तनहुँमा दुई हजार २२० दोहोरो रूपमा कायम भएका मतदाताको नाम हटाइए

दमौली : जिल्ला निर्वाचन कार्यालय तनहुँले जिल्लामा दोहोरो रूपमा कायम भएका दुई हजार २२० मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने क्रममा दोहोरो विवरण भेटिएपछि त्यस्ता नाम हटाउने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा दोहोरो रूपमा कायम भएका मतदाताको विवरण परीक्षण गरी नामावली अद्यावधिक गरिएको हो ।
दोहोरो मतदाता नामावली भानु, व्यास, भिमाद र शुक्लागण्डकी नगरपालिकाका साथै ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाबाट हटाइएको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले मतदाता विवरणमा देखिएको दोहोरोपन हटाएर नामावलीलाई थप व्यवस्थित र अद्यावधिक बनाउने काम अघि बढाएको हो । एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा कायम हुँदा निर्वाचनको मतदाता विवरणमा अस्वाभाविक वृद्धि देखिन सक्ने भएकाले नियमित रूपमा विवरण अद्यावधिक गर्नुपर्ने आवश्यकता रहन्छ ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम थिए। दोहोरो नाम हटाइएपछि जिल्लाको अद्यावधिक मतदाता संख