छाब्दीबराही मन्दिर क्षेत्रमा सडक बत्ती जडान गरी हस्तान्तरण

दमौली : रोटरी क्लब दमौलीले तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दीबराही मन्दिर परिसरमा सडक बत्ती जडान गरी मन्दिर विकास कोषलाई हस्तान्तरण गरिएको छ । मन्दिर परिसरमा जडान गरिएका ८ वटा कलात्मक स्तम्भमा २४ बल्ब स्थापना गरिएको हो। सडक बत्ती जडानसंगै संरक्षण, रेखदेख र सञ्चालनका लागि क्लब र छाब्दीबराही विकास कोषबीच द्विपक्षीय सम्झौता पनि गरिएको छ ।
कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले रोटरी क्लबले समाजलाई आवश्यक बेला निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै छाब्दी क्षेत्रमा यस वर्ष बसपार्क निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । उनले सडक बत्तीबाट हजारौं भक्तजन लाभान्वित हुने विश्वास व्यक्त गरे ।

व्यास–१४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले धार्मिक स्थलमा गरिएको योगदानले रोटरीको प्रतिष्ठा बढाएको बताए । विकास कोषका प्रमुख थानबहादुर थापाले सडक बत्तीले धार्मिक कार्यक्रम, सामाजिक गतिविधि र मेलापर्वलाई व्यवस्थित बनाउन टेवा पुग्ने बताए ।
क्लबकी निवर्तमान अध्यक्ष जीवनकुमारी श्रेष्ठले कलात्मक बत्तीहरूले मन्दिर परिसर आकर्षक देखिने भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा मन्दिर विकास कोषका सल्लाहकार गजेन्द्र पन्थ, इलेक्ट प्रेसिडेन्ट नारायण मल्ल, सचिव सुवास गौतम लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
सोही अवसरमा क्लबका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले दशैं–तिहारमा भक्तजनको चापलाई सहज बनाउनका लागि सय मिटर लामो रोप लाइट र १० वटा कनेक्टर सहयोग गर्ने घोषणा गरे ।










