धादिङ बस दुर्घटना : आफ्नै बसमा अस्ताए ओमकुमार, ढकाल दम्पत्तिले पनि ज्यान गुमाए

तनहुँ : पोखराबाट काठमाडौँका लागि छुटेको बस धादिङमा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । पोखराबाट आइतबार साँझ ७ः०० बजे छुटेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
दुई जना विदेशी पर्यटकसहित ४४ जना यात्रु सवार उक्त बस दुर्घटना हुँदा मृत्यु हुनेमा तनहुँका ५ जना रहेका छन् । बस दुर्घटनामा परेका १९ जनाकै पहिचान खुलेको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा परी स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय बेलायती नागरिक, जिल्ला कास्की, पोखरा महानगरपालिका–३० बस्ने वर्ष अन्दाजी ४० वर्षीय विवेक बस्तोला, जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, जिल्ला तनहुँ, व्यास नगरपालिका–४ बस्ने अन्दाजी ४० वर्षीय ओमकुमार मल्ल, जिल्ला धादिङ, साबिक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ठकुरी, जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी ५५ वर्षीय विष्णुमाया ढकाल, जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका–६, बौद्ध टुसाल बस्ने अन्दाजी ४२ वर्षीय लोप्साङ गोले, जिल्ला तनहुँ, भिमाद नगरपालिका–६ बस्ने अन्दाजी ४६ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।
यस्तै, जिल्ला पाल्पा, तानसेन नगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय नवीन्द्र श्रेष्ठ, जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका–७ बस्ने ६३ वर्षीय रुद्रप्रसाद ढकाल, जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका–२ बस्ने २० वर्षीया अर्चना पौडेल, जिल्ला कास्की, पोखरा महानगरपालिका–१४, चाउथे बस्ने २१ वर्षीया अञ्जली क्षेत्री, जिल्ला कास्की, माछापुच्छ्रे गाउँपालिका–३ बस्ने २१ वर्षीय रोहित नेपाली, जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका–६ बस्ने ४५ वर्षीय धनश्याम सुवेदी, काठमाण्डौं महानगरपालिका–३२ बुद्धनगर बस्ने ३३ वर्षीया अनिशा महर्जन, जिल्ला मोरङ, उर्लाबारी–१ स्थायी ठेगाना भएकी २७ वर्षीया हीरा चौधरी, जिल्ला कास्की, पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीय सुजित नेपाली, भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका ३२ वर्षीय मनिष शुक्ला, पुरुष (भारतिय नागरिक), चाङ चुङचङ, ४० वर्षीया चिनिँया नागरिकको मृत्यु भएको बताइएको छ ।
साउदीबाट फर्किएर बस किनेका मल्ल आफ्नै बसमा अस्ताए
तनहुँको व्यास नगरपालिका–५ का ४० वर्षीय ओमबहादुर मल्ल सात वर्ष साउदी अरबमा पसिना बगाएर पाँच वर्षअघि स्वदेश फर्किएका थिए। परदेशको कमाइले उनले पोखरा–काठमाडौं चल्ने डिलक्स बस किनेका थिए । त्यो बस केवल व्यवसाय थिएन, परिवारको भविष्यको सपना बनाएका थिए ।
तर सोमबार बिहान करिब साढे एक बजे त्यो सपना त्रासदीमा बदलियो । ग२ख १४२१ नम्बरको आफ्नै बसमा श्रीमती सुकमायासँग काठमाडौं जाँदै गरेका मल्लको बस बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौंडास्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खस्यो। आफ्नै पसिनाले किनेको बसमै उनले ज्यान गुमाए ।
उनकी श्रीमतीको करङ र हात भाँच्चिएको छ । टाउकोमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अवस्था मध्यम छ । बसका चालक सुजित नेपालीको पनि दुर्घटनामा निधन भएको छ भने सहयोगी प्रतीक पौडेल घाइते छन् ।
व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार मल्लका एक छोरा र एक छोरी छन् । नेवारी परम्पराअनुसार छोरीको गुफा रहेको एक साता भएको थियो । १२ दिनमा गुफा निकाल्नुपर्ने र त्यतिबेला कपडा लगायतका सामान किन्ने भन्दै मल्ल दम्पत्ति काठमाडौं जाँदै थिए। ‘हामी एउटै गुठी भित्रका सदस्य हौं । बिहानै दुर्घटनाको खबर पाएपछि घर पुगेको थिएँ’, उनले भने, ‘अरु बेला ड्राइभर र कन्डक्टरकै भरमा बस छोड्ने हो। अहिले सामान किन्न भनेर काठमाडौं जाँदै रहेछन्।’ १२ दिन नपुगी छोरीलाई गुफाबाट निकाल्न नमिल्ने उनले सुनाए । छोरीको १७ फागुनमा गुफा निकाल्ने तयारी थियो । उनका अनुसार ती छोरीका एक जना दाइ भारतमा छन् भने अर्को दाइको सवारी दुर्घटनामा खुट्टा भाँचिएको थियो । सोमबार मल्लको शव तनहुँ ल्याइसकिएको छ ।
दुर्घटनामा ज्यान गुमाए ढकाल दम्पत्तिले
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौंदीनजिक भैंसेडाँडा भन्ने स्थानमा १९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–७ मालेबगरका रुद्रप्रसाद ढकाल र विष्णुमाया ढकाल दम्पत्तिको निधन भएको छ। रुद्रप्रसाद र विष्णुमाया काठमाडौं बुहारीकहाँ गएको बताइएको छ। सोमबार दुवै जनाको शव ल्याएर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ। दुवै छोरा विदेश रहेकाले उनीहरु आएपछि अन्त्येष्टि गरिने आफन्त दीपक पौडेलले जानकारी दिएका छन् ।
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार
यस्तै, उक्त दुर्घटनाग्रस्त बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो। भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए। पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।
‘मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन। धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटर सहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ ।’
छानबिन गर्न कार्यदल गठन
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ। उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










