गाउँघरमा ढिकीजाँतो देखिंदैनन्

जनक श्रेष्ठ/लमजुङ

युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेका छन् । केही वर्षघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो ।

ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

दोर्दी गाउँपालिका-३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउनुहुन्छ । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उहाँले सुनाउनुभयो ।

“विगतमा ढिकीजाँतोमा संघर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन् । पहिले गाउँमा ढिँकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिँकीजाँतो देखिन छाडे । अहिले सम्झदा पनि कथा जस्तै लाग्छ”, उहाँले भन्नुभयो ।

दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताउनुभयो । “हाम्रा पालामा सबैले घरमा ढिँकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयो – ढिँकीजाँतो”, उहाँले भन्नुभयो, “ढिँकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झदा पनि ज्रि्रो रसाउँछ । त्यो शौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन् ।”

त्यस्तै, दोर्दी गाउँपालिका-३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाउनुभयो । “हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन् । समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले । निकै दुःख लाग्छ”, उहाँले गुनासो गर्नुभयो ।

ढिकीजाँतो प्रशस्त हुने यस वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँ लगायतका गाउँमा अहिले देख्नै मुस्किल पर्दै गएको छ । एक हजारभन्दा बढी घरधुरी रहेका ती गाउँमा पाँच/१० वटाभन्दा धेरै ढिँकीजाँतो छैनन् । ढिँकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुका ३५ घरमध्ये अहिले एकाध घरमा मात्र ढिँकी रहेको स्थानीय काम सार्की गुरुङले बताउनुभयो । करिब १०/१२ वर्षगाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकीजाँतो लोप भएको उहाँको भनाइ छ । यसरी परम्परागत ढिँकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिएकोमा उहाँले दुःखमनाउ गर्नुभयो । सोही गाउँपालिका-३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिकीजाँतो प्रयोग गर्दै आए पनि अहिले एक दुइ जनाको घरमा मात्र रहेको बताउनुभयो ।

बेँसीसहर नगरपालिका-२ नरुवाल गाउँमा करिब १४ वर्षअघिसम्म प्रत्येक घरमा ढिकीजाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै गएर छ वर्षअघिबाट गाउँमा दुइ जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउनुहुन्छ । “गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिकीजाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे तर हामीलाई त धेरै माया लाग्छ ।”

विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker