तनहुँमा १४ गतेसम्म लम्बियो निषेधाज्ञा (के गर्न पाइन्छ ? आदेश सहित)
भञ्ज्याङ न्यूज

तनहुँमा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म लम्ब्याइएको छ । सोमबार मध्यरातबाट लागुहुने निषेधाज्ञाका क्रममा फलफूल र तरकारी पसल बिहान मात्र र होटल रेष्टुरेन्ट तथा अन्य व्यवसाय दिउँसो र साँझ मात्र खोल्न दिइने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म खोल्न दिन सिफारिस गरे अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त सिफारिसलाई कार्यान्वयनमा ल्याएको हो ।
यसैगरी, अरु व्यवसाय तथा होटल रेष्टुरेन्ट भने दिउँसो १२ देखि साँझ ६ बजेसम्म खोल्न दिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी गराएका छन् ।
र्सार्वजनिक यातायातका साधान विहान ६ देखि साँझ ६ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने तथा व्यापार व्यवसायमा पनि आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोग तथा मापदण्ड पालनामा ध्यान दिन आग्रह गरिएको छ ।
यस्तै बैठकले कोरोना जोखिमका आधारमा जिल्लाका स्थानीय तहमा ‘स्मार्ट लकडाउन’ गर्ने समेत योजना बनाएको छ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यका तर्फाट जारी आदेशमा निषेधाज्ञालाई केही खुकुलो बनाइएपनि संक्रमित बढिरहेको हुँदा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताइएको छ । स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेरमात्र रेष्टुरेन्ट तथा खाजाघरका साथै अन्य पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकसंग व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएको छ । मास्क नलगाई आउनेलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने निर्णय समेत भएको छ ।
निषेधाज्ञाको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसंगै नागरिकस्तरबाट बढेको लापरवाहीका कारण तनहुँमा पुनः संक्रमितको संख्या हृवात्तै बढेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको देखाइएको छ ।










