भानु नगरपालिकाका विद्यालयलाई विविध सिकाइ सामग्री वितरण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण सुरु गरेको छ । नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई विभिन्न बाल सिकाई सामग्री, व्यवस्थापकीय एवं स्वास्थ्य र सरसफाईसँग सम्बन्धित सामग्री वितरण कार्य सुरु गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारबाट सशर्त कार्यक्रमको रुपमा प्राप्त बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत किशोरीका लागि लक्षित गरी बालबालिका केन्द्रित सिकाई सामग्री वितरण गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।
बाल विकास केन्द्रका लागि दश प्रकारका सिकाइ चार्ट, बाह्रखरी मोडल सामग्री, स्टील दराज वितरण गरिएको उनले बताए । दिवा खाजाका लागि भान्सा व्यवस्थापन सामग्री अन्तर्गत खाना पकाउने र खाने भाडाकुडा वितरण गरिएको शिक्षा अधिकारी पौडेलले बताए ।
नगरका सबै माध्यमिक विद्यालय र आधारभूत विद्यालयका लागि माग र आवश्यकताका आधारमा पानी शुद्धिकरणका लागि युरोगार्ड, सबै प्राथमिक विद्यालयका लागि क्रुज फिल्टर वितरण गरिएको छ । उक्त सामग्रीहरु नगरपालिकाले नै विद्यालयसम्म ढुवानी गर्नेछ ।

त्यसैगरी इलेक्ट्रोनिक डिस्पोजल मेशिन युरोगार्ड तथा फिल्टर विद्यालयमा गई प्राविधिकहरु मार्फत जडान गरिने र यसका विद्यालयका लागि कुनै प्रकारको शुल्क नलाग्ने उनले बताए ।
आगामी दिनमा भानुका बालविकास केन्द्रहरु थप स्रोतपूर्ण, आकर्षक, बालमैत्री र सिकाइमैत्री भई बालबालिकाको आकर्षण हाम्रा सामुदायिक विद्यालय प्रति बढ्नेछ र यसका माध्यमबाट जगदेखि नै अनुकूल वातावरण निर्माण भई शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।










