आँवुखैरेनी गाउँपालिकाद्वारा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
गाउँपालिकामा विहीबार आयोजित कार्यक्रममा रामशाह माध्यमिक विद्यालय का ४० जना, मित्रता माध्यमिक विद्यालयका ३० जना तथा अन्य स्थानमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्रति विद्यार्थी दश हजार रुपैयाँका दरले सात लाख ५० हजार रुपैयाँ छात्रवृत्ति बापतको रकम वितरण गरेको छ।
शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने, ‘आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नीति गाउँपालिकाले बनाएको छ ।’
यस प्रकारको छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा टेवा पुग्ने, अध्ययनप्रति थप प्रेरणा मिल्ने तथा गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









