प्राविका शिक्षकबाट मावि तहमा पढाउनुपर्ने बाँध्यता अन्त्य गराउनुपर्छ : प्रअ पौडेल
प्रधानाधयापक ढाकाराम पौडेल

युवा पलायन हुनबाट रोक्नका लागि अभिभावकलाई पनि शिक्षित बनाउन आवश्यक भएको ऋषिङ गाउँपालिकास्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालयका प्रधानाधयापक ढाकाराम पौडेल बताउँछन् । अभिभावकहरुले आफ्ना छोराछोरीले विद्यालय शिक्षा राम्रोसंग पुरा गर्न नपाउँदै वैदेशिक रोजगारी तथा अन्यत्र पठाउने प्रचलन बढ्दै गएकाले पनि अहिले ग्रामीण क्षेत्र युवा बिहिन जस्तै अवस्थामा पुगेका छन् ।
स्थानीय सरकारले आफ्ना मातहतका विद्यालयहरुमा स्थानीय माग र आवश्यकतालाई पहिचान गरी सोही खालको शिक्षा ऐन कार्यान्वयनमा ल्याउनुको विकल्प नभएको उनले जोड दिए । प्रधानाध्यापक पौडेलले भने, ‘गाउँको विकासका लागि शिक्षित युवा शक्ति पलायनलाई रोक्नुपर्छ । युवालाई आफ्नो थातथलोमा रोक्नका लागि हावापानी र आवश्यकता पहिचान गरी स्थानीय सरकारले कार्यक्रम चलाउनुपर्छ । युवालाई व्यवसायिक रुपमा कृषि र पशुपालन क्षेत्रमा जोड्दै उत्पादित उपजको सहज रुपमा बजारीकरण, कृषि बीमा, उन्नतजातका बिऊविजन, सिंचाई, मल, अनुदान, सहुलियत ब्याज दरमा ऋण जस्ता कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन सक्नुपर्छ ।’‘ग्रामीण क्षेत्रका अधिकांश विद्यालयहरुमा दरबन्दी अनुसारको बिषयगत शिक्षकहरु छैनन् । तल्लो तहमा रहेर माथिल्लो तहलाई अध्यपन गराउनुपर्ने अवस्था छ । विषय मिलोस् नमिलोस् मतलब भएन । अब पढाउने भनेर जाने अवस्थामात्रै छ’, उनले भने, ‘दक्ष्य शिक्षक आवश्यक छ, दरवन्दी प्रयाप्ता नभएकाले शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । जस्तै मेरै विद्यालय प्रास्तावित मावि हो । बालबिकासदेखि कक्षा १० सम्म अध्यपन हुन्छ । त्यहाँ माध्यमिक तहको दरबन्दी भनेको न्युन छ । निम्न माध्यमिक तहमा पनि जम्म २ वटा दरबन्दी छ। प्राथमिक तहमा ८ वटा दरबन्दी छ । त्यही ८ वटा दरबन्दीले १० कक्षासम्म पठनपाठन गराउनुपर्छ । त्यसरी अध्यपन गराइसकेपछि ती शिक्षकहरुलाई थप सेवा सुविधा दिनसकिएको छैन । हामी प्राविमा पढाउने शिक्षकहरुलाई माविलाई पढाउन परेको छ तर केही सेवा सुविधा छैन भन्ने शिक्षकहरुको गुनासो हुन्छ । यस प्रकारले विद्यालय शिक्षाको गुणस्तर खस्किदै जान्छ । यस तर्फ सरोकारवालाको समयमै ध्यान जानुपर्छ ।’
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा २०८२ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित सामाग्रि)










