दाउन्ने छिचोल्नै सकस

त्रिवेणी (नवलपरासी) : कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लागेको बताउनुभयो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उहाँ जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो ।

केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्नेबाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठूलो समस्या नभएपनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाउनुभयो ।

पानी परेको समयमा मात्रै नभइ अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ ।

सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरुको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ ।

मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोधजस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ ।

पानी पर्दा सधैँजसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताउनुभयो । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भएपनि अवस्था सहज नभएको उहाँले बताउनुभयो ।

“केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेकेको छ, हामीले सहज बनाउने प्रयास गरिरहेका छौँ, सकभर अहिले यो बाटो भएर यात्रा गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गरिदिनुहोला भन्ने अनुरोध छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker