धार्मिक पर्यटकीय गन्तव्य बन्ने पर्खाइमा “व्यासपराशर क्षेत्र”
देव बस्न्यात

महर्षि पराशर वशिष्ठका नाती, शक्तिका छोरा र महर्षि वेदव्यासका पिता पनि हुनुहुन्थ्यो । उहाँको जन्मस्थान महाराष्ट्र प्रदेशको कोल्हापुर जिल्ला पनहाला ग्राममा भएको जनविश्वास रहेको छ। त्यहाँ अद्यापि पराशर मुनि गुफा रहेको चर्चा परिचर्चा सुन्नमा पाइन्छ। वेद, विष्णु पुराण लगायत उहाँले वृहत पराशरहोरा शास्त्र, लघुपराशरी, वृहत पाराशरीय धर्मसंहिता, पाराशरीय पुराणम् पराशरोदिन्त नीतिशास्त्रम्, पराशरोहितं (वास्तुशास्त्र), कृषि संग्रह, कृषि पराशर एवं पराशरतंत्र लगायतका धार्मिक ग्रन्थहरुको उहाँले रचना गर्नु भएको थियो । ऋषि मुनिहरुको विद्धत सभाबाट उहाँ पुराणका प्रवक्तामा नियुक्त हुनु भएको थियो ।
वैदिक समाजमा जातिपातीको व्यवस्था थिएन । उँच र निचको विभेद थिएन । सबै समान थिए। सत्य र त्रेतापछि द्वापर युग आयो। मानिसबाट दैवी सत्ताको अवज्ञा हुन थाल्यो । मानिसहरुमा अनुशासनहिनता बढ्दै जान थाल्यो। स्वेच्छाचारीताले प्रवेश पायो। काम, क्रोध, लोभ, मोह र अहंकारले प्रश्रय पायो । ऋषि मन भएका भेटिन गाह्रो भयो । अहँकारी राजाका हातबाट ऋषि शक्तिको मृत्यु भयो । बडो कष्टले आमा दृस्यावन्तिले पराशरलाई हुर्काइन। बाबाको अकालमा मृत्यु भएको वास्तविकता थाहा पाउँदा पराशर मुनी दुःखित बन्नु भयो । पराशरको मनमा प्रतिसोधको भावना जागृत भयो । तत्कालै उहाँले राक्षसहरुको सर्वनाशका लागि सत्र नामक यज्ञ गर्नुभयो। उक्त यज्ञबाट हजारौ निरपराध राक्षसहरुको मृत्यु हुन पुग्यो। ऋषि मुनीहरु चिन्तित हुन थाले। सत्रयज्ञ अनर्थ भएको महसुस गरियो । यज्ञस्थलमा ऋषि मुनीहरु जम्मा भए । पराशरलाई ऋषिमन बनाउन सबै ऋषिहरुले सुझाव दिए । आवेगमा गरेको कार्यले पराशरलाई चिन्तित बनायो। उहाँमा प्रायश्चित गर्ने मन भयो ।
यज्ञबाट मृत्युवरण गरेकाहरुको मुक्तिका लागि उहाँले पावनभूमि गण्डकक्षेत्रको तीर्थव्रत गर्ने सोंच बनाउनु भयो । विशेषत उहाँ धार्मिक तीर्थ यात्रीका रुपले चिरपरिचित पनि हुनुहुन्थ्यो। बौद्ध हिमालको काखमा अवस्थित नारदपोखरी र दूधपोखरीमा स्नानमा जाने उहाँले महान संकल्प लिनु भयो । देवर्षि नारद र च्यवन ऋषिलाई भेट्ने मन्सायले ऋषि पराशर गण्डकी जलाधार क्षेत्रमा प्रवेश गर्नु भयो । तीर्थयात्राको क्रममा सप्तगण्डकी नारायणीको किनार किनारै उहाँ त्रिवेणीधाम हुँदै कालिंदी नदी तरेर देवघाटधाम र भृगुकुट पुग्नु भयो ।
ऋष्यऋङ्ग पर्वत माला पार गर्दै उहाँ सेतीमादी नदीको संगमस्थल दमौली आइपुग्नु भयो । यात्राबाट थकित ऋषि पराशरले सेती मादी संगमस्थल वेनीमा आश्रम बनाएर बस्नु भयो । उपयुक्त समयको प्रतिक्षा पछि ऋषि पराशर नारदपोखरी र दूधपोखरीमा स्नानका लागि दरौंदी नदीको काख काखै नारद पोखरी पुग्नु भयो । उहाँले ब्रह्मर्षि नारदसंग भेट गर्नु भयो । नारदकै सल्लाहमा त्यतैबाट बौद्ध हिमाल पार गरेर उहाँ दूधपोखरी पनि पुग्नु भयो । दूध पोखरीमा स्नान गरेपछि त्यहाँका महान तपस्वी च्यवन ऋषिलाई उहाँले भेट गर्नु भयो । च्यवन ऋषिले उहाँलाई सेतीमादी सङ्गम स्थलको आश्रममा बसेर युग परिवर्तनको महान कार्यमा सहयोग पु¥याउन सल्लाह दिनु भयो ।
