चुम उपत्यका पर्यटन र मनास्लु आरोहण

के.बि. मसाल

गण्डकी प्रदेशमा हिमालपारीका दुइ जिल्ला मनाङ र मुस्ताङ वाहृय पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन । पदयात्रामा रमाउने धेरै पर्यटकहरु राउण्ड अन्नपूर्णको यात्रामा यी दुइ जिल्लामा पदयात्रा गर्दछन । पर्यटनको क्षेत्रमा बिश्वमानै मनाङ र मुस्ताङको बारेमा धेरै चर्चा हुने गर्दछ । मनाङ सगै जोडिएको उपल्लो गोरखाको हिमालपारीको चुमनुव्री उपत्यकामा पर्ने मनास्लु हिमाल, श्रृगी हिमाल र ऐतिहासिक र पुरातात्वीक हिसाबको चुम र नुब्री उपत्यका पुग्ने पर्यटकहरुको संख्या पनि धेरै छ । उत्तरी गोरखामा दुइ वटा मनोरम पर्यटकीय उपत्यका छन् चुम र नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पारमा पर्दछ । नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्दछ । चुम उपत्यका शान्ति र अहिंसा क्षेत्र भनेर विश्वभर चिनिन्छ ।

जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट सन् १९५६ मा मनास्लु हिमाल आरोहण गरेपछि हरेक वर्ष हिमाल आरोहण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । मनास्लु क्षेत्र भ्रमण गर्नेमा जर्मन र फ्रान्सका पर्यटक धेरै हुन्छन । नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, र्टर्की, अमेरिका र साउथ अफ्रिकाका नागरिकहरु पनि मनास्लु क्षेत्रमा पुग्ने गर्दछन । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरुले आफ्नो माने जस्तै मनास्लुलाई जापानी पर्वतको रुपमा लिइन्छ । मनास्लु हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । मनास्लु हिमालको उचाई ८ हजार १५६ मिटर छ । चुमनुब्री उपत्यकामा पर्ने मनास्लु हिमाल माउन्ट किलरका नामले पनि चिनिन्छ । मनास्लु हिमाल आरोहण गर्नुलाई आरोही पर्यटकले आफुलाई साहसिक मान्छन् । मनास्लु क्षेत्रमा पर्यटकले तीन सातासम्म बिताउँछन् ।

वाहृय पर्यटकहरु बिशेष गरी नेपालमा हिमाल आरोहण, हिमाली क्षेत्रमा पदयात्रा, यहाको सस्कृति र जैबिक बिविधताको बारेमा अध्यन अवलोकन गर्नमा रुचि राख्दछन । गोरखा जिल्लाको उत्तरी भेग मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने कुल्हा पाल्साङ हिमाल, गणेश हिमाल, श्रृङ्गी हिमाल वीचमा बग्ने बुढिगण्डकी र स्यारखोलाको बिचमा बनेको चुम र नुब्री उपत्यकामा पर्यटकहरु पुग्दछन । पर्यटकहरु गोरखाको आरुघाट हुँदै सोती, माछाखोला, सिर्दिबास भएर छेकम्पारको चुम उपत्यका पुग्ने गर्दछन । बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकको बुढिगडकी र स्यारखोला मिसिएको ठाउ गम्पुलबाट चुम उपत्यका र नुब्री उपत्यका जाने बाटो छुट्टीन्छ । धेरै पर्यटकहरु पहिला चुम उपत्यका पुग्दछन । भने चुमबाट फर्किएर सामागाउँ हुँदै नुब्री उपत्यका भएर अधिकांश पर्यटक लार्केपास गरेर मनाङको थोचे हुँदै लमजुङको बेसिशहर फर्कन्छन् भने कतिपय सामागाउँबाट आरुघाट र्फकन्छन् ।

आरुघाटबाट लार्केभञ्ज्याङसम्म पदयात्रा गर्ने पर्यटकहरुले बुढीगण्डकीको झोलुङे पुल २० ठाउमा तर्नु पर्दछ । चुम उपत्यका पुगेपछि पर्यटक स्वर्गको अनुभूति गर्दछन । चुम उपत्यका अदभूत आध्यात्मिक भूमि मानिन्छ । चुमको पिरेन फु गुफाको ढुङ्गामा तिब्बतका महान तान्त्रिक गुरु चिप्चुन मिलारेपाको पैतालाको छाप छ । उनी एघारौँ शताब्दीमा यस गुफामा आएर ध्यान र साधना गरेर बसेका थिए भन्ने मान्यता रहेको छ । चुमका गुम्बामध्ये राछेन गुम्बा र मु गुम्बा बढी महत्वपूर्ण मानिन्छन् । तिब्बती बौद्ध धर्मशास्त्रअनुसार किमोलुङ बेयुलको अर्थ शान्ति र खुसियालीको उपत्यका भन्ने हुन्छ। चुम उपत्यकाको हिमाली मनोरम दृश्य र गुम्बा, माने, कानी, मन्दाम, छोर्तेन र घरघरमा फहराएका लुङदर अर्थात झन्डाले पर्यटकहरुलाई स्वर्गीय आनन्दको अनुभूति दिलाउँछ । तीन हजार मिटरको उचाइमा रहेको चुम करिब २० वर्गकिलोमिटर क्षेत्रको उपत्यका बनेको छ । उपत्यकाको बीचबाट स्यारखोला बगेको छ । माथिल्लो चुम अर्थात छेकम्पार चीनको तिब्बतसम्म फैलिएको छ । सबैभन्दा बढी उचाइमा ३ हजार ५१० मिटरमा म्हु गुम्बा रहेको छ । अन्य सानाठूला गरेर चुममा २३ वटा गुम्बा छन् । अर्को चुम्चेत अर्थात तल्लो चुममा १० वटा गुम्बाहरु पर्छन् ।

चुम उपत्यकामा शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छयोर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व छ । चुम उपत्यकामा वौद्ध समुदाय धेरै भएकाले वौद्ध भिक्षु भिक्षुनीहरु धेरै छन । यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुनी (आनी) गुम्बा रहेको छ । यो गुम्वा करिब ८२० बर्ष अघि स्थापना भएको मानिन्छ । चुम क्षेत्रलाई जीवजन्तुको खुला संग्रहालय भन्दा पनि हुन्छ । चुम क्षेत्रका जीव-जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल फ्या अर्थात स्थानीय भाषामा मुसा भनिन्छ र लंगुर बाँदर जस्ता जिवजन्तु पाइन्छ । पर्यटकहरुले पदमार्गमा खुल्ला रुपमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेको देख्दछन । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन् । चुमको अर्थ खा चुम, निग चुम हो । यो भनेको आँखा चिम, मुख चिम, अर्थात् धार्मिक रुपले काम गर्ने, शान्त र इमान्दार भन्ने हो । त्यस्तै चुम भनेको धम चुम शान्त र इमान्दार धार्मिक व्यक्तिहरुको बसोबास गर्ने ठाउँ भन्ने बुझिन्छ ।

चुम क्षेत्रलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । यो क्षेत्रमा पशुहत्या निषेध गरिएको छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चम भनेर पनि चिनिन्छ । यो उपत्यकामा पर्ने अति प्राचीन ऐतिहासिक तथा पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । गणेश हिमाल, बौद्ध हिमाल र श्रृङ्गी हिमालले चुम उपत्यकाको प्राकृतिक सौन्दर्य थपिदिएको छ । हिमालको दृष्यावलोकनको लागि पनि पर्यटकहरु चुम उपत्यका पुग्ने गर्दछन । तिब्बतसंग जोडिएको निले गाउँ चुम उपत्यका पुगेपछि पर्यटकहरु पुग्न खोज्दछन । चुम उपत्यका मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । चुमले वातावरण संरक्षण तथा जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेको छ । यसले पर्यटनको क्षेत्रमा नेपाललाई नै प्रतिष्ठित बनाइ दिएको छ । हिमाली जनजीवन, बौद्ध संस्कृति, चुम्बा संस्कृति र प्राचीन सम्पदाहरु माने, गुम्बा, चैत्य, गुफा आदि अवलोकन गर्दा चुम उपत्यका पुगेपछि पर्यटकहरु रमाउछन ।

गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार दुइ वडालाई चुम उपत्यका भनिन्छ । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । जहाँ घोषित रुपमै पशुवली निषेध गरिएको छ । जुन कुराले पर्यटकहरु अचम्म मान्दछन । पशुबली त टाढाको कुरा जंगलमा गुलेली समेत हान्न पाइदैन । चुमका बासिन्दाहरुले दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । चीनसँग सीमा जोडिएको यी गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्न पाउँदैनन् । चुम उपत्यका जाने पर्यटकहरुले पनि मासु खान पाउँदैनन् । किनभने होटलहरु सबै शाकाहारी मात्रै हुन्छन् । यो नियम अर्थात स्याग्या नियम उल्लंघन गर्नेले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । जरिवाना मात्र होइन गुम्बामा गएर एक हजारवटा बत्ती बालेर मूर्तिलाई एक हजार पटक नै ढोगेर माफी पनि माग्नुपर्छ । यो नियम चुम उपत्यकामा काम विशेषले जाने पर्यटक, सरकारी, गैरसरकारी कर्मचारी, प्रहरी सबैले पालना गर्नुपर्ने व्यवस्था छ ।

चुमनुब्रीमा पर्ने ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँ पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्र भित्र पर्दछ । अहिले माथिल्लो मनास्लु क्षेत्रमा बढी पर्यटकहरु पुग्दछन । जहाँ लहरै देखिने टलक्क टल्किएका हिमाल, मनास्लुको हिउँ पग्लेर बनेको वीरेन्द्र ताल, काल ताल, गुम्बा, माने, चैत्य अनि हरिया खर्कले मनास्लु पुग्ने पर्यटकलाई आकर्षण गर्दछ । चुम उपत्यकामा राजेन गुम्बा, मु गुम्बा, मिलारेपा थिरन फु जस्ता ऐतिहासिक सम्पदामा पर्यटकहरु पुग्दछन । नुब्री उपत्यकामा पर्यटकहरुका लागि मनमोहक ठाउँहरु छन् । गोम्बालोम्टाङ गणेश हिमालको वेसक्याम्प नजिकै धोरचोङ पास, कुताङ क्षेत्र, सेराङ, काल ताल, इनाङ गुम्बा, मनास्लु वेश क्याम्प, रुइला पास, लार्के पास र खर्कहरुमा पर्यटकहरु पुग्दछन । चुमनुब्री क्षेत्रमा अहिले पर्यटनको लागि ठूलो लगानीमा होटल सञ्चालन भएका छन ।

चुमनुब्रीमा उपत्यकामा पर्यटकहरुलाई खाना बस्न कुनै असुबिधा हुदैन । गाउँमा होटल र होमस्टको सुविधा पर्यटकहरुले पाउछन । अहिले चुमनुब्री उपत्यकामा पर्यटकहरुका लागि पदमार्ग राम्रो बनेको छ । पर्यटकहरु मनास्लु क्षेत्रमा जादा धेरै पर्यटकहरु चुम उपत्यका पुगेकै हुन्छन । चुम उपत्यकामा पुग्ने अधिकाशं पर्यटकहरु नुब्री हुँदै लार्के पास भएर मिताङ स्याउलीखर्क सुतिखोला भएर तिल्चे हुदै मनाङको थोचे धारापानीमा निस्कन्छन् । लार्के पास नपुग्ने पर्यटकहरु गएकै बाटो फर्कने गर्दछन । चुमनुब्री अर्थाच मनास्लु पदमार्गमा वाहृय पर्यटकहरु मात्र होइन आजभोली आन्तरिह पर्यटकहरु समेत पदयात्रामा रमाउछन । पदमार्गमा फुलेका रंगीबिरंगी हिमाली फूल र तिनको बास्नाले पर्यटकलाई मोहित पार्ने गर्दछ । हिमाल प्रतिको मोह, पहाडका रमणीय दृश्य र हिमालका अनुपम रंगहरुको फोटो खिच्न पाउँदा पर्यटकहरु खुसी हुने गर्दछन् ।

बुढीगण्डकीको किनारै किनार बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकको मनास्लु क्षेत्र जोडने सडक अहिले बुढिगडकी र स्यारखोला मिसिएको ठाउ गम्पुल अर्थात म्याकफेदी सम्म पुगेको छ। म्याकफेदी चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम बजार नजिकै पर्दछ । बेनिघाट आरुघाट लार्केभन्जाङ्ग सडकको कूल १५४ किलोमिटर पर्दछ । लार्केभञ्ज्याङ सडक खण्ड ९२ किलोमिटर सडक ट्रयाक खोल्ने काम नेपाली सेनाले गर्दै छ । सेनाले लार्के भञ्ज्याङसम्म सडक जोडने र नियमित सवारी आउजाउ हुने हो भने पर्यटकहरुलाई मात्र होइन उत्तरी गोरखाका सर्वसाधारणको दैनिक जीवन निकै सस्तो र सजह हुन्छ । चीनको सीमासम्म सडक सञ्जाल पुर्‍याउन अब झण्डै ६० किलोमिटर ट्रयाक निर्माण हुन बाँकी रहेको छ । आरुघाटबजार देखि थुमीको आर्खेतबजार, सोतिबजार, लापुवेसी, माछाखोला, तातोपानी, जगत, फिलिम क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरी सानाठूला होटल सञ्चालनमा छन । मनास्लु पदमार्गमा फिलिम बजार भन्दा माथी सडक पहुँच छैन । बिही, प्रोक, ल्हो, छेकम्पार, सामागाउँ क्षेत्रमा पदमार्गमा यात्रा गर्ने पर्यटकहरुका लागि होटलहरु सञ्चालनमा छन ।

पदमार्गमा यात्रा गर्ने पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्व जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ । पदमार्गमा पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरी लगायतका सूचना बोर्डले पर्यटकहरुललाई सजिलो भएको छ । सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जगली जनावरका बारेमा पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अबिस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन आफ्नो स्वास्थ स्थितिको पनि पर्यटकहरुले ख्याल राख्नु पर्दछ । पर्यटकहरुले आफू जाने गन्तव्यको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रामा जादा राम्रो हुन्छ । पदयात्रामा वातावरण तथा मौसम सुहाउदो लुगा बोकेर मात्र यात्रा गर्नु पर्दछ । पदयात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नु पर्दछ । प्राथमिक उपचारका सामग्रीहरु आफूसँगै राख्न्नु पर्दछ । ती सामग्री आपतकालिन अवस्थाका लागि चाहिन सक्दछ । मोबाइल फोन लिई हिडे यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाईडको साथमा जानु पर्दछ ।

कसरी पुग्ने चुमनुब्री उपत्यका ?

चुमनुब्री उपत्यका गोरखाको आरुघाट क्षेत्र हुँदै र लमजुङबाट मनाङको धारापानी हुदै लार्के पास गरेर पनि जान सकिन्छ। मनास्लु क्षेत्र अर्थात चुमनुब्री उपत्यकामा जाने गोरखाबाट धेरै बाटो छन् । गोरखाको आरुघाट बजार मध्य पहाडीलोक मार्गमा पर्दछ । आरुघाटमा पृथ्वीराजमार्गमा पर्ने बेनिघाट देखि बसमा यात्रा गर्न पनि सकिन्छ । आरुघाटमा धादीङ बेसीबाट समेत मोटरमार्ग जोडिएको छ । गोरखा बजार र पोखरादेखि मध्यपहाडी लोकमार्गबाट यात्रा गर्ने पर्यटकहरुका लागि पनि सडक मार्गले आरुघाट बजार जोडिदिन्छ । आरुघाट देखि सोती खोला, लापुवेँसी, माछाखोला हुदै यात्रा गर्न पर्दछ । त्यस्तै अर्को रुट भनेको बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला नै निस्कने पदमार्ग पनि छ । अर्को धादिङको फूलखर्क हुँदै गोरखाको केरौँजा यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकहरले प्रयोग गर्न सक्दछन । माछाखोलाबाट दोभान, जगत, फिलिम हुँदै चुम उपत्यका पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker