जिव्रो लर्कियो वा भावना झल्कियो ?

सुरेशकुमार पाण्डे

प्रधानमन्त्रीको संसद् सम्बोधन यतिबेला राष्ट्रिय बहसको केन्द्र बनेको छ । विगतमा संसद्मा पर्याप्त बोल्दैनन् भन्ने आलोचना खेपिरहेका प्रधानमन्त्रीले यसपटक लामो सम्बोधन गरे । तर सम्बोधनका क्रममा व्यक्त गरिएको एउटा वाक्यले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तीव्र प्रतिक्रिया जन्माएको छ ।
प्रधानमन्त्रीले संसद्मा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने आशय व्यक्त गरेपछि त्यसले राष्ट्रियता, कूटनीति र राज्यको आधिकारिक धारणासम्बन्धी गम्भीर प्रश्न उठाएको छ । कतिपयले यसलाई जिव्रो चिप्लिएको घटना भनेका छन् भने केहीले प्रधानमन्त्रीभित्रको वास्तविक भावना सार्वजनिक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री स्वयंले पछि स्पष्टीकरण दिँदै आफ्नो आशय तथ्य प्रस्तुत गर्नु मात्र रहेको बताएका छन् र अभिव्यक्तिबाट भ्रम सिर्जना भएको स्वीकार गरेका छन् । तर यति संवेदनशील विषयमा प्रधानमन्त्रीस्तरको अभिव्यक्ति स्वाभाविक रूपमा सामान्य बहसभन्दा धेरै गम्भीर मानिन्छ ।
नेपाल–भारत सीमा विवाद नयाँ विषय होइन । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रबारे नेपालले लामो समयदेखि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । संसद्बाट नयाँ नक्सा पारित भइसकेको अवस्था छ । विभिन्न अध्ययन, ऐतिहासिक दस्तावेज र नक्साका आधारमा नेपालका भूभाग अतिक्रमणमा परेको बहस वर्षौंदेखि चल्दै आएको छ । यस्तो पृष्ठभूमिमा नेपालकै प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट नेपालले पनि छिमेकीको भूमि मिचेको अभिव्यक्ति दिनु स्वाभाविक रूपमा चासो र आशंकाको विषय बन्न पुगेको हो ।
प्रधानमन्त्रीले कुन भूभागको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन् भन्ने विषय अझै स्पष्ट भएको छैन । यदि कुनै प्राविधिक, प्रशासनिक वा सीमांकनसम्बन्धी विवाद हो भने त्यसलाई स्पष्ट रूपमा तथ्यसहित प्रस्तुत गर्न सकिन्थ्यो । तर अस्पष्ट शैलीमा गरिएको टिप्पणीले जनस्तरमा भ्रम र आक्रोश बढाएको देखिन्छ । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा बोल्दा नेतृत्व तहबाट अत्यन्त सावधानी अपेक्षा गरिन्छ । किनभने प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत धारणा नभई राज्यको दृष्टिकोणका रूपमा समेत बुझिने गर्दछ ।
नेपालको इतिहास आफैंमा भू–राजनीतिक पीडासँग जोडिएको छ । सन् १८१६ को सुगौली सन्धिपछि नेपालले ठूलो भूभाग गुमाएको ऐतिहासिक तथ्य बारम्बार चर्चामा आउने गरेको छ । इतिहासकारहरूका अनुसार नेपालले त्यसयता आफ्नो ऐतिहासिक भूभागको प्रश्नमा स्पष्ट र प्रभावकारी कूटनीतिक पहल गर्न सकेको छैन । यही कारण नेपाली समाजमा राष्ट्रियता र सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील मानिन्छ । यस्तो अवस्थामा राज्य नेतृत्वबाट आउने प्रत्येक शब्द जनभावनासँग प्रत्यक्ष जोडिन्छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक कोणबाट पनि व्याख्या हुन थालेका छन् । कतिपयले यसलाई छिमेकी राष्ट्रलाई सन्देश दिन खोजिएको रूपमा बुझेका छन् भने केहीले आन्तरिक राजनीतिक दबाब वा मधेशकेन्द्रित बहससँग जोडेर टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा त यसलाई æसिक्किमीकरणÆ जस्ता आशंकासँग जोडेर समेत चर्चा गरिएको छ । यद्यपि प्रमाणबिना यस्ता निष्कर्ष निकाल्नु उचित हुँदैन । लोकतन्त्रमा आलोचना स्वाभाविक हो, तर राष्ट्रिय संवेदनशीलताका विषयमा संयमित बहस अझ आवश्यक हुन्छ ।
नेपाल दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतको बीचमा रहेको सानो तर सार्वभौम देश हो । भूराजनीतिक हिसाबले संवेदनशील अवस्थिति भएकाले नेपालले आफ्नो कूटनीतिक सन्तुलन जोगाउन सधैं सजग रहनुपर्छ । राष्ट्रियता, सीमा र सार्वभौमिकताजस्ता विषयमा सरकारको धारणा स्पष्ट, सन्तुलित र आत्मविश्वासी हुनुपर्छ । अन्यथा गलत सन्देशले अन्तर्राष्ट्रिय रूपमा समेत असर पार्न सक्छ ।
हामीले कसैको भूमि मिच्नु हुँदैन भन्ने जति सत्य हो, आफ्नो भूमि र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु पनि त्यत्तिकै आवश्यक छ । सीमा समस्या समाधान गर्ने माध्यम आक्रोश होइन, तथ्य, प्रमाण, संवाद र कूटनीतिक पहल नै हुन् । तर यस्ता विषयमा जिम्मेवार नेतृत्वबाट आउने अस्पष्ट अभिव्यक्तिले जनतामा अन्योल र असन्तोष पैदा गर्न सक्छ ।
प्रधानमन्त्रीको पछिल्लो भनाइले एउटा महत्वपूर्ण प्रश्न भने उठाएको छ- राष्ट्रिय हितसँग सम्बन्धित विषयमा राज्य नेतृत्व कति सजग छ ? यदि यो केवल जिव्रो चिप्लिएको घटना हो भने भविष्यमा यस्ता कमजोरी नदोहोरिनु आवश्यक छ । तर यदि यसले कुनै गहिरो राजनीतिक सोच वा धारणा संकेत गर्छ भने सरकार त्यसबारे स्पष्ट हुनुपर्छ ।
राष्ट्रको नेतृत्व गर्ने व्यक्तिका शब्दहरू केवल भाषणका अंश हुँदैनन् । ती देशको आत्मविश्वास, कूटनीति र राष्ट्रिय दृष्टिकोणका प्रतिनिधि पनि हुन्छन् । त्यसैले संवेदनशील विषयमा बोल्दा शब्द चयनमा गम्भीरता, स्पष्टता र जिम्मेवारी अपरिहार्य हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker