स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य

गल्याङ : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्षखिम बहादुर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । उहाँले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रुपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
“गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ”, उहाँले भन्नुभयो । गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उहाँको भनाइ छ  । थापाले केरा खेती गर्ने कृषकलाई यो निर्णयले उत्प्रेरणा र सहजिकरण गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागू गरिने जानकारी दिनुभयो । उहाँले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र बठाइएको बताउनुभयो । पाण्डेले पहिलो चरणमा केराको सेल रोटी, पकौडा, आचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताउनुभयो ।
“आउने बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरुआत गर्नेछौँ, क्रमशः वडा कार्यालयमा, विद्यालयमा र विद्यालयमा संचालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ”, उहाँले भन्नुभयो, “हामीले पालिकाभित्रका सम्पूर्ण होटल, खाजाघर, घरवासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ, त्यस पश्चात अझ धेरै केराका परिकार बन्ने छन् ।”
गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । यसअघि ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो ।
प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाले बृहतरुपमा केराखेती गरेर फल उत्पादन गर्ने, फलको विभिन्न खानाका परिकार बनाउने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।
“गाउँपालिकाबाट तीन विद्यालय र ९० किसानलाई २० हजार केराका विरुवा वितरण गरिएको छ”, पाण्डेले भन्नुभयो, “हाल १८ हजार बिरुवा हुर्किरहेका छन्, यो योजनाबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा करिब नौ सय जना स्वरोजगार बन्ने पालिकाको विश्वास छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker