गुरु पूर्णिमा, महर्षि वेदव्यास र दमौली
देव बस्न्यात

पुरुषोत्तम मासका कारण २०८३ सालमा सामान्यतया असार शुक्ल पूर्णिमामा पर्ने गुरु पूर्णिमा साउन १६ गते मनाइँदै छ । गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ। वैदिक तथा गुरुकुल परम्परामा यो दिनको विशेष महत्त्व छ। वर्षभरिका अन्य पूर्णिमाभन्दा यस पूर्णिमालाई ज्ञान, श्रद्धा र कृतज्ञताको महान् पर्वका रूपमा लिइन्छ । शिष्यका लागि यो आत्मिक उज्यालो प्राप्त गर्ने दिव्य अवसर हो ।
परम्पराअनुसार यस दिन महर्षि वेदव्यासको प्राकट्य भएको विश्वास गरिन्छ। त्यसैले यसलाई व्यास अवतरण दिवसका रूपमा पनि मनाइन्छ। गुरुले मानव जीवनलाई अज्ञानको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ डोर्याउने भएकाले गुरु पूर्णिमा ज्ञान र स्नेहको प्रतीक बनेको छ । गुरुले आज्ञाचक्र जागृत गराउँदै आत्मालाई परमात्मासँग जोड्ने मार्ग देखाउनुहुन्छ । जीवनका जिज्ञासा समाधान गर्ने, सही बाटो पहिल्याउने र मोक्षतर्फ अग्रसर गराउने माध्यम पनि गुरु नै हुनुहुन्छ ।
हाम्रो संस्कृतिमा पहिलो गुरु माता–पिता मानिन्छन् । उनीहरूबाट प्राप्त संस्कारले नै जीवनको आधार तयार गर्छ । गुरुबिनाको जीवन अधुरो हुन्छ भन्ने विश्वास रहिआएको छ । गुरुको आशीर्वाद र मार्गदर्शनविना साधना, जप वा कर्मले पूर्ण फल नदिने धार्मिक मान्यता पनि छ । भवसागर पार गर्न डुङ्गा मात्र पर्याप्त हुँदैन, त्यसलाई किनारासम्म पुर्याउने कुशल मार्गदर्शक आवश्यक पर्छ । त्यसैगरी जीवनका कठिन परिस्थितिमा गुरुको कृपा र निर्देशनले नै सही गन्तव्यमा पुर्याउने विश्वास गरिन्छ ।
वेदको मूल उद्देश्य ज्ञानको प्राप्ति हो, र ज्ञानलाई मुक्तिको सर्वोत्तम मार्ग मानिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ त्यस अन्धकारलाई हटाउने शक्ति भन्ने व्याख्या गरिन्छ । महर्षि वेदव्यासले आफैं ज्ञान आर्जन गर्नुका साथै समाजमा ज्ञानको प्रकाश फैलाउने महान् कार्य गर्नुभयो । उहाँले एउटै वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित बनाउनुभएको थियो। ‘व्यसति वेदान् इति व्यासः’ अर्थात् वेदलाई विस्तार गर्ने भएकाले उहाँ ‘व्यास’ र विभाजन गर्ने भएकाले ‘वेदव्यास’ कहलिनुभयो। इतिहास, पुराण र दर्शनका माध्यमबाट वैदिक ज्ञानलाई सरल र सर्वसुलभ बनाउने श्रेय पनि उहाँलाई नै जान्छ ।
गुरु पूर्णिमा वर्षा ऋतुको प्रारम्भमा पर्ने भएकाले प्राचीनकालमा यस दिनदेखि चार महिनासम्म गुरु र शिष्य एउटै स्थानमा बसेर अध्ययन गर्ने चलन थियो । महर्षि वेदव्यासले आफ्ना शिष्य पैल, शुकदेव, जैमिनी, रोमहर्षण लगायतलाई वेद, पुराण, ब्रह्मसूत्र, महाभारत र अन्य ग्रन्थको ज्ञान प्रदान गरेको दिनका रूपमा पनि असार शुक्ल पूर्णिमालाई स्मरण गरिन्छ। यही परम्पराबाट गुरु पूजन र गुरु पूर्णिमाको महत्त्व विस्तार हुँदै आएको मानिन्छ ।
पूर्णिमाको चन्द्रमाले जसरी सबैलाई समान रूपमा शीतलता दिन्छ, त्यसैगरी गुरुले पनि ज्ञानको उज्यालो सबै शिष्यमा समान रूपमा फैलाउनुहुन्छ भन्ने विश्वास छ । यही दिन भगवान गौतम बुद्धले सारनाथमा आफ्नो पहिलो धर्मदेशना दिनुभएको उल्लेख पाइन्छ। शिख धर्ममा पनि गुरु परम्परालाई अत्यन्त उच्च स्थान दिइएको छ । वैदिक सनातन परम्पराका महान् दार्शनिक, साहित्यकार र गुरु महर्षि वेदव्यासलाई ‘गुरुका पनि गुरु’ अर्थात् जगद्गुरुका रूपमा सम्मान गरिन्छ ।
‘गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।’
श्रीकृष्ण द्वैपायन वेदव्यासको जन्मभूमिका रूपमा दमौलीलाई विशेष महत्त्वका साथ हेरिन्छ । उहाँ महर्षि वशिष्ठका पनाति, शक्तिका नाति तथा पराशर र सत्यवतीका सुपुत्र हुनुहुन्थ्यो । त्यसैले गुरु पूर्णिमा र व्यास अवतरण दिवस दमौलीका लागि धार्मिक तथा सांस्कृतिक दृष्टिले अझ विशेष अवसर बनेको छ । तनहुँको जेठो नगरपालिका पनि व्यास नगरपालिकाकै नामबाट परिचित छ र यसले विगतमा सार्वजनिक बिदासहित व्यास अवतरण दिवस मनाउँदै आएको छ ।
व्यासको विशाल मूर्ति निर्माणको अभियानले पनि स्थानीयवासीमा आशा जगाएको छ । यद्यपि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसक्दा केही निराशा देखिएको छ । आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्द्धनसँग जोडेर व्यास क्षेत्रको समग्र विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । ध्यानाचार्य गुरु खेमराजले ११.३३ फिट अग्लो मूर्ति स्थापना गर्ने तथा आगामी वर्षहरूमा १३३.३३ फिटको मूर्ति निर्माण गर्ने संकल्प सार्वजनिक गर्नुभएको छ । सत्यवती कुण्ड आसपास निर्माणाधीन १०८ फिट अग्लो व्यास मूर्तिको संरचनात्मक काम पनि चरणबद्ध रूपमा अघि बढिरहेको छ। तत्काल तामाको मूर्ति निर्माण सम्भव नभए बाँस वा बेतजस्ता स्थानीय सामग्री प्रयोग गरेर प्रतीकात्मक रूपमा मूर्ति निर्माण गर्न सकिने सुझावसमेत आएको छ ।
विगतमा दमौलीका साधक–साधिकाहरू गुरु पूर्णिमा मनाउन काठमाडौंस्थित गुरुधाम जाने गर्थे । तर गुरु साधक सत्यम् सनदकुमार अधिकारीको निर्देशनपछि स्थानीय रूपमा नै व्यासभूमि दमौलीमा गुरु पूर्णिमा मनाउने परम्परा सुरु भयो । यस अभियानलाई व्यास ज्योति साधक परिवारले निरन्तरता दिँदै आएको छ । व्यास क्षेत्र विकास कोष, व्यास नगरपालिका, व्यास–पराशर एकीकृत समन्वय समिति तथा विभिन्न धार्मिक संघसंस्थाको सहभागिताले यो पर्व थप भव्य बन्दै गएको छ ।
महर्षि वेदव्यासको जन्मतिथिका विषयमा भने विभिन्न मत पाइन्छन् । केहीले वैशाख पूर्णिमा, केहीले असार पूर्णिमा र केही विद्वानले माघे संक्रान्तिलाई जन्मदिन मान्ने गरेका छन् । योगी नरहरिनाथले माघे संक्रान्तिलाई व्यास जन्मदिनका रूपमा स्वीकार गर्नुभएको उल्लेख पाइन्छ । तथापि असार शुक्ल पूर्णिमालाई गुरुले ज्ञान प्रदान गर्ने शुभ मुहूर्त र ज्ञानार्जनको महापर्वका रूपमा लिनु बढी उपयुक्त देखिन्छ ।
मादी र सेती नदीको संगम नजिक अवस्थित व्यास गुफा ध्यानखण्ड, ज्ञानखण्ड र सभाखण्ड गरी तीन भागमा विभाजित छ । तर सभाखण्ड र त्यसको ऐतिहासिक महत्त्व अझै पर्याप्त रूपमा उजागर हुन सकेको छैन । विश्वका गुरुका गुरु मानिने महर्षि वेदव्याससँग सम्बन्धित यस स्थलमा गुरु आसन र गुरु पादुकाको अभाव खड्किने विषय बनेको छ । गुफाको मौलिक स्वरूप संरक्षण, पश्चिम मोहोडाको पुनर्संरचना तथा श्रद्धालुले नतमस्तक हुन सक्ने व्यवस्था गरिनु आवश्यक देखिन्छ ।
संघीय शासन व्यवस्थापछि स्थानीय सरकारहरूलाई आफ्नो क्षेत्रको ऐतिहासिक र सांस्कृतिक सम्पदा संरक्षण गर्ने अधिकार र जिम्मेवारी दुवै प्राप्त भएको छ । व्यास नगरपालिकाले व्यास गुफाको मौलिकता संरक्षण, गुरु आसन र पादुका स्थापना, योगाश्रम, पुस्तकालय, प्रवचन गृह, पार्क तथा आश्रम निर्माणजस्ता योजनालाई प्राथमिकताका साथ अघि बढाउन सके यस क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।
गुरु पूर्णिमा केवल धार्मिक अनुष्ठान मात्र होइन, ज्ञान, संस्कार, कृतज्ञता र सभ्यताको निरन्तरताको पर्व हो । महर्षि वेदव्यासको जन्मभूमि दमौलीले यस अवसरलाई सांस्कृतिक गौरवसँग जोड्दै गुरु परम्पराको संरक्षण र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्न सके सम्पूर्ण राष्ट्रकै गौरव बढ्नेछ । व्यासको कृपाले व्यास क्षेत्रको गुरु योजना सफल होस् र यहाँ मूर्ति, पार्क, योग केन्द्र, पुस्तकालय, प्रवचन गृह तथा बटुवाका लागि आश्रम निर्माणजस्ता कार्यले मूर्त रूप पाओस् भन्ने शुभेच्छासहित सबैमा गुरु पूर्णिमाको मंगलमय शुभकामना ।










