तनहुँका तीन वन समूह तथा वनधनी राष्ट्रिय पुरस्कारबाट सम्मानित

तनहुँ : डिभिजन वन कार्यालय, तनहुँ अन्तर्गतका तीन वन समूह तथा एक निजी वनधनीले विभिन्न विधाका राष्ट्रिय वन पुरस्कार प्राप्त गरेका छन् । वन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उनीहरूलाई राष्ट्रियस्तरका विभिन्न पुरस्कार प्रदान गरिएको हो ।
निजी वनतर्फ बन्दीपुर गाउँपालिका–१ का निजी वनधनी मानकाजी श्रेष्ठले निजी वन राष्ट्रिय पुरस्कार–प्रथम प्राप्त गरेका छन् । त्यस्तै, म्याग्दे गाउँपालिका–२ स्थित डुनडाँडा कबुलियती वनले कबुलियती वन राष्ट्रिय पुरस्कार–तृतीय प्राप्त गरेको छ ।
यसैगरी, म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–सान्त्वना प्राप्त गरेको छ ।
तनहुँका वन समूह तथा निजी वनधनीले राष्ट्रियस्तरका पुरस्कार प्राप्त गर्नु जिल्लाको वन संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको डिभिजन वन कार्यालय, तनहुँले जनाएको छ । पुरस्कारले स्थानीयस्तरमा वन संरक्षण, दिगो व्यवस्थापन तथा वनजन्य स्रोतको सदुपयोगमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
यसै अवसरमा डिभिजन वन कार्यालय, तनहुँलाई समेत सम्मानपत्र प्रदान गरिएको छ । वन संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा कार्यालयले पुर्याएको योगदानको कदरस्वरूप वन तथा भू–संरक्षण विभागले सम्मानपत्र प्रदान गरेको हो ।
राष्ट्रिय पुरस्कारबाट सम्मानित मानकाजी श्रेष्ठ, डुनडाँडा कबुलियती वन र उमाचोक सामुदायिक वनसहित डिभिजन वन कार्यालय, तनहुँ परिवारलाई वन तथा वातावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानका लागि डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।










