राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्छ

दमौली : राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा व्यास नगरपालिका–३ पञ्चमन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा विविध कार्यक्रमको गरिएको छ । ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए । उनले नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले ज्येष्ठ नागरिकको हेरचाह र संरक्षण केवल परिवारको मात्र नभई राज्य र समाजको समेत साझा दायित्व भएको बताइन्। उनले ज्येष्ठ नागरिकमैत्री नीति, सेवा र सुविधाको विस्तारका लागि स्थानीय तहले निरन्तर पहल गरिरहेको जानकारी दिइन् ।

वडा अध्यक्ष काशीराम श्रेष्ठले वडास्तरमै ज्येष्ठ नागरिकका समस्या, आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर काम गरिने बताउँदै दिवाकालीन ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकलाई आपसमा भेटघाट, मनोरञ्जन तथा सामाजिक सक्रियतामा जोड्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।


ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष अनुप राना, समितिका सचिव रेवत बहादुर कुवरलगायत वक्ताहरूले ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता, पहुँचयुक्त सेवा तथा सम्मानजनक जीवनयापनका विषयमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले पनि आफ्ना अनुभव, समस्या र सुझाव प्रस्तुत गर्दै सेवा–सुविधाको दायरा अझ विस्तार गर्न माग गरेका थिए ।

उक्त अवसरमा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै निःशुल्क स्वास्थ्य जाँच कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । स्वास्थ्य जाँचले ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षणमा सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत राधा आचार्यले गरेकी थिइन् । उनले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै ज्येष्ठ नागरिकमैत्री समाज निर्माणका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको बताइन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र सरोकार बढाउन सकारात्मक सन्देश दिएको ज्येष्ठनागरिक मिलन केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्रीले बताए । यसै अवसरमा व्यास नगरपालिकाले पालिकाभित्रका विभिन्न स्थानमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker