पत्रकार महासंघ तनहुँले दुई पत्रकारलाई पुरस्कृत गर्ने

दमौली : नेपाल पत्रकार महासंघ तनहुँले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनोट गरेको छ । शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा बुधबार सम्पन्न कार्यसमिति बैठकले दमौली निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्णकुमार श्रेष्ठद्वारा स्थापित भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शङ्करराज नहर्कीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रमका बीच प्रदान गरिने शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
बैठकले हरितालिका तीजको अवसरमा आगामी भदौ २७ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि उपाध्यक्ष सम्झना रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यस्तै बैठकले भदौ १५ गतेभित्र सदस्यता नवीकरणका लागि सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले शाखाको भवन मर्मतका लागि गण्डकी प्रदेश सरकारमार्फत् रु दश लाख सहयोग भएकामा एकीकृत सेवा कार्यालय तनहुँमार्फत् समयमै गुणस्तरीय काम सम्पन्न गरेकामा कार्यालय र एन्जल कन्स्ट्रक्सनका प्रोपाइटर केदार अधिकारीलाई धन्यवाद दिने निर्णय गरेको छ ।
यस्तै चालु आर्थिक वर्षमा शाखामा इलाइव्रेरी स्थापनाका लागि गण्डकी प्रदेश सरकार प्रेस रजिष्टार कार्यालयबाट रु दश लाख र अतिथिगृह लगायत व्यवस्थापनका लागि व्यास नगरपालिकाबाट रु पाँच लाख सहयोग भएकामा प्रदेश सरकार र व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको छ ।










