तनहुँको बन्दिपुर-१ पिप्लेस्थित पवित्रा माविमा अतिरिक्त शिक्षक पेशागत विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-१ पिप्ले स्थित पवित्रा माध्यमिक विद्यालयमा कक्षा १ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि पाँच दिने अतिरिक्त शिक्षक पेशागत विकास तालिम सम्पन्न गरिएको छ । बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा सञ्चालित तालिम आइतबार सम्पन्न गरिएको हो ।
शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर बृद्धि गर्दै एकिकृत पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी हासिल गर्दै बालबालिकाको सिकाई मा सुधार गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।
तालिम समापन गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शैक्षिक गुणस्तर बृद्धि गर्न तालिमले सघाउ पुग्ने हुँदा सिकेको ज्ञान तथा सिपलाई कक्षाकोठामा उर्तान आग्रह गर्दै शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जाईका आइमिन परियोजनाका प्रमुख केन्जी ओहराले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाइसँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप दिगो हुने साथै प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने बताए ।
कार्यक्रममा परियोजनाबाट संचालन गरिएको आधार सर्वेक्षणको नतिजाको बारेमा समेत सहजीकरण गर्दै उनले कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकामा शैक्षिक क्षति भएका कारण शिक्षकले नै उनीहरुको अवस्था, समस्या बुझ्दै बालबालिकाको सिकाइमा सहयोग गर्न पनि उनले अनुरोध गरे ।
त्यस्तै शिक्षा मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गिरमान थापाले आईमिन परियोजनाको सहयोगमा नेपाल सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार परियोजना संचालन गरेकाले यस परियोजना मार्फत शिक्षकको क्षमता विकास, पाठ्यसामाग्रीको विकास तथा वितरण गरिएको जानकारी दिए ।
उनले तालिमबाट विद्यालय स्तरीय शिक्षक पेसागत विकास तथा सहयोगलाई सहकार्यात्मक उपागम जसलाई पाठ अध्ययन भनिन्छ, लाई जोड दिएकाले विद्यार्थीको सिकाइमा शिक्षकहरु विचको अन्तरक्रिया, प्राविधिक गोष्ठि, विज्ञ शिक्षकको सहयोगको माध्ययमबाट विद्यार्थीमा देखिएका शैक्षिक समस्यालाई छलफलका माध्ययमबाट सुधार गर्न सकिनेमा जोड दिए ।
कार्यक्रम बन्दिपुर गाउँपालिका अन्तर्गतका ३१ वटा सामुदायिक विद्यालय मध्ये पहिलो चरणमा १५ विद्यालयका कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको तालिमको समापन सत्र बन्दिपुर गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले गरेका थिए ।