ऋषि पराशर चेपेनदीको किनार किनारै चेपघाटमा मरस्याङ्गदी पारगरेर दशहराको दिन यमुना (मादी) नदीको किनारमा आएर रोकिनु भयो । माझीहरु ग्ण्डकी पुजामा नै व्यस्त थिए । ऋषिलाई यमुना नदी पार गराउनका मत्स्यागन्धा आइपुगिन । मत्स्यागन्धा ऋषिलाई नदी पार गराउँदै थिइन । मत्स्यगन्धाको उल्र्लदो अठार वर्षे बैंंसले पराशर मुनिलाई आकर्षित गराउँदै गयो । एक महान युग परिवर्तनको लागि पराशरले मत्स्यागन्धासंग सहवासका लागि याचना गरे । अर्को तर्फ माता छाब्दी वाराहीमाइबाट वरदान प्राप्त गरेकी मत्स्यगन्धाले ऋषि पराशरको सम्पूर्ण गुह्य थाहा पाएकी थिइन । दुई आत्मा बीचको सहवासको गोपनियता रहन, कन्यव्रत भङ्ग नहुन र शरीरको दूर्गन्ध हटाइ शरीरमा कस्तुरीको वीना जस्तै सुगन्ध कायम गरीदिन पर्ने स–सर्तमा ऋषि पराशरको आग्रहलाई मत्स्यागन्धाले सहजै स्वीकार्नु भयो ।
दुई आत्माको मिलन पश्चात सेतीमादी नदीको संगमस्थल नजिक वयरघारी वनमा युगपुरुष श्रीकृष्णद्वैपायन वेदव्यासको जन्म भयो। जन्मनासाथ भगवान वेदव्यास आमाको आज्ञाले उत्तर दिशामा गएर तपस्या गर्न जानु भयो भने माता सत्यवती धर्मपिता दाशराज माझीकै घरमा रहन बस्न थाल्नु भयो। पुत्रवात्सल्यले पराशर मुनि सेतीमादी टापु स्थित आश्रममा नै रहनु भयो । उनै ऋषिले तपस्या गरेको स्थल अहिले पराशर–गुफा एवं पराशर–आश्रमको नामले दमौलीमा चिर–परिचित छ ।
माछामारी जिविका गर्ने माझीपुत्री सत्यवती र सात्वीक जीवन बिताउने ऋषि मनका पराशर मुनि बीच जीवनशैली मेल हुने कुरै थिएन । ऋषि पराशर र सत्यवतीका बीच गुरु र शिष्यको सम्बन्ध निरन्तर कायम नै थियो । राजा शान्तनुसंग सत्यवतीको विवाह हुन पुगेपछि उहाँ हस्तिनापुरकी महारानी बन्नु भएको थियो।
ऋषि पराशर आफ्नै आश्रममा प्रवचन गरी रहनु भएको थियो । त्यही बेला दुष्ट शक्तिहरुले उहाँ माथि आक्रमण गरे । उहाँको गोडामा ठूलो चोट लाग्न पुगेको थियो । सोही चोटका कारण पराशर मुनि शारीरिक दृष्टिकोणले कुञ्जो बन्नु भयो । कुनै एक समय ऋषि पराशर आफ्ना शिष्यहरुका साथ घनघोर अद्वैत वनको बाटो पार गर्दै हुनुहुन्थ्यो । त्यसै बखत ऋषि पराशर र उनका शिष्यहरु माथि जंगली फ्याउराहरुले आक्रमण गरे । डुंडो गोडा र बूढ्यौली हुँदाहुँदै पनि पराशर ऋषिले आफूलाई बचाउन यत्न सकेसम्म गरेका हुन् । फ्याउरोको आक्रमणबाट घाइते पराशरलाई पत्थरघाटमा आश्रम बनाएर उपचार गरियो। कसै गरी पराशर ऋषिलाई बचाउन सकिएन । पराशर यस धरतीबाट सधैंका लागि अस्त हुनुभयो । शिष्यहरुले उहाँलाई पराशरघाट (पत्थरघाटमा) सतगत गरे । पराशर आश्रमको दक्षिण भागमा अहिले पनि फ्याउरोको शीला भेटिन्छ । सबैको सहयोग र सतकर्मका गरेकै कारण उहाँले अमरता पाउनु भएको छ ।
