विदेशबाट फर्किएर गाउँमै कागती खेती गर्दै तनहुँका रेग्मी

भञ्ज्याङन्यूज

विदेशबाट फर्किएका तनहुँका युवाले व्यवसायिक रुपमा कागाती खेती गर्न थालेका छन् । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो आफ्नै गाउँठाउँमा कागती खेती गर्न थालेका हुन् ।

नौ वर्षसम्म कोरियामा रोजगारीका सिलसिलमा बसेको व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिकरुपमा कागती खेती गर्दै आएका छन् । मासिक रु तीन लाखको जागिर छाडेर कृषि पेसा अगाँलेको उनले बताए। वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यही नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उनि बताउँछन्।

‘स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको हुँ’, युवा कृषक रेग्मीले बताए । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसर्राई गरिआएको थियो। बसाइँसर्राई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपमा कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला बताउँछिन् । कागती खेतीबाट बर्सेनी उत्पादन वृद्धि हँुदै गएपछि थप हौसला मिलेको उनले बताइन ।

‘कागतीका बिरुवा आफूले हुर्काएपनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ’, सिर्जनाले भनिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’

विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु पन्ध्र लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब रु बीस लाख बराबरको कागती बिक्री हुने लक्ष्य रेग्मीको थियो ।

करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलव्ध गराएको थियो ।

आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कूलप्रसाद तिवारीको ठूलो योगदान रहेको कृषक सिर्जना बताउँछिन् । उनले भनिन्, ‘कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न सक्दिन ।’

पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल जिल्लामा २६३ हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुइ सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ । आर्थिक वर्ष२०७९/८० मा एक हजार पाँच सय पच्चीस मेटि्रकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार जानकारी दिनुहुन्छ ।

बक्रीका लागि समस्या छैन

उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फलागेको सिर्जना बताउनुहुन्छ । उत्पादित कागती पोखरा, चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु एक सयदेखि रु एक सय पचाससम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ ।

कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन

कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् ।सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुँदैन्, सिर्जना भनिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’

सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भएपनि कागती खेतीका लागि हावापानी र माटो सुहाउदो भएकाले यसैतर्फ आकर्षित भएका हौँ, उनले भनिने, ‘कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुन्छ ।’

बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आकर्षण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker