मौलिक परम्परागत ठाडोभाका संरक्षणका लागि प्रशिक्षण

दमौली : तनहुँको व्यास नगरपालिका–१२ गोल्लाका हिमला आलेले लोपोन्मुख ठाडोभाकाको संरक्षणका लागि प्रशिक्षण नै लिएका छन् । युट्युब लगायतका सामाजिक सञ्जालमा हेरेर गाउने प्रयास गरे पनि सफल नभएपछि उनले अहिले प्रशिक्षण नै लिएका हुन् ।
“पहिले लोकभाकाको लय, शब्द, टुक्का कसरी जोड्ने थाहा नै पाएको थिएन । प्रशिक्षणपछि धेरै कुरा सिक्न पाएँ”, आले भन्छन्, “प्रशिक्षणले यसलाई संरक्षण र प्रचारप्रसार गर्नेछ । नगरपालिकाले लोपोन्मुख भाकालाई पुस्ता हस्तान्तरण र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।” केही टुक्का जोडेर गाउन जानेको र अवसर पाए प्रयाससँगै पोख्त बन्ने उनको विश्वास छ ।
देवघाटका पुष्प थापा मगर पनि आफूले ठाडोभाका सिक्ने अवसर पाएको बताउँछन् । “ठाडोभाका सिक्ने मन भएपनि यस्तो अवसर पाएको थिएन । प्रशिक्षकले कहिले पनि गाउन नजानेका र केही जानेकालाई समेटेर सिकाउनुभयो । जसले तीन दिनमा गाउँने प्रयासमा अधिकांश प्रशिक्षार्थीले स्वर दिएका छन्”, उनले भने, “ठाडोभाकाले अवसर सिर्जना गर्नुका साथै पुस्ता हस्तान्तरणमा टेवा पुगेको छ ।”
प्रशिक्षणमा नयाँ पुस्ताको रुपमा व्यास–६ उपल्लो साझाका गौकुमारी गुरुङ पनि छन् । उनले भनिन्, “ठाडोभाका हाम्रो मौलिक भाका हो । सुन्दा सजिलो तथा गाउन गाह्रो छ। अरु गीतभन्दा पृथक रहेको छ । अन्य गीतसंगीतमा ट्रयाकमा गाउन सकिन्छ भने ठाडोभाका हाम्रो मौलिक पहिचान हो । पुस्ता हस्तान्तरण हुन जरुरी छ र व्यास नगरपालिकाले गहन रुपमा लिएर प्रशिक्षण दिएको छ ।” तालिमले आफ्नो स्वर र आत्मबल दुवै बढाएको उनले बताइन् ।
“पहिला लय समात्नै गाह्रो लाग्थ्यो”, उनले भनिन्, “तर अभ्यासपछि ठाडोभाकाको मौलिक धुन आफ्नै गलाबाट निस्कँदा गर्व लाग्छ, यसले हाम्रो क्षमता वृद्धि मात्र होइन, संस्कृति प्रतिको लगाव पनि बढाएको छ ।”
‘ठाडोभाका’ गण्डकी प्रदेशको मौलिक पहिचान हो । विगतमा प्रख्यात ‘ठाडोभाका’ लोपोन्मुख अवस्थामा पुगेको छ। यसको संरक्षण तथा पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानले तीनदिने ठाडोभाका प्रशिक्षण दिएको थियो ।
यही पुुस १७ देखि १९ गतेसम्म दमौलीमा ठाडोभाका प्रशिक्षणले पुराना स्वर, लय र अनुभूतिको विरासत नयाँ पुस्तासँग जोड्दै सांस्कृतिक उत्तराधिकारलाई जीवन्त बनाउने अभियानलाई मूर्त रूप दिन सफल भएको छ । व्यास नगर प्रज्ञा–प्रतिष्ठानको आयोजना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहआयोजनामा सञ्चालित प्रशिक्षणमार्फत ६० जना प्रशिक्षित भएका छन् । उनीहरू ठाडोभाकाको स्वरशैली, लय, शब्दको भाव र प्रस्तुति विधिमा गहिरो अभ्यास गरी आफ्नो सांस्कृतिक पहिचानलाई बुझ्न र बोकेर हिँड्न प्रयासमा जुटेका छन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष विश्वकुमार बुढाले यस प्रशिक्षणले पुरानो भाकालाई नयाँ जीवन दिएको बताए। “हामीले सानैदेखि सुनेको यो भाका हराउँदै गएको थियो, तर यस प्रशिक्षणले यसको गहिराइ बुझ्न पाएँ”, उनले भने, “अब म यो विरासतलाई आफूसँगै नयाँपिँढीलाई प्रेरित गरेको छ र अरूलाई पनि सिकाउनसक्ने आत्मविश्वास पाएको छु ।”
ठाडोभाकाको शुद्धता, भाव र अनुशासनमा दख्खल भएका ठाडोभाका प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु), गायिका सीतादेवी दुरा, अक्कल विरही गुरुङ र अनिता गुरुङको प्रशिक्षणले सहभागीलाई गीतप्रति प्रेरित गरेको छ । गुरुहरूको प्रत्यक्ष मार्गदर्शनमा प्रशिक्षार्थीले पुराना गीत, नयाँ अभ्यास र सामूहिक प्रस्तुतिमार्फत भाकालाई आत्मसात् गरेका छन् ।
ठाडोभाकाको उद्गमथलो लमजुङ हो । यो भाकाका सर्जक तथा गायक अधिकांश लमजुङ, तनहुँ र गोर्खाका छन् । तनहुँ र लमजुङका गाउँबस्तीमा जन्मिएको यो भाकालाई जोगाएर भेडीखर्के साइँलोले पु¥याएको विरासत आज नयाँ पुस्ताको काँधमा हस्तान्तरण भएको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
“यही पुस्तान्तरणकै प्रक्रियाले ठाडोभाकालाई स्मृतिमा सीमित नराखी व्यवहार र प्रस्तुतिमार्फत समाजमा पुनःस्थापित गर्ने उद्देश्यले नै प्रशिक्षण दिने योजना निर्धारण गरिएको हो”, नगर प्रमुख न्यौपानेले भने, “पुस्ता हस्तान्तरण र पुराना कला, संस्कार, संस्कृति संरक्षणका निम्ति व्यास नगर प्रज्ञा–प्रतिष्ठानले सभामा छलफलपछि गरिएको निर्णयले उत्साहित बनाएको छ ।” लोपोन्मुख कला, संस्कृतिको संरक्षणमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ छ ।
यस प्रशिक्षणले ६० सहभागीलाई केवल गायक मात्र होइन । नगरपालिकाले संस्कृति बोकेका संवाहक बनाउने लक्ष्य लिएको छ । यही उत्साह, सीप र प्रतिबद्धताले ठाडोभाका अब समयसँगै हराउने होइन, पुस्तौँ पुस्तासम्म बाँचिरहने जीवन्त सांस्कृतिक धरोहर बन्ने अपेक्षा नगरपालिकाले गरेको छ । रासस










