मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती मनाइयो
वैरागी नाता मगर र रुद्र सन्देश थापा मगर साहित्य पुरस्कारबाट पुरस्कृत

पोखरा । मगर भाषाका आदिकवि सुबेदार रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण एवं स्रष्टा सम्मान कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा पृथ्वीनारायण क्याम्पस परिसरस्थित गण्डकी प्रज्ञा–प्रतिष्ठानको साझा सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले मगर भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्याएका स्रष्टाहरूको सम्मानसँगै आदिकवि रेखबहादुर सारू मगरको योगदानको स्मरण गरेको थियो।
नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामीआले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहमा मगर भाषा तथा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएबापत दुई जना स्रष्टालाई ‘आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार’ प्रदान गरिएको थियो।
‘आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार–२०८२’ बाट साहित्यकार वैरागी नाता मगर र ‘आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार–२०८३’ बाट साहित्यकार रुद्र सन्देश थापा मगर पुरस्कृत हुनुभएको हो। दुवैलाई जनही रु. १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा आदिकवि रेखबहादुर सारू मगरको जीवनी, व्यक्तित्व तथा मगर भाषा–साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष पूर्णबहादुर राना मगरले प्रकाश पार्नुभएको थियो। पुरस्कृत स्रष्टाहरूको साहित्यिक परिचय तथा योगदानबारे सङ्घकी केन्द्रीय सदस्य एवं साहित्यकार बेलीमाया थापा ‘गीता’ले जानकारी गराउनुभएको थियो।
नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष दीपक सिजाली मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेले आदिकवि रेखबहादुर सारू मगरले मगर भाषा–साहित्यको विकासमा पुर्याउनुभएको ऐतिहासिक योगदानको चर्चा गर्दै मातृभाषाका साहित्य र स्रष्टाको संरक्षण तथा प्रवर्द्धनमा गण्डकी प्रज्ञा–प्रतिष्ठान सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउनुभयो।
कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संगीतकार/लोकगायक शङ्कर ‘विरही’ गुरुङ, नेपाल मगर सङ्घका भाषिक उपाध्यक्ष हर्क आले मगर, नेपाल मगर सङ्घका पूर्व महासचिव एवं मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापा मगर, अग्रज साहित्यकार फूलकुमारी थापा मगर, नेपाल मगर लेखक सङ्घका पूर्व अध्यक्ष कर्णबहादुर बुढा मगर, संस्थापक महासचिव उजीर राना मगर, नेपाल मगर लेखक सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष रुद्र श्रीस मगरलगायत विभिन्न जिल्लाका मगर लेखक, साहित्यकार, स्रष्टा तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य लक्ष्मी राना र बेलीमाया थापा, नेपाल मगर सङ्घ गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्र थापा, नवलपुर जिल्ला समन्वय समितिका अध्यक्ष बेलबहादुर सारु, नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य यमबहादुर थापा, चितवनका अध्यक्ष धनमाया थापा मगर ‘धनु डिसुवा’, तनहुँका अध्यक्ष यमलाल थापा, स्याङ्जाका अध्यक्ष जिबी राना, कास्कीका अध्यक्ष विकाल लुङ्गेलीलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी नेपाल मगर सङ्घ रामपुर नगर समिति पाल्पाका अध्यक्ष क्याप्टेन देवबहादुर मसराङ्गी मगर, चलचित्र कथा लेखक तथा साहित्यकार जुना थापामगर, सङ्गम सांस्कृतिक मञ्च पोखराका अध्यक्ष काजी गाउँलेलगायत अतिथि तथा मगर लेखक सङ्घका पदाधिकारी र स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका सचिव तथा साहित्यकार भोज विवश मगर (भोजप्रसाद खण्डलुक मगर)ले गर्नुभएको थियो।
समापन मन्तव्य व्यक्त गर्दै सभाध्यक्ष खड्क बहादुर आले मगरले आदिकवि रेखबहादुर सारू मगरको योगदानलाई पुस्तान्तरण गर्दै मगर भाषा, साहित्य र संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने गण्डकी प्रज्ञा–प्रतिष्ठान, अतिथि, पुरस्कृत स्रष्टा तथा भाषा–साहित्यप्रेमी सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो।










