तनहुँको छाब्दी बाराही मन्दिरमा र्सवसाधारणका लागि पूजा बन्द
भञ्ज्याङ समाचारदाता/दमौली

कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएपछि तनहुँको छाब्दी बाराही मन्दिरमा सोमबारबाट पूजाअर्चना बन्द गरिएको छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले मठ मन्दिर र धार्मिकस्थलमा भिडभाडका गतिविधि नगर्न निर्देशन दिएपछि मन्दिरमा पूजाअर्चना कार्य बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै छाब्दीमा पूजाअर्चना रोकिएको बताएका छन् ।
देशैभर कोरोना जोखिम बढ्न थालेपछि मन्दिरले नियमित निमपुजा बाहेक भक्तजनहरु उपस्थित भइ गरिने पूजाअर्चनाको कार्य अनिश्चितकालका लागि बन्द गरिएको हो । तनहुँ प्रशासनले जोखिम बढ्न थालेको भन्दै भीडभाडयुक्त गतिविधि र सार्वजनिक कार्यक्रम नगर्न र गर्नेपरेको अवस्थामा २५ जनाभन्दा बढी नहुने गरी गर्न र्सार्वजनिक सूचना जारी गरेको छ ।










