आदिकवि भानुभक्त क्याम्पसमा “म सक्छु” उत्प्रेरणा कक्षा

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत सञ्चालित आदिकवि भानुभक्त माध्यमिक विद्यालयले एसईई ग्रेड वृद्धि परीक्षार्थीहरूका लागि ‘म सक्छु’ विषयक उत्प्रेरणा कक्षा आइतबार सम्पन्न गरेको छ ।
उक्त कक्षामा गत एसईई परीक्षामा असफल भएका वा न्यून ग्रेड प्राप्त गरेका करिब १ सय जना विद्यार्थीहरू सहभागी थिए । विद्यालयले ग्रेड वृद्धि परीक्षा तयारीका लागि चलाउँदै आएको निःशुल्क अध्ययन कक्षामा आवद्ध विद्यार्थीहरूलाई उत्प्रेरणा दिन यो विशेष कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
एसईई परीक्षामा खराब नतिजा आएको कारण तनावमा रहेका विद्यार्थीलाई मनोबल बलियो बनाउने, आत्मविश्वास दिलाउने र भविष्यप्रति सकारात्मक सोच विकास गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको उनले बताए ।
क्याम्पस प्रमुख हड्खले र विद्यालयका सहायक प्राचार्य तीर्थराज रानाभाटले उत्प्रेरणा कक्षाको सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूलाई “एक पटक असफल हुनु नै जीवनको अन्त्य होइन”, “आफूभित्रको सम्भावनालाई चिनौं”, र “म अझै केही गर्न सक्छु” भन्ने आत्मबोध गराउने खालका प्रेरक सन्देश दिइएको थियो।
ग्रेड वृद्धि परीक्षाका लागि विद्यालयले विगत केही हप्तादेखि निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको छ। यस कार्यले सामुदायिक विद्यालयका आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको शिक्षक तथा अभिभावकहरूले बताएका छन् ।
परीक्षामा राम्रो गर्न नसकेका विद्यार्थीहरूमा नकारात्मक सोच, आत्मग्लानि र पढाइप्रति उदासीनता देखिने प्रवृत्तिलाई तोड्न यस्ता कक्षाले सकारात्मक प्रभावपार्ने विश्वास विद्यालयले गरेको छ ।
क्याम्पस प्रमुख हडखाले भने, “हाम्रो उद्देश्य नतिजा कमजोर भएकै कारण आफूलाई कमजोर ठान्ने प्रवृत्ति हटाउनु हो। कुनै नतिजा अन्तिम होइन। विद्यार्थीको आत्मबल, प्रयास र इच्छाशक्तिले भविष्य निर्माण गर्छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker