आस्था र विश्वासको धरोहर : भानुको थानीमाई मन्दिर, २१० फूलको डोली चढाइयो

भानु : आस्था र विश्वासको धरोहरका रुपमा थानीमाई मन्दिर स्थापित भएको छ । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक आस्था र विश्वासको गन्तव्यस्थलका रूपमा विकास भएको छ । मन्दिरमा फूलको डोली भित्र्याउन तथा रातभर जाग्राम बसि बत्ती बाल्न देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
कात्तिकको दुई वटा मंगलबारमा १५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिकको दोस्रो र तेस्रो मंगलबार मन्दिरमा १५ हजार ५५७ जना भक्तजनले दर्शन एवं पूजाआजा गरेका समितिका अध्यक्ष जीवन थापाले जानकारी गराए । उनका अनुसार कात्तिकको दोस्रो मंगलबार (११ गते) आठ हजार र तेस्रो मंगलबार (१८ गते) सात हजार ५५७ जना भक्तजनले पूजाआजा गरेका हुन् ।
कात्तिकको पहिलो मंगलबार औँसी तिथि परेकाले फूलको डोली नभित्र्याइएको थापाको भनाइ छ। उनका अनुसार दुई वटा मंगलबार मन्दिरमा १४४ वटा फूलको डोली भित्रिएको छ । अध्यक्ष थापाले तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, काठमाडौँबाट तीन, कास्कीबाट सात र नवलपरासीबाट एक डोली भित्रिएको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष असोज, कात्तिक, मंसिर, माघ, फागुन र चैत महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
यी महिनाका मंगलबार मन्दिरमा फूलको डोली चढाउने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ। मन्दिरमा फूलको डोली चढाउनाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको समितिका अध्यक्ष थापाले बताए ।
उनका अनुसार भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । उनले भने, “परिक्रमापछि माथि थुम्कास्थित मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना तथा भाकल पूरा होस् वा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ ।”
प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा उक्त डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
समुन्द्री सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृंखलाका दृश्य देख्न सकिन्छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
वि.सं. १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । वि.सं. १८२५ मा मन्दिर भएको ठाउँमा भोटेनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको ज्येष्ठ स्थानीय बताउँछन् ।
पर्यटकीय केन्द्र, जातीय विविधता
थानीमाई मन्दिर भानु नगरपालिका–७ स्थित डाँडाथुम्कामा रहेको छ । सामुद्रीक सतहबाट करिव १२ सय मिटरको उचाइमा छ यो मन्दिर । हिमाल छोएर आएको चिसो बतास यहाँ निरन्तर चलिरहन्छ। मन्दिरमा आफुलाई असीम आनन्द प्राप्त भएको पहिलोपटक थानीमाइ पुगेकी चितवनकी लक्ष्मी अधिकारीले वताइन्। ‘यहाँको प्राकृतिक दृष्यावलीले मनै लोभ्यायो’, उनले भनिन्, ‘भोलीका दिनमा फेरि आउन सक्छु–सक्दिन । तर जीवनमा कहिल्यै यो भूमिलाई बिर्सने छैन ।’
थानीमाइ मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङ्टार, राइनसकोट, आँपपिपल, धमिलिकुवा, पश्चिमतर्फ माछापुच्छ«े हिमाल, अन्नपूर्ण हिमशृंखला, उत्तरमा गणेश हिमाल लगायतका निकै सुन्दर हिमाली दृश्यहरु देख्न सकिन्छ । उच्च भाग भएको हुँदा यहाँबाट फाउदी खोला, आदिकवि भानुभक्तको जन्म स्थान भएर बग्ने नागवेली बगेको चुँदी खोला, तनहुँको अग्लो चुचुरो छिम्केश्वरी, दोस्रो अग्लो चचुरो एवं पर्यटकीय क्षेत्र मिर्लुङकोट, तनहुँसुर दरवार र लम्जुङको राईनसकोट लगायत गगनचुम्बी पहाडहरू मज्जाले हेर्न सकिन्छ ।
थानीमाई मन्दिर वरपर ब्राम्हण, क्षत्री, मगर, नेवार, दमाई, कामी, सार्की मुस्लीम धर्मालम्बीहरुको बाहुल्यता पाइन्छ । मुस्लिमहरुको मस्जिद पनि नजिकै नजिकै रहेको छ । जातीय र धार्मिक सद्भाव तथा जातिय पहिचान र भेषभूषा साँस्कृतिक पहिचान यहाँका गहना हुन् । धार्मिक पर्यटनका प्चुर सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा मन्दिर पछाडि परेको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितीका सचिव हर्क थापामगरले वताए ।
बलि प्रतिवन्ध
यो मन्दिर जातीय भेदबाट मुक्त मात्र हाइने । मन्दिरमा ३ जना मगर जातका पूजारीहरू छन् । मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइदैन । ‘हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब कहिल्यै पनि गरिएको छैन र गरिदैन पनि’– मन्दिरका पूजारी सर्वजीत पाटामगरले भने । मन्दिर भएको स्थान बसन्तपुर डाँडामा अधिकांंश मगर जाति छन्। दलित जातजातिहरूको बसोवास छ । मन्दिरमा बलि चढाउन पाइैदन । बलि नचढाइने भएकाले गर्दा पनि अन्य मन्दीरको तुलनामा यो सफा देखिन्छ ।
ऐतिहासिक किम्वदन्ती
जनश्रुतीअनुसार झण्डै ४ सय बर्षअघि लेक (भोट)बाट एक भोटिनी र उनकी छोरी जडिबुटीहरू बेच्दै बसन्तपुर गाउँमा आए । साँझपख गाउँमा बास माग्दा गाँउलेहरूले दिएनन् । केही टुनामुना लाउन सक्ने डरले गाउँलेहरुले बास दन इन्कार गरेका थिए । कहिँ पनि बाँस नपाएपछि उनीहरु डाँडामा रहेको एउटा कटुस (स्थानीय भाषामा सिमतारा) को बोटमा आश्रय लिन पुगे ।
चैत्र महिनाको समय थियो, त्यतिबेला। त्यही कटुसको बोटमुनि बास बस्ने क्रममा राति अन्धाधुन्द असिना पानीसहित ठूलो हावाहुरी चल्यो। आमाछोरीको त्यहीँ मृत्यु भयो । त्यहीे दिनदेखी त्यस गाउँमा भाँडभैलो मच्चिन थाल्यो । भूतले तर्साउने, विभिन्न दैविप्रकोप प्राकृतिक प्रकोपले सताउन थाल्यो । बाघले सताउने र रातभरि सुत्न नदिने अवस्था आयो ।
स्थानीय जमलसिंह पाटामगरलाई राती सपनामा तिनै भोटिनी थानीमाईको रुप लिएर त्यही स्थानमा बसेको र उनीहरुको पूजाआजा गरेर फूल चढाए दुःख दिन छाड्ने सन्देश आएपछि पूजाआर्चन गर्न थालियो । देवीले भने बमोजिम नै सोमवार राती सत्यनारायणको पूजा लगाई मंगलबार चोखोनितो सहित फूलको डोली चढाउने गरिएको स्थानीय बताउँछन् अहिले पनि मन्दिरभित्र ती आमाछोरीको मुर्तिमा पूजा गरिन्छ । हरेक बर्ष कार्तिकको पहिलो मंगलबार स्थानियहरुको घर घरबाट अक्षता र फूलपाती ल्याएर चढाएपछि मात्र अन्यहरुका लागि मन्दिरमा फूलको डोली चढाउन दिने चलन छ ।
२०७२ गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले मन्दिरमा क्षति ग¥यो । विभिन्न निकायको सहयोगमा ४० लाख रकम खर्चिएर मन्दीरको पुनःनिर्माण गरिएको संरक्षण समितीका अध्यक्ष थापा मगरले जानकारी दिए । अझैं पनि निर्माणको काम बाँकी नै छ । मन्दिरको चारैतर्फ भिरालो ठाउँबाट सामान्य ढंगले पर्खाल उठाई त्यसमा सिमेन्ट लगाइएको छ । त्यसलाई भत्काएर बनाउने योजना रहे पनि रकमको अभाव भएको थापामगरले बताए ।
मन्दिरको आम्दानीबाट खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । करीव ३० लाखको लागतमा लिफ्टको माध्यमबाट शुद्ध पिउने वितरण गरिएको छ। सोमवार राती बत्ति बाल्न आउने भक्तजनलाई बस्ने व्यवस्थाका लागि काठका पौवाहरु पनि निर्माण गरिएका छन् । थकाई मेटाउनको लागि र भक्तजनको सामान सुरक्षित राख्नको लागी वरिपरी ६/७ वटा पाटी पौवाहरुको निर्माण गरिएको छ ।
मन्दिरको आन्तरिक आम्दानी वार्षिक पाँच लाख हुने गरेको छ । यसैबाट पूजारी र कर्मचारीहरुले तलव खादै आएका छन् । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले थानीमाइ मन्दीरको आवश्यक पूर्वाधार र प्रवद्र्धनमा विशेष प्राथमिकता दिइएको बताए ।
प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावना
थानीमाई मन्दिरबाट तनहुँका प्रमुख भू–दृश्यहरू–छिम्केश्वरी, मिर्लुङकोट, तनहुँसुर दरबारदेखि लमजुङको राइनसकोटसम्मका दृश्यहरू एकै नजरमा हेर्न सकिन्छ । यहाँको हिमाल छोएको बतास, हरियाली र भौगोलिक विस्तारले मन्दिर क्षेत्रलाई विशिष्ट बनाएको छ । आस्थाको केन्द्र, सद्भावको प्रतीक र प्राकृतिक सौन्दर्यले घेरिएको थानीमाई मन्दिर तनहुँ जिल्लाको धार्मिक पर्यटन नक्सामा जोडिन तत्पर देखिन्छ । सडक स्तरोन्नति, प्रचारप्रसार र योजनाबद्ध पूर्वाधार विकास गर्न सके यो क्षेत्र देशकै प्रमुख धार्मिक गन्तव्य बन्ने सम्भावना प्रष्ट देखिन्छ ।
कहाँबाट जाने ?
तनहुँको डुम्रे बेसिशहर सडकखण्डको अर्चलधारासम्म पिच सडक र अर्चलधाराबाट लौडारी भञ्ज्याङ हुँदै करिव १६ किलोमिटरसम्मको कच्ची सडकबाट थानीमाई मन्दिर पुग्न सकिन्छ । अझै छोटो सडकखण्ड डुम्रे–भन्सार हुँदै चुँदी टुहुरेपसल र चन्द्रावतीबाट अलग अलग कच्ची सडकबाट ६ किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ ।
लमजुङको सदरमुकाम बेसिशहर जाने राजमार्गको बाइजंघारसम्म १८ किलोमिटर पिच सडक र वाइजंघारबाट ८ किलोमिटर उत्तर–पश्चिमतर्फको कच्ची सडक पार गरेपछि थानीमाई मन्दिर पुग्न सकिन्छ । यो बाटो अहिलेको मुल चलनचल्तीको सडक हो । यसअघि हिडेर नै फूलको डोलीसहित थानीमाई दर्शनका लागि जानुपर्दथ्यो ।










