गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरमा १५ जनाको ‘क्षारसूत्र विधि’बाट सफल शल्यक्रिया

दमौली : गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालयले भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
भिमाद आयुर्वेद औषधालयको प्राङ्गणमा शनिबार र आइतबार सञ्चालन गरिएको शिविरमा पाइल्स, फिस्टुला र फिसर लगायत गुदारोगसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो ।
शिविरमा डा. रमेश पौडेल सहित प्रदेश आयुर्वेद चिकित्सालयका चिकित्सक तथा प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए। कार्यक्रममा विशेष गरी गुदारोगसम्बन्धी समस्याको समयमै पहिचान र आयुर्वेदिक उपचार पद्धतिबारे जनचेतना अभिवृद्धिमा जोड दिइएको चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले बताए ।
शिविरबाट कुल ५० जना बिरामी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सेवा लिनेहरूमा २५ जना महिला, २२ जना पुरुष, दुई जना बालिका र एक जना बालक रहेका थिए । स्वास्थ्य अवस्था जटिल देखिएका १५ जना बिरामीको आयुर्वेदिक ‘क्षारसूत्र विधि’ मार्फत सफल शल्यक्रिया गरिएको चापागाईले जानकारी गराए ।
उनका अनुसार गुदारोगसम्बन्धी समस्या समाजमा व्यापक भए पनि लोकलाज तथा संकोचका कारण धेरै बिरामी समयमै स्वास्थ्य संस्थामा पुग्न सकिरहेका छैनन् । यस्ता विशेषज्ञ शिविरले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, सुरक्षित तथा प्रभावकारी उपचार उपलब्ध गराउन र सर्वसाधारणमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
विशेषज्ञहरूले आयुर्वेदिक ‘क्षारसूत्र विधि’लाई गुदारोग उपचारको प्रभावकारी र सुरक्षित पद्धतिको रूपमा उल्लेख गर्दै यसबाट शल्यक्रियापछि हुने जटिलता कम हुने, बिरामीलाई छिटो निको हुन सहयोग पुग्ने तथा पुनः समस्या दोहोरिने सम्भावना न्यून रहने बताएका छन् ।
प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले आगामी दिनमा पनि ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै विभिन्न स्थानमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ। अस्पतालले गुणस्तरीय, सुरक्षित तथा पहुँचयोग्य आयुर्वेद स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।










