रास्वपा व्यासमा विवाद चर्कियो : सदस्यता खारेज गर्न सिफारिससंगै दाहालद्वारा कानुनी प्रतिकारको चेतावनी

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समिति, तनहुँले पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै सदस्य राजु दाहालको सदस्यता खारेज गर्न जिल्ला कार्यसमितिमार्फत पार्टीको अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । नगर समितिको साउन १८ गते बसेको बैठकले व्यास नगरपालिका–३ निवासी सदस्य राजु दाहालले लामो समयदेखि पार्टी गतिविधिमा अनावश्यक हस्तक्षेप, गुटबन्दी तथा पार्टी हितविपरीत गतिविधि गर्दै आएको निष्कर्ष निकाल्दै सदस्यता खारेजीका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

समितिका अनुसार दाहालले यसअघि सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका थिए। त्यसपछि पुनः पार्टीमा फर्कन निवेदन दिएपछि २०८२ माघ १२ गते बसेको बैठकले गुटबन्दी नगर्ने र पार्टीलाई इमान्दारीपूर्वक अघि बढाउने प्रतिबद्धताका आधारमा उनको सदस्यता सक्रिय गरेको थियो ।

तर पछिल्लो समय नगर, जिल्ला तथा प्रदेश अधिवेशनका क्रममा गुटबन्दी गर्ने, पार्टी हितविपरीत भेला आयोजना गर्ने, सार्वजनिक स्थानमा नेतृत्वप्रति कटाक्ष गर्दै कार्यक्रम गर्ने, स्थानीय तहका पद बाँड्दै हिँड्ने तथा छुट्टै समूह गठन गरी रास्वपाको नाममा कार्यकर्ता भेला गराएको आरोप नगर समितिले लगाएको छ ।

समितिले अनुशासनसम्बन्धी अन्तिम निर्णय नआउञ्जेल दाहाललाई पार्टीका कुनै पनि बैठक, भेला तथा गतिविधिमा सहभागी नगराउन सम्बन्धित सबै समिति तथा विभागलाई अनुरोधसमेत गरेको छ ।

यसैबीच, रास्वपाका महाधिवेशन प्रतिनिधि राजु दाहालले नगर समितिको निर्णयप्रति गम्भीर असहमति जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी विज्ञप्तिमा दाहालले तथ्यभन्दा बाहिर गएर आधारहीन आरोप लगाइएको भन्दै उक्त निर्णय लोकतान्त्रिक मूल्य, प्राकृतिक न्याय र संगठनात्मक मर्यादाविपरीत रहेको बताएका छन्। उनले आफूले व्यावसायिक कारणले पार्टीबाट केही समय विश्राम लिँदा तथा पुनः सदस्यता नवीकरणका क्रममा दिएको निवेदन सार्वजनिक गर्न नगर समितिलाई चुनौती दिँदै त्यसको मर्मविपरीत मनगढन्ते आरोप लगाएर कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्।

दाहालले पार्टीका इमान्दार कार्यकर्तामाथि पक्षपातपूर्ण व्यवहार भइरहेको आरोप लगाउँदै निर्वाचनका बेला पार्टी र तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेविरुद्ध अभिव्यक्ति दिने व्यक्तिहरूलाई संरक्षण गरिएको तथा सीमित व्यक्तिको पदलोलुपताका कारण पार्टीभित्र गुटबन्दी मौलाएको टिप्पणी गरेका छन् ।

आफूहरू अन्यायको मौन दर्शक नबन्ने उल्लेख गर्दै उनले सत्य, न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा आवश्यक परे कानुनी तथा लोकतान्त्रिक सबै माध्यमबाट प्रतिकार गर्ने चेतावनी दिएका छन्। साथै, आफ्नो अभियान पार्टीविरुद्ध नभई पार्टीभित्र मौलाएको गलत प्रवृत्तिविरुद्ध रहेको दाबी गर्दै परिवर्तनका पक्षधर कार्यकर्तालाई एकताबद्ध रहन आह्वान गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker