तनहुँका पालिकाहरुको बेरुजु : १ अर्ब ७२ करोड २७ लाख ४० हजार, कुन पालिकाको कति ?
सबै भन्दा बढी बेरुजु व्यास नगरपालिकाको र कम भिमाद नगरपालिकाको

तनहुँ : तनहुँका पालिकाहरुको बेरुजुको अंक अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको हालसम्मको बेरुजु १ अर्ब ७२ करोड २७ लाख ४० हजार रुपैयाँ देखाएको छ ।
महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार पालिकाहरुमा नियमिविपरित तथा प्रक्रिया पुरा नगरी भुक्तानी गरेको रकमहरु असुल गर्नुपर्ने, प्रमाण कागजात पेस गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेश्की बाँकी लगायतका शिर्षकमा बेरुजु देखाएको छ ।
आँवुखैरेनी गाउँपालिका
महालेखापरीक्षकले आँवुखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बेरुजु १ करोड ८४ लाख ६३ हजार रुपैयाँ देखाएको छ । ९७ करोड ३४ लाख ९४ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा उक्त बेरुजु देखाएको हो । बेरुजु मध्ये असुल गर्नुपर्ने रु १४ लाख ६२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ४७ लाख ४९ हजार, नियमित गर्नुपर्ने रु १ करोड २० लाख ७५ हजार र पेस्की बाँकी रु १ लाख ७५ हजार रहेको छ । गत वर्षसम्म रु १२ करोड २५ लाख ९६ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु १४ करोड ९ लाख २५ हजार रहेको महालेखापरीक्षकले देखाएको छ ।
यस्तै, पालिकाले अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु ८ करोड ४२ लाख, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु १२ लाख १० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १८ लाख ५८ हजार र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको रु १ लाख ४८ हजार गरी रु ८ करोड ७४ लाख १७ हजार प्राप्ती र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदनमा पेश नगरेको महालेखाले औल्याएको छ ।
बन्दीपुर गाउँपालिका
बन्दीपुर गाउँपालिकाको रु १ अर्व ५ करोड १७ लाख २६ हजारको लेखापरीक्षण गरिएकोमा रू ४ करोड ३३ लाख ९ हजार बेरुजू देखिएको छ । यसमा रु २ लाख ४७ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु ४ करोड ३० लाख ६२ हजार मध्ये असुल गर्नुपर्ने रू ९ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ९६ लाख ४९ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड २४ लाख २९ हजार रहेको महालेखापरीक्षकले देखाएको छ । गत वर्षसम्म रु. १६ करोड २७ लाख ६७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु १९ करोड ७३ लाख ५७ हजार रहेक छ ।
यस्तै, पालिकाको आर्थिक कार्यप्रणालीको लेखाङ्कन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा रहेपनि पालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदनमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रू. १० करोड ६२ लाख ५६ हजार, पर्यटन पूर्वाधार कार्यक्रममा रु १७ लाख २८ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा रु २० लाख ८० हजार र मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रममा रु. ६२ लाख ४५ हजार समेत गरी रू ११ करोड ६३ लाख ११ हजार समावेश नगरिएको महालेखापरीक्षकले औल्याएको छ ।
ऋषिङ गाउँपालिका
ऋषिङ गाउँपालिकाको रु. १ अर्ब २६ करोड ८ लाख ६५ हजारको लेखापरीक्षक गरिएकोमा रु २ करोड ४८ लाख ७६ हजार बेरुजु देखिएको छ । यसमा रु २७ लाख ४८ हजारको प्रतिक्रिया उपर कारवाही भई बाँकी बेरुजु रु २ करोड २१ लाख २७ हजार मध्ये असुल गर्नुपर्ने रु ४२ लाख ९९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ७६ लाख ५२ हजार, नियमित गर्नुपर्ने रु १ करोड १ लाख ७५ हजार रहेको छ । गत वर्षसम्म रु १९ करोड १९ लाख ८६ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यवाधिक बेरुजु रु २१ करोड ४१ लाख १३ हजार रहेको महालेखापरीक्षकले औल्याएको छ ।
यस्तै, पालिकामा पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत प्रतिवेदनमा अन्तरसरकारी हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु १३ करोड ४० लाख ४१ हजार, एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमको रु १ करोड ५० लाख ७४ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु २२ लाख ६० हजार समावेश नगरेको प्रतिवेदनमा देखाइएको छ ।
देवघाट गाउँपालिका
देवघाट गाउँपालिकाको रु १ अर्व १० करोड ६३ लाख ७ हजारको लेखापरीक्षण गरिएकोमा रू २ करोड ८९ लाख ६१ हजार बेरुजू देखिएकोमा रु. १ करोड ३९ लाख २५ हजारको प्रतिकृयाबाट फर्छौयट भई प्रतिकृयाबाट थप रु १ करोड १७ लाख ३६ हजार समेत बाँकी बेरुजु रु. २ करोड ६७ लाख ७२ हजार रहेको छ । यस मध्ये असुल गर्नुपर्ने रू १ करोड १९ लाख ८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ७८ लाख ३१ हजार र नियमित गर्नुपर्ने रु. ७० लाख ३३ हजार रहेको छ। पालिकाको गत वर्षसम्म रु. १२ करोड २२ लाख ४४ हजार बेरुजू बाँकी रहेकोमा रु २ करोड ४१ लाख सम्परिक्षण भई हालसम्मको अद्यावधिक बेरुजू रु. १२ करोड ४९ लाख १६ हजार रहेको देखाइएको छ ।
यस्तै, गाउँपालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदनमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रू. ८ करोड ११ लाख ६२ हजार, स्वास्थ्य कार्यक्रमको १० लाख ८० हजार, सामाजिक विकास कार्यक्रमको २४ लाख ९४ हजार, राष्ट्रपति महिला सुधार परियोजनाको रू ८ लाख ४६ हजार, एकीकृत स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रू १ करोड १५ लाख ८३ हजार र प्रशासनिक पूर्वाधार विकास कार्यक्रम ३५ लाख गरी जम्मा रु १० करोड ६ लाख ६५ हजार समावेश नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भिमाद नगरपालिका
भिमाद नगरपालिकाको रु. १ अर्ब ४५ करोड ३५ लाख १७ हजारको लेखापरीक्षण गरिएकोमा रू. ४ करोड १३ लाख ४३ हजार बेरुजु देखिएको छ । यसमा रु. २ लाख ९५ हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु. ४ करोड १० लाख ४८ हजार मध्ये असुल गर्नुपर्ने रू. १ करोड ६६ लाख २५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ३४ लाख ४१ हजार र नियमित गर्नुपर्ने रु. १ करोड ९ लाख ८२ हजार रहेको छ । गत वर्षसम्म रु. १ करोड ६७ लाख ६३ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ४ करोड ७६ लाख ७५ रहेको महालेखापरीक्षकले देखाएको छ ।
यस्तै, नगरपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत प्रतिवेदनमा अन्तरसरकारी हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. १६ करोड ५९ लाख ९२ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. १५ लाख ९५ हजार, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको रु. ५३ लाख १८ हजार, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त अनुदान रु. ४६ लाख १३ हजार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयबाट प्राप्त अनुदान रु. १ लाख ५० हजार र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त अनुदान रु. ४८ लाख २७ हजार समेत रु. १८ करोड २४ लाख ९५ हजार समावेश नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भानु नगरपालिका
भानु पालिकाको रु २ अर्व ३३ करोड ३० लाख ८१ हजारको लेखापरीक्षण गरिएकोमा रू १ करोड १७ लाख ६६ हजार बेरुजू देखिएको छ । यसमा रु १ लाख ५४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु १ करोड १६ लाख १२ हजार रहेकोमा असुल गर्नुपर्ने रू १५ लाख ९५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५७ लाख ७७ हजार, नियमित गर्नुपर्ने रु. ३० लाख ७२ हजार र पेस्की बाँकी रु. ११ लाख ६६ हजार रहेको देखाइएको छ । गत वर्षसम्म रु. १० करोड ३९ लाख ३७ हजार बेरुजू बाँकी रहेकोमा सम्परिक्षणबाट रु ५५ लाख ९२ हजार फछ्र्यौट भइ हालसम्मको अद्यावधिक बेरुजू रु. १० करोड ९९ लाख ५६ हजार रहेको प्रतिवेदनमा देखाइएको छ ।
यस्तै नगरपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत प्रतिवेदनमा अन्तर सरकारी हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. २८ करोड ८८ लाख १४ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ७४ लाख ४० हजार, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको ३ करोड १८ लाख ३७ हजार र गरिबसँग विशेश्वर कार्यक्रमको रु. ५२ लाख ५ हजार समेत रु. ३२ करोड ८६ लाख १६ हजार सुत्रमा समावेश नगरेको महालेखापरीक्षक प्रतिवेदनमा देखाइएको छ । पालिकाले वित्तीय विवरण नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचामा तयार गरेकोमा लेखा टिप्पणीहरु ८,१४,१७, सम्पत्ती तथा राजश्व लगायतका विवरणहरु खुलासा नगरेको देखाइएको छ ।
व्यास नगरपालिका
व्यास पालिकाको रु. ३ अर्व २५ करोड ५४ लाख १२ हजारको लेखापरीक्षण गरिएकोमा रू ६ करोड ८ लाख ९७ हजार बेरुजू देखिएको छ । यसमा रु. ११ लाख ८ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. १७ लाख ८१ हजार। प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ५३ लाख १९ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड ४२ लाख ५३ हजार र पेस्की बाँकी रु. ८४ लाख ३७ हजार रहेको छ। गत वर्षसम्म रु. ४५ करोड ८६ लाख ३० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. ४९ करोड ५३ लाख ४१ हजार रहेको देखाइएको छ ।
यस्तै, नगरपालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकिकृत वार्षिक प्रतिवेदनमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रू. ३० करोड ३६ लाख ५० हजार २७७ र पर्यटन पूर्वाधार विकास आयोजनाको रू. ३ करोड १० लाख ८१ हजार ९६५, गरिवसंग विशेश्वर कार्यक्रम रु. ४ लाख १५ हजार समेत गरी रू. ३३ करोड ५१ लाख ४७ हजार २४२ सुत्रमा समावेश नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पालिकाले वित्तीय विवरण नेपाल सार्वजनिक लेखामानको ढाँचामा तयार गरेकोमा लेखा टिप्पणीहरू ८, १४, १७, सम्पत्ति तथा राजश्व लगायतका विवरणहरू खुलासा नगरेको पनि प्रतिवेदनले औल्याएको छ ।
शुक्लागण्डकी नगरपालिका
शुक्लाण्डकी नगरपालिकाको रु. १ अर्ब ६९ करोड ३३ लाख १९ हजारको लेखापरीक्षण गरिएकोमा रू. ४ करोड ९५ लाख ८७ हजार बेरुजू देखिएको छ । यसमा प्रतिक्रिया प्राप्त नभएकोले कायम भएको बाँकी बेरुजु असुल गर्नुपर्ने रू. १ करोड ४० लाख ४३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू २२ लाख ४३ हजार, नियमित गर्नुपर्ने रु. १ करोड २४ लाख २० हजार र पेश्की रु. २ करोड ८ लाख ८२ हजार रहेको प्रतिवेदानमा उल्लेख गरिएको छ ।
यस्तै, गत वर्षसम्म रु. १६ करोड ५५ लाख ९५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. २० करोड २७ लाख २६ हजार रहेको छ । पालिकाले वित्तीय विवरण नेपाल सार्वजनिक लेखामानको ढाँचामा तयार गरेकोमा लेखा टिप्पणीहरू ८, १४, १७, सम्पत्ति तथा राजस्व लगायतका विवरणहरू खुलासा नगरेको प्रतिवेदनले औल्याएको छ ।
म्याग्दे गाउँपालिका
म्याग्दे गाउँपालिकाको रु. १ अर्व २० करोड ९६ लाख ४५ हजार लेखापरीक्षण गरिएकोमा रू. १ करोड ७८ लाख २४ हजार बेरुजू देखिएको छ । यसमा रु १० लाख ३६ हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु. १ करोड ६७ लाख ८८ हजार मध्ये असुल गर्नुपर्ने रू १२ लाख ९९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड २८ लाख ७१ हजार, नियमित गर्नुपर्ने रु. २६ लाख १७ हजार रहेको देखाइएको छ ।
यस्तै, गत वर्षसम्म रु. ४ करोड ९९ लाख २७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. ६ करोड ६७ लाख १५ हजार रहेको छ । गाउँपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत प्रतिवेदनमा अन्तरसरकारी हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. १२ करोड ७६ लाख २८ हजार, गरिबसँग विशेश्वर कार्यक्रम रु. ४ लाख १५ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम ३० लाख ८० हजार र एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम रु. ९९ लाख ७० हजार समावेश नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
घिरिङ गाउँपालिका
घिरिङ गाउँपालिकाको रु. ९२ करोड ५६ लाख ७३ हजारको लेखापरीक्षण गरिएकोमा रू. २ करोड ८६ लाख १० हजार बेरुजू देखिएको छ । यसमा रु. ९९ लाख ३२ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. १ लाख २८ हजार प्रमाण कागजात पेस गर्नुपर्ने रु. ८१ लाख १ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ४ लाख ४८ हजार रहेको छ । यस्तै, गत वर्षसम्म रु. १२ करोड १० लाख ८७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. १२ करोड ३० लाख १६ हजार रहेको प्रतिवेदनमा देखाइएको छ ।
गाउँपालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकिकृत वार्षिक प्रतिवेदनमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रू ९ करोड ५७ लाख ५० हजार र जिल्ला समन्वय समितिबाट प्राप्त रु २१ लाख सूत्रमा समावेश नगरी खर्च गरेको प्रतिवेदनमा औल्याइएको छ ।