ऋषि पराशरको अस्त पश्चात पुत्ररत्न महर्षि वेदव्यासले सम्पूर्ण मानव जातिहरुको पहिचान र उन्नतीको लागि अज्ञानरुपि अन्धकारबाट सदज्ञानकोे मार्ग तर्फ लाग्न सदैव उत्प्रेरित गरी रहनु भएको छ । भगवान वेदव्यास ज्ञानको अरिम र अनन्त सागर हुनुहुन्छ। लुप्त हुन लागेको वैदिक ज्ञान सागरलाई श्रुती, स्मरण, तपोवलका शक्ति र भगवान श्रीकृष्णको कृपाले चारवेद, अठार पुराण, अठार उपपुराण औप पुराण र अनेकौ ग्रन्थहरुको लिपिकरण र महाभारत ग्रन्थको रचना गर्नु भएको थियो।
सनातन हिन्दु धर्मका प्रणेता महर्षि वेदव्यासको जन्मस्थल र पराशर ऋषिको कर्म थलो हो दमौली । विश्वमा सवा एक अरव भन्दा बढि सनातन हिन्दु धर्मालम्वीहरुको मूल थलो हो दमौली । व्यास जन्मस्थल दमौली उत्तर शिवपाञ्चयन मन्दिर परिसरमा महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति, व्यासको जीवन कथामा आधारित व्यास डोमी घर, मादीनदी स्थित प्राकृतिक भङ्गभङ्गे अर्थात सत्यवती झुला रहेको स्थानमा बाँध बाँधेर माहेन्द्री तालको निर्माण र मादी र सांगे खोलाको संगममा ५४ फिट अग्लो मत्स्यागन्धाको मूर्ति, व्यास झूला मनिको शीला माथी दाशराज माझीको मूति र सुन्दर वगैंचा र पार्कहरु निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न सकेमा दमौलीमा धार्मिक पर्यटन मौलाउने निश्चित प्राय छ ।
दमौलीमा पर्यटन विकासका लागि आंकु र बूढी गण्डकीदेखि मोदी र काली गण्डकीसम्मको बृहत व्यासक्षेत्र परिक्रमा, दमौली क्षेत्रका सातवाराही क्षेत्र परिक्रमाको महत्व माथि प्रकाश पार्नै पर्दछ । पार्वतीको अर्को नाम अन्नपूर्ण हो । हिमालय पर्वतकी छोरी पार्वती र अन्नापूर्ण हिमश्रृंखला बीचको ऋन्योनाश्रित सम्बन्ध र यसको महिमा चिनाउनु जरुरी छ । त्यही अन्नपूर्ण हिम श्रृंखलाबाट बहेका सेतीमादी र ती जलाधार क्षेत्रमा पाइने कर्पुटारका इशानेश्वर महादेव मन्दिर, शिःसाघाटका शिःसाकोटी महादेव मन्दिर, पोखराको राममन्दिर, ढुङ्गेसांगु, ढोरवाराही मन्दिर, च्यवनधाम कोत्रे, व्यासेश्वर महादेव मन्दिर व्यास प्रयाग दमौली, भिमबांध भिमाद महत्वपूर्ण तीर्थस्थलहरु हुन । व्यास प्रयागका सातवाराही मन्दिरहरुमा घुटुक्दी वाराही मन्दिर, गुणादी वाराही मन्दिर, फोकसिनको रानी वाराही मन्दिर, बैरेनीको जलवाराही मन्दिर, दुम्सीको छाङ्गा वाराही मन्दिर, निर्वु वारही मन्दिर, फराकचौरको वाराही मन्दिर र छाव्दी वाराही मन्दिर समेतको एकीकृत गुरुयोजना निर्माण गरेर अगाडी बढ्नु पर्ने हो । तथापि पराशर क्षेत्र र व्यास क्षेत्रका छुट्टाछुट्टै गुरु योजनाहरु छुट्टाछुट्टै सँस्थाहरुबाट तयार हुनु पुगेका छन् । व्यास पराशर क्षेत्रको विकासमा छुट्टाछुट्टै संस्थाहरुलाई मर्ज गरेर एकीकृत संस्था र एकीकृत गुरुयोजना बनाउनु पर्ने आजको प्रमुख आबश्यकता बनेको छ ।
