कृषकलाई प्रविधि हस्तान्तरण गर्दै तनहुँका स्थानीय तह

कृष्ण न्यौपाने

तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरणमार्फत व्यावसायिक बनाउन स्थानीय तहले कृषि उपकरणमा जोड दिएका हुन् ।

आँबुखैरेनी गाउँपालिकाले कृषकलाई कृषि उपकरण प्रदान गरेको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई उपकरण सहयोग गरेको हो ।

गाउँपालिकाको स्वीकृत कार्यक्रमबमोजिम कृषि सहकारी, कृषक समूह तथा कृषि फार्मलाई डिजिटल काटा र मिनीटिलर सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले १५ वटा डिजिटल काटा र आठवटा मिनीटिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषिमा व्यावसायीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । “कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उहाँले भन्नुभयो । भानु नगरपालिकाले पनि कृषक समूहलाई हाते ट्र्याक्टर र कम्वाइन मिल वितरण गरेको छ ।

उक्त नगरपालिका–४ चुँदीस्थित खुमलटारी बडहरे कृषक समूहलाई सात टान हाते ट्र्याक्टर वितरण गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।कृषकको मागका आधारमा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । “यान्त्रिकरणमार्फत कृषकलाई व्यावसायिक बनाउन विभिन्न सामग्री प्रदान गरेका हौँ, यसले कृषक खुसी भएका छन्”, नगरप्रमुख त्रिपाठीले भन्नुभयो ।

परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिइएको उहाँले बताउनुभयो ।

यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई गण्डकी प्रदेश सरकारले अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको छ । प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समूहलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको हो ।

चक्लाबन्दी गर्ने कृषक समूहलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । ट्र्याक्टर का लागि कृषक समूहले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।

बन्दीपुर गाउँपालिकाका पूर्वअध्यक्ष पूर्णसिं थापाले गत वर्षदेखि चक्लाबन्दी थालेको कृषि समूहलाई गाउँपालिकाका तर्फबाट पनि कृषि औजार सहयोग हुँदै आएको बताउनुभयो । समूहले १६४ रोपनी क्षेत्रफलमा चक्लाबन्दीमार्फत खेती गर्दै आएको छ ।

चौविस कृषकको खेतलाई एउटै बनाई चक्लाबन्दी गरिएको समूहकी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “पहिला–पहिला आ–आफ्नै जग्गामा खेतीपाती गर्दै आएका थियौँ, सरकारले चक्लाबन्दीको अवधारणा ल्याएपछि सबै जग्गालाई एउटै बनाई खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा खेतीपाती गर्न पनि सहज हुने र उत्पादन पनि वृद्धि हुने गरेको छ ।”

बन्दीपुरमा एक हजार ५०० रोपनीमा चक्लाबन्दीमार्फत खेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष ३०० साना ट्र्याक्टर अनुदानमा कृषकलाई वितरण गरेको थियो । जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि केही समय अगाडि कृषकलाई हाते ट्र्याक्टर र सिँचाइ गर्नका लागि पानी तान्ने मोटर हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार ४६ थान हाते ट्र्याक्टर र १३ थान पानी तान्ने मोटर वितरण गरिएको छ । रु ३२ लाख २० हजार मूल्य बराबरका कृषि सामग्री अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले प्रविधिसँगै सीप पनि प्रदान गर्न थालेको छ । गाउँपालिकाले यसअगाडी हाते ट्र्याक्टर वितरण गरेका कृषकलाई मर्मतको तालिमसमेत दिइसकेको अधिकृत अधिकारीले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि कृषकलाई कृषि उपकरण सहयोग गर्दै आइरहेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker