थियौं । तर, खरिद प्रक्रियामा प्रारम्भिक अधिकृतले नै जग्गा हडप्ने मतियार बने ।’
नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरी फोहोर व्यवस्थापनकाका लागि जग्गा खरिदमा केन्द्रीय सरकारको अनुमति मागिरहेको बेला अचानक विवाद चुलिएको वडाध्यक्ष आले बताउँछन् । उनका अनुसार यही कारण नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच केही सातादेखि मतभेद देखिँदै आएको छ । अहिले यो विवाद झन् चर्किन पुगेको बताउँदै उनले भने, ‘नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जि.सी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक एवं वरिष्ठ अधिवक्ता विश्व बास्तोला लगायत स्थानीय नेताहरूको संलग्न रहेको अडियो समेत प्राप्त भएको छ ।’
उक्त अडियो सार्वजनिक भएपछि नगरपालिकामा खैलाबैला मच्चियो। अडियोमा नगरपालिकाका सूचना अधिकारीसमेत रहेका कुमारकञ्चन जि.सीले जग्गाका पूर्वधनी किसान सिंह खातीसँग मिलेर जग्गा खरिद प्रक्रियालाई अवरुद्ध गर्ने योजना बनाएको संयोजक एवं वडाध्यक्ष आलेले आरोप लगाएका छन् ।
उनका अनुसार प्राप्त अडियोमा नगरपालिकाले खरिद गर्न लागेको जग्गाका विषयमा  मुद्दा दर्ता गरी जग्गा खरिद प्रक्रिया रोक्ने, नभए उक्त जग्गा आफ्नो नाममा दर्ता गरेर हडप्ने योजना बनाइएको उल्लेख छ । यसका लागि कानुनी सल्लाह लिने सन्दर्भमा अधिवक्ता विश्व बास्तोलासँग परामर्श लिने सिफारिस गरिएको उनको भनाई छ ।
नगरपालिकाका जनप्रतिनिधिहरूले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त अडियो सार्वजनिक समेत गरेका थिए । जनप्रतिनिधिहरुले यस प्रकरणको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । सार्वजनिक अडियोका आधारमा केही जनप्रतिनिधिहरूले नगरपालिकाकै केही कर्मचारीहरू योजनाबद्ध रूपमा जग्गा खरिद रोक्न र आफूलाई फाइदा हुने गरी काम गर्न लागिपरेको आरोप लगाएका छन् । नगरपालिकाका जनप्रतिनिधीले पत्रकार सम्मेलनमा कर्मचारी र जनप्रतिनिधिबीच तादम्यता नमिलेको स्वीकार गरे ।
जग्गा खरिदलाई बिथोल्न योजनाबद्ध रूपमा नगरपालिकाकै कर्मचारी र विभिन्न पक्षहरू सक्रिय रहेको भन्दै केही प्रमाणहरू समेत संकलन गरी सार्वजनिक गरिएको जनप्रतिनिधीहरुले दाबी गरेका छन्। सार्वजनिक भएको अडियोले झनै चर्चा पाएको छ, जसमा स्थानीय जग्गा व्यवसायी, नगरपालिकाका वरिष्ठ अधिकृत, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक लगायत स्थानीय नेताहरुको संलग्न रहेको भन्दै अडियो पत्रकार सम्मेलनमा सुनाईएको थियो ।
सरसफाई जग्गा व्यवस्थापन समितिलाई प्राप्त अडियोमा नगरपालिकाका केही कर्मचारी जग्गाको पूर्वधनीसंग जग्गा खरिदमा बिथोल्ने योजना बनाईएको सुनियोको समितिले जनाएको छ । उक्त जग्गामा मुद्दा दर्ता गरी जग्गा खरिद कार्य रोक्ने वा आफनो नाममा दर्ता गरी हड्प्ने योजना बाहिरिएको समितिको भनाई छ । जग्गा हड्प्नको लागि कानुनी सल्लाह लिन नगरपालिकाका कर्मचारी जि.सी.ले कानुनी व्यवसायीसंग सल्लाह लिन जग्गाका पूर्वधनीलाई आग्रह गरेको समितिको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै व्यास नगरपालिका–५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले नगरपालिकाको कर्मचारीहरूकै सिन्डिकेटका कारण विकासका कार्यहरू अवरुद्ध भइरहेको आरोप लगाए । उनले भने, ‘नगरपालिकामा कर्मचारीको सिन्डिकेट नतोडेसम्म भगवान नै चुनाव जितेर आएपनि केही नहुने स्थिति छ ।”
नगरपालिकाका केही कर्मचारीहरूले योजनाबद्ध रूपमा विकासका काम रोक्ने, अनावश्यक कानुनी जटिलता सिर्जना गर्ने र जनप्रतिनिधिहरूलाई असहयोग गर्ने प्रवृत्ति बढेको जनप्रतिनिधिहरूको आरोप छ ।
यस्तै, आरोप लागेका नगरपालिका वरिष्ठ अधिकृत कुमारकञ्चन जि.सीले नियोजित ढंगले फसाउन खोजिएको दाबी गरे। उनले भने, ‘म आफैले नेतृत्व गरेर खरिद गर्न लागेको जग्गामा किन मतियार बन्छु र, जग्गा व्यवसायी र केही जनप्रतिनिधिले मलाई फसाउन यस्तो खेल खेलेका हुन्’, उनले भने, ‘पूर्व जग्गा धनीले उक्त जग्गा बिक्री गर्दा पूरा रकम नपाएको गुनासो गर्दै मलाई भने अनि मैले कानुनी सल्लाह सिकाएको हुँ । पछि थाहा भयो उहाँ पनि त्यही समुहबाट परिचालित हुनु हुँदो रहेछ ।’
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि पाँच वर्षको अवधिमा तीनवटा स्थान परिवर्तन गरिसकेको छ । अहिले पनि समस्या समाधान नभएकाले नगरवासीहरू चिन्तित छन् । स्थानीयहरू नगरपालिकाको नेतृत्वलाई फोहोर व्यवस्थापनमा गम्भीर बन्न आग्रह गर्दै आएका छन् ।
यो विवादपछि व्यास नगरपालिकाको फोहोर व्यवस्थापन मात्र होइन, समग्र विकास प्रक्रियामै असर पार्ने देखिन्छ । अब नगरपालिकाले कसरी समाधान खोज्छ भन्ने चासोको विषय बनेको छ । जनप्रतिनिधिहरूले अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन् । अर्कोतर्फ, नगरपालिकाले यो विवाद समाधान गर्न उचित कदम चाल्ने कि प्रक्रियामै अल्झिने भन्ने प्रश्न खडा भएको छ ।
नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, कानुन व्यवसायी र अन्य सरोकारवाला पक्षहरू विवादमा संलग्न देखिएपछि अब कानुनी प्रक्रिया अघि बढाउने कि राजनीतिक समाधान खोज्ने भन्ने अन्यौल छ । तर, नगरपालिकाले जग्गा खरिद प्रक्रिया अघि बढाउने कि वैकल्पिक उपाय अपनाउने भन्ने विषयमा नगरवासीहरूले चासो देखाएका छन् ।
यता, जग्गा खरिद गर्ने विषयमा खरिद गर्ने, बिक्री गर्ने पक्षसंगै अन्य पक्षको समेत स्वार्थ बाझिएकाले अहिलेको समस्या आएको भन्दै नागरिकस्तरमा चर्चा चल्न थालेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker