समुहमा आवद्ध भई आयआर्जनतर्फ अग्रसर हुँदै भिमादका महिला

भञ्ज्याङन्यूज

तनहुँको भिमाद नगरपालिका-६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरू आत्मनिर्भर बन्न आयआर्जनतर्फअग्रसर भएका हुन्।

महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उहाँहरूले आर्थिक आम्दानी गर्न सक्नुहुनेछ ।’

भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनले बताइन् । कोषमार्फ उद्योगका लागि चार लाख रुपैयाँ सहयोग भएको छ भने लागत साझेदारीमा तीन लाख ८५ हजार रुपैयाँ बेहोरिएको सचिव सुवेदीले बताइन । उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही २३ हजार रुपैयाँका दरले संकलन गरिएको छ ।

उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी गराइन । उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ ।

सुवेदीका अनुसार सुरुआती चरणमा एक किलो सर्फलाई तीन सय ५० रुपैयाँ, पाँच सय ग्रामलाई एक सय ७० रुपैयाँ र सात सय ग्रामलाई दुइ सय ७० रुपैयाँमा बिक्री सुरु गरिएको छ । ‘घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौं भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो’, उनले भनिन्, ‘त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ ।’

विसं २०५३ मा गठन गरिएको आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ ।

नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताए। उनले भनिने, ‘हरेक महिलाहरू आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं । उद्यमी बन्न कोषबाट सहयोग गर्र्छौं ।’

महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नाका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले बताए। भिमाद नगरपालिकाको समृद्धिका लागि महिलाहरू उद्यमशील हुनुपर्छ र उद्यमी बन्नेलाई अनुदान सहयोग गरे नगरपालिका तयार रहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker