आदिकविमा सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख र संयोजकहरूको पदस्थापन

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा समिति संयोजकहरूको पदस्थापन गरिएको छ । क्याम्पस सञ्चालक समितिको बुधबारको निर्णयअनुसार विहीबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सबै जिम्मेवारी प्राप्त प्राध्यापकहरूलाई इमान्दार भएर काम गर्न प्रेरित गर्दै क्याम्पसको भावी शैक्षिक प्रगति उनीहरूको सक्रियतामै निर्भर हुने बताए ।
कार्यक्रममा खरसिंह दरैले योग्य, दक्ष र अनुभवी जनशक्तिलाई जिम्मेवारी दिइएको भन्दै कामको निरन्तर मूल्यांकन हुने जानकारी गराए। क्याम्पस प्रमुख महाप्रसाद हड्खले प्राध्यापकहरूको योग्यता र क्षमताको मूल्याङ्कन प्रणाली क्याम्पसमा स्थापित भइसकेको उल्लेख गर्दै जिम्मेवारीलाई इमान्दार ढंगले निर्वाह गर्न सबैलाई आग्रह गरे ।
उनका अनुसार, सेवाग्राही र सरोकारवालाको संख्या विस्तार भइरहेको वर्तमान अवस्थामा व्यवस्थापनमा सहजता ल्याउन तीन जना सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको छ ।
क्याम्पसले डा. रामकुमार अधिकारी (शिक्षाशास्त्र संकाय र बिहानी सत्र), विश्वेश्वर तिमल्सेना (व्यवस्थापन संकाय र दिवा सत्र), बिमल गिरि (मानविकी संकाय र सायम सत्र) सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।
त्यस्तै, विभागीय प्रमुखहरुमा नेपाली विभाग डा. सुशील वाग्ले, शिक्षा विभाग गजेन्द्र पौडेल, व्यवस्थापन विभाग जनक काफ्ले, विज्ञान विभाग सागर न्यौपाने, बीआईसीटीई संयोजक ई. घनबहादुर थापा रहेका छन् ।
समिति संयोजक अन्तर्गत अभ्यास शिक्षणमा लालप्रसाद भट्टराई, अतिरिक्त क्रियाकलापमा तिलबहादुर थापा, विद्यार्थी गुनासो÷परामर्श÷रोजगार प्रतिस्थापनमा बिमल खत्री, स्व–मूल्याङ्कन प्रतिवेदन लेखनमा राजन घिमिरे रहेका छन् ।
नवनियुक्त पदाधिकारीहरूलाई अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खरसिंह दरै र क्याम्पस प्रमुख हड्खलेले पदस्थापन गराएका थिए । प्राध्यापक, कर्मचारी तथा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आलेसहितको उपस्थिति रहेको कार्यक्रममा निवर्तमान सहायक क्याम्पस प्रमुख सागर पौडेलले सहजिकरण गरेका थिए ।