सनातन हिन्दु धर्मालम्वीहरु गुरुलाई भगवान प्राप्त गर्ने माध्यम सम्झन्छन् । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका एकै रुपमा गुरुलाई नै सम्झन्छन् । हृदय भित्रका आदरणीय व्यक्तित्व गुरुको दर्शन गर्न विश्वका सवा अरव भन्दा बढी सनातन हिन्दु धर्मालम्वीहरुको पावन भूमि दमौली आउनेहरुको संख्या प्रति वर्ष लाखौं लाख मात्र नभएर करोडौं करोड पुग्न सक्दछ। मुस्लिमहरुको मक्का मदिना, यहुदीहरु र कृश्चियनहरुको जेरुसलेम, बुद्धिष्टहरुको पवित्र स्थल लुम्बिनी बन्न सके जस्तै हिन्दुहरुको पवित्र स्थल व्यासप्रयाग दमौली बन्न सक्दछ । महर्षि वेदव्यासको जन्मस्थलो दमौली विश्वका सम्पूर्ण हिन्दुहरुको मूलथलो बन्ने विषयमा दुइमत नहोला । धार्मिक तथा पौराणिक पर्यटन स्थलको राजधानी नबन्ला भन्न सकिन्न ।
नेपालको वैदेशिक व्यापार असन्तुलन दिन दुइगुना र रात चौगुना बढदो छ । नेपालको अर्थ व्यवस्था अहिले रेमिटान्समा चलेको भएता पनि यो सदैव रहन्छ भन्न सकिंदैन । रेमिटान्समा कमी हुन साथ देशको राष्ट्रिय अर्थतन्त्र डाँमाडोल हुने स्थिति छ । नेपालका हिमाच्छादित हिमशिखरहरु, नदीहरुमा हुने ¥याफ्टिङ्ग, हाइकिङ्ग, रक क्लाइम्बिङ्ग, प्याराग्लाइडिङ्ग, यहाँका ऐतिहासिक रजस्थलहरु, पौराणिक मठमन्दिरहरु, दशैं, तिहार, माघेसंक्रान्ति, कौरा घांटु, मारुनी, लाखे जस्ता मौलिक पर्व तथा जात्राहरु र हाम्रा संस्कार तथा संस्कृतिहरु पर्यटनका पूर्वाधार मानिन्छन्। यस तर्फ अहिलेसम्म हाम्रो ध्यान नपुग्नु दुर्भाग्य बनेको छ । पर्यटन व्यवसाय प्रबद्र्धन गर्न सकियो भने नेपालको वैदेशिक व्यापारमा देखा परेको व्यापार असन्तुलनलाई न्यूनिकरण गर्नमा टेवा पुग्ने देखिन्छ । पर्यटन व्यवसाय राज्यको एक प्रमुख आर्थिक श्रोत बन्न सक्दछ । पर्यटन व्यवसाय फस्टाउन यातायातको पहुँच हुनु जरुरी छ । पृथ्वीराजमार्गले बस तथा हल्का सवारी साधनको पहुँच भएता पनि रेल यातायात र हवाई यातायातको सुविधाबाट बञ्चित छ दमौली। नवलपुरको त्रिवेणी, गैडाकोट, कालिकाटार साराङ्गघाट हुँदै दमौलीसम्म सुरुङ रेलमार्ग र चिन्टुटारमा हवाइ मैदान बनाउन सकेमा देश विदेशबाट पर्यटक भित्र्याउन सहज हुने सक्दथ्यो ।
अन्त्यमा बाहुन क्षत्रीले घरमा कुखुरा, वंगुर, पाल्न हुँदैन, कुखुरा वंगुरकोे मासु खान हुँदैन र गाई भैंसीको दूध वेच्न हुँदैन पाप लाग्छ भन्ने हाम्रो परम्परागत रुढीवादी सोचयुक्त समाजलाई परिवर्तन गर्न आबश्यक भइसकेको छ । व्यवसायीक ढंगले गरिएका कुनै पनि कार्यहरु पाप होइनन् भन्ने सकरात्मक सोचको विकास गर्न परेको छ । यसैले सदस्य सेवा सहितको लाभको मालिक बन्न र बनाउन सरकार, सहकारी र निजी समेत तीनै क्षेत्र व्यवसायीमुखी बन्नै पर्दछ । हामीसंग छरिएर रहेको पूँजीलाई एकत्रित गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने बानी बसाल्नु जरुरी छ । प्राकृतिक साधान र श्रोतको समुचित प्रयोग गर्न परेको छ । दमौलीलाई पर्यटन नगरी बनाउने संकल्प गरौं । व्यवसायीक पर्यटन सहकारीको प्रवर्द्धन गरौं । अस्तु ।










