सम्पादकीय : धान दिवसको सार्थकता – नाराभन्दा नतिजा आवश्यक

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । रोपाइँको उत्साह, खेतमा किसानको रमाइलो, दही–चिउरा खाने परम्परा र कृषि उत्पादन बढाउने प्रतिबद्धताबीच यो दिवसले नेपाली कृषि संस्कृतिको प्रतिनिधित्व गर्छ । यस वर्ष पनि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्ने र खाद्य सुरक्षालाई सुदृढ बनाउने सरकारको उद्देश्य स्वागतयोग्य छ। तर प्रत्येक वर्ष दोहोरिने यस्ता नाराले मात्रै धानमा आत्मनिर्भरता हासिल गर्न सकिँदैन। यसको लागि नीतिगत स्पष्टता, प्रभावकारी कार्यान्वयन र किसानमैत्री वातावरण अपरिहार्य छ ।

 

नेपाल कृषि प्रधान देश हो । अझै पनि ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ । धान नेपालीको प्रमुख खाद्यान्न बाली हो । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा यसको उल्लेखनीय योगदान छ । पछिल्ला वर्षहरूमा उत्पादन र उत्पादकत्व केही बढेको देखिए पनि देशको आवश्यकता पूरा गर्न अझै सकिएको छैन । वार्षिक करिब १० लाख मेट्रिक टन धान अपुग भइरहेका कारण नेपालले वर्षेनी अर्बौँ रुपैयाँ बराबरको चामल आयात गर्नुपरेको अवस्था छ । एक समय चामल निर्यात गर्ने मुलुक आज आफ्नै आवश्यकता पूरा गर्न आयातमा निर्भर हुनु विडम्बनापूर्ण यथार्थ हो ।

धान उत्पादनमा कमी आउनुका पछाडि धेरै कारण छन् । खेतीयोग्य जमिन दिनप्रतिदिन बाँझिँदै गएको छ । वैदेशिक रोजगारीका कारण गाउँमा कृषि गर्ने जनशक्ति घट्दै गएको छ । समयमा मल र उन्नत बीउ उपलब्ध नहुनु, सिँचाइको अभाव, कृषि औजारको सीमित प्रयोग, बजारको अनिश्चितता तथा उत्पादनको उचित मूल्य नपाउनु किसानका स्थायी समस्या बनेका छन् । जलवायु परिवर्तनका कारण सुक्खा, बाढी र डुबानजस्ता प्राकृतिक विपद्ले खेतीलाई थप जोखिमपूर्ण बनाएको छ । यस्ता चुनौतीका बीच किसानले उत्पादन बढाउने अपेक्षा गर्नु मात्र पर्याप्त हुँदैन, उनीहरूलाई आवश्यक साधन, स्रोत र सुरक्षा पनि उपलब्ध गराउनुपर्छ । भूमि व्यवस्थापनको समस्या पनि उत्तिकै गम्भीर छ । कृषि योग्य जमिनमा तीव्र रूपमा प्लटिङ भइरहेको छ भने खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति बढेको छ । भूमिहीन किसानसँग खेती गर्ने जमिन छैन भने खेती नगर्ने व्यक्तिसँग प्रशस्त जमिन छ । यस्तो अवस्थाले खाद्य सुरक्षामाथि दीर्घकालीन चुनौती सिर्जना गरेको छ । कृषियोग्य जमिनको संरक्षण र उत्पादनमुखी उपयोगका लागि प्रभावकारी नीति लागू गर्नु आजको आवश्यकता हो ।

सरकारले प्रत्येक वर्ष कृषि आधुनिकीकरण, आत्मनिर्भरता र किसानको आय वृद्धि गर्ने प्रतिबद्धता दोहोर्याउने गरेको छ । तर ती घोषणा व्यवहारमा अपेक्षित रूपमा कार्यान्वयन हुन सकेका छैनन् । वर्षौंदेखि रासायनिक मल कारखाना स्थापना गर्ने चर्चा भए पनि त्यसले मूर्त रूप लिन सकेको छैन । कृषि अनुसन्धानबाट विकसित उन्नत जातका बीउविजन किसानसम्म पर्याप्त रूपमा पुग्न सकेका छैनन् । किसानले उत्पादन बढाए पनि बजार र मूल्यको सुनिश्चितता नहुँदा कृषि पेसाप्रतिको आकर्षण घट्दै गएको छ । कृषि क्षेत्रमा अब परम्परागत सोचले मात्र पुग्दैन ।

 

जलवायु परिवर्तनलाई ध्यानमा राखेर सुक्खा र डुबान सहन सक्ने धानका जातको विस्तार, आधुनिक सिँचाइ प्रणाली, यान्त्रिकीकरण, कृषि बीमा, सहुलियतपूर्ण ऋण, उत्पादनको सुनिश्चित बजार तथा मूल्य समर्थनजस्ता कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्छ । अनुसन्धान, उत्पादन र बजारीकरणबीच बलियो समन्वय हुन सके मात्रै कृषि क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्छ। धान दिवसलाई केवल औपचारिक कार्यक्रम, रोपाइँ उत्सव वा सांस्कृतिक पर्वमा सीमित गर्नु हुँदैन । यसलाई कृषि सुधारको आत्मसमीक्षा गर्ने अवसरका रूपमा पनि लिन आवश्यक छ । सरकार, स्थानीय तह, कृषि अनुसन्धान संस्था, निजी क्षेत्र र किसानबीच सहकार्य बलियो बनाउँदै उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके मात्रै यस दिवसको वास्तविक उद्देश्य पूरा हुनेछ ।

नेपालमा कृषि विकासको आधार किसान हुन् । किसानको श्रम, उत्पादन र योगदानको सम्मान नाराले होइन, व्यवहारले हुनुपर्छ । समयमै मल, गुणस्तरीय बीउ, सिँचाइ, प्रविधि, बजार र उचित मूल्य सुनिश्चित गर्न सकियो भने धान उत्पादन वृद्धि असम्भव छैन । युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने, कृषि व्यवसायलाई सम्मानित र लाभदायक बनाउने तथा कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने दीर्घकालीन रणनीति आवश्यक छ । धान दिवसको वास्तविक सार्थकता खेतमा रोपिएको धानको बोटसँगै किसानको आशा पनि हराभरा बनाउनुमा छ। त्यसका लागि उत्सवभन्दा बढी परिणाममा केन्द्रित हुनुपर्छ । नाराभन्दा कार्यान्वयनलाई प्राथमिकता दिन सकियो भने नेपालले फेरि खाद्यान्नमा आत्मनिर्भरताको यात्रालाई गति दिन सक्छ । अन्यथा, हरेक वर्ष धान दिवस मनाउने, प्रतिबद्धता दोहोर्याउने र चामल आयात बढाउँदै जाने विडम्बना दोहोरिरहनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker