३२ जना युवाहरूलाई तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम

तनहुँ। आदिकवि भानुभक्त क्याम्पसले ‘गुरुङ भाषा, साहित्य, कला तथा संस्कृति वर्ष–२०२६’ अन्तर्गत सञ्चालन गरेको सातौँ तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

शुक्रबार तालिम समापन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले आदिकवि भानुभक्त क्याम्पसले आदिवासी जनजातिको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा उदाहरणीय काम गरेको उल्लेख गर्दै यस क्षेत्रमा अनुसन्धानमूलक कार्यक्रम अघि बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम क्याम्पसको आदिवासी जनजाति भाषा एवं संस्कृति संवर्द्धन तथा विकास समितिका संयोजक तथा क्याम्पस सञ्चालक समितिका सदस्य ठाकुरबहादुर दरैको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन तमु संस्कृति तथा ग्रामीण पर्यटनविद् एवं तालिमका प्रशिक्षक हरिसिंह गुरुङले गर्नुभएको थियो।

समापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, व्यास नगर शिक्षा शाखाका प्रमुख केदार आचार्य, क्याम्पस सञ्चालक समितिका सदस्य क्या. सोमबहादुर थापा, प्ये ल्हु संघका केन्द्रीय उपमहासचिव अर्जुन गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सनम तामाङ, तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिवालय सदस्य रगबहादुर गुरुङ, तमु ह्यूल छोंज धीं गण्डकी प्रदेशका कोषाध्यक्ष गल गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपालका केन्द्रीय सदस्य टार्जन गुरुङ तथा प्रशिक्षक बालकाशी गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।

 
उक्त अवसरमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्यमा मनोनित बालकाशी गुरुङ र शान्त बास्तोलालाई व्यासनगर तमु सुधार समाजले सम्मान गरेको थियो। प्रशिक्षार्थी सुस्मिता गुरुङ र रोहन गुरुङले सहभागीका तर्फबाट तालिमको अनुभव सुनाउनुभएको थियो।

गत असार २० गतेदेखि सञ्चालन भएको तालिममा देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाका स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका ३२ जना युवा गुरुङ प्रशिक्षार्थी सहभागी थिए। सहभागीमध्ये १० जना आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेका थिए।

तालिममा भाषा तथा लिपिका विज्ञ भीमप्रसाद गुरुङ, हरिसिंह गुरुङ, बालकाशी गुरुङ र खिमा गुरुङले प्रशिक्षण दिनुभएको थियो। तालिम निःशुल्क सञ्चालन गरिएको थियो भने सम्पूर्ण खर्च आदिकवि भानुभक्त क्याम्पसले व्यहोरेको जनाएको छ।

सहभागीहरूले तालिमले तमु भाषा, लिपि र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक ज्ञान, सीप र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको तथा समुदायलाई भाषा र संस्कृतिको क्षेत्रमा संगठित भएर काम गर्न प्रेरित गरेको बताएका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker