बन्दीपुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

बन्दीपुर : बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना, सेवा प्रवाहको प्रभावकारिता, पारदर्शिता तथा नागरिकका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। सार्वजनिक सुनुवाइमार्फत स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाका गतिविधिलाई पारदर्शी बनाउने र नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वर्ष तीन पटक सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिकाका सबै वडामा पुगेर संकलन गरिएको नागरिक प्रतिवेदन, बहिर्गमन अभिमत तथा स्थानीयका समस्या, पीडा र गुनासाहरू प्रस्तुत गरिएको थियो।
सहभागीहरूले विकास योजना कार्यान्वयनमा देखिएका झन्झटहरू कम गर्नुपर्ने, स्वीकृत योजनाहरू समयमै सम्पन्न गर्नुपर्ने तथा तीनधारामा खेलकुद पूर्वाधार विकास गर्नुपर्ने माग राखेका थिए। ऐलानी जग्गामा निर्माण भएका संरचनाको वैधानिकता, बन्दीपुर–३ मा निर्माणाधीन ‘आमासँग भवन’को बजेट निकासामा देखिएको अन्योल तथा “एक वडा एक प्राविधिक” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयमा पनि जिज्ञासा राखिएको थियो।
त्यसैगरी, गाउँपालिकाबाट प्रस्तुत विवरणहरू लिखित रूपमा वितरण गरिनुपर्ने, होमस्टे सर्किट प्रवर्द्धन, मुख्य गाउँहरू जोड्ने सडक कालोपत्रे, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, विपन्न नागरिकको उपचार सहयोग तथा चिस्यान केन्द्र स्थापना जस्ता विषयमा समेत ध्यान दिनुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।
कार्यक्रममा सेवा प्रवाहमा देखिएका समस्या, विकास निर्माण कार्यको गुणस्तर तथा समयमै सम्पन्नतासम्बन्धी प्रश्नहरू समेत उठाइएको थियो।
उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, वडा नं. २ का वडाध्यक्ष लोकबहादुर कुँवर, वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी तथा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सम्बन्धित विषयमा स्पष्ट पार्दै गुनासो सम्बोधन गरेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि सुझाव र धारणा राखेका थिए।
कार्यक्रमको निष्कर्षमा स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रम उपयोगी हुने सहभागीहरूले बताएका छन्। गाउँपालिकाले प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रमहरूमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको छ।










