म्याग्देमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को उक्त कार्यक्रम वडा नं ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका रोजगार शाखा प्रमुख पविन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रममा सहभागी हुनेलाई सोमबार एक कार्यक्रमका बीच सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी हुनेलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाले सञ्चालन गर्ने योजनामा बेरोजगारलाई रोजगारीको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विकासे योजनामा बेरोजगार सूचीमा सूचीकृत भएकालाई पहिलो प्राथमिकता दिन्छौँ ।” गाउँपालिकाले आन्तरिक बजेटबाट सुरक्षा सामग्री खरिद गरेको हो । यसअगाडिका वर्षहरूमा सङ्घीय सरकारबाटै सामग्रीका लागि बजेट आउने गरेकामा तीन वर्षदेखि भने गाउँपालिकाले आन्तरिक स्रोतबाटै सामग्री खरिद गरी वितरण गरेको रोजगार संयोजक शाहीले बताउनुभयो ।

गाउँपालिकाका सातवटा वडामा तीन सय १७ बेरोजगार सूचीकृत भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्दैछ । उनीहरूलाई रोजगारवापत प्रतिदिन रु छ सय ६८ प्रदान गरिनेछ ।

कार्यक्रमअन्तर्गत नाला निर्माण, चौतारा निर्माण, बाटोघाटोको अलवा साझेदारी कार्यक्रमअन्तर्गतका योजनामा खटाउने तयारी गरिएको छ । संयोजक शाहीले भन्नुभयो, “गाउँपालिकाले लागत साझेदारीमा सञ्चालन गर्ने योजनामा उहाँहरूलाई रोजगारी प्रदान गरिनेछ ।” वडा नं ४ बाट सुरु भएको रोजगार कार्यक्रम क्रमशः सबै वडामा सञ्चालन गरिने उहाँको भनाइ छ ।

सोही कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायतका काम हुँदै आएका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रमअनुसार बेरोजगार सूचीमा सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker