युवामा सकरात्मक सोच र आत्मविश्वासको खाँचो छ : मुख्यमन्त्री पाण्डे

दमौली : नेपाली युवामा सकरात्मक सोच र आत्मविश्वासको आवश्यकता रहेकोमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जोड दिएका छन्। तनहुँको दमौलीमा आयोजित नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपाली युवालाई सकारात्मक सोच र आत्मविश्वासको आवश्यकता रहेको बताए ।
युवालाई ‘म नेपालमा केही गर्छु र गर्न सक्छु’ भन्ने सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै उनले युवाको अग्रसरताले मात्रै नेपालको सामाजिक र आर्थिक विकासमा नयाँ दिशा दिन सक्ने बताए ।
मुख्यमन्त्री पाण्डेले वर्तमान समाजमा ‘नेपालमा केही भएन, हुँदैन’ भन्ने नकारात्मक सोच बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘यो प्रवृत्तिले युवाहरुको क्षमतामा रोकावट पु¥याउने गर्दछ। हामीलाई एउटा सशक्त र सकारात्मक मानसिकताकासाथ अघि बढ्नु आवश्यक छ, जसले भविष्यमा प्रगति र परिवर्तनको नयाँ बाटो पहिल्याउन मद्दत पुग्ने छ ।’
गण्डकी प्रदेश सरकारले युवाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी योजनाहरु पनि तयार पारेको बताउँदै उनले भने, ‘यी योजनाले युवाहरुलाई प्रोत्साहन दिने र उनीहरुको क्षमतालाई अझ बढी सशक्त बनाउने उद्देश्य राखेको छ ।’
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एलिना महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेकपा (एमाले) तनहुँका सचिव प्रदीपराज अधिकारी, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले जेसीजले युवाको नेतृत्व विकासमा सकारात्मक सहयोग गर्दै आएको चर्चा गरेका थिए ।
जेसीआई व्यासनगरले विगतको अनुभव र सिकाईलाई थप परिस्कृत र परिमार्जन गर्दै सन् २०२५ मा नेपाल जेसीजको एक उत्कृष्ट क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त गरेको सम्मेलनका निर्देशक सुरेश पुरीले जानकारी दिए ।
सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु हुने, तनहुँ जिल्लाको धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाहरुको परिचय तथा प्रवद्र्धन गर्ने गरी अधिकतम पर्यटकहरुलाई भित्राउने वातावरण तयार हुने, विभिन्न स्थानवाट भूगोल र समुदायका युवाहरुसंग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नेपाल जेसीज क्षेत्र ख अन्तर्गतका ४२ शाखाका प्रतिनिधिहरु, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा मनोनित पदाधिकारीहरु, नेपाल जेसीजका क्षेत्र क, ग र घ का शाखाहरुका पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, जुनियर जेसीज अन्तर्गत देशभरका शाखाका पदाधिकारीको सहभागिता रहेको छ ।
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न शाखाका पदाधिकारी, सदस्यहरु, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षक, अतिथी गरी कबिर आठ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।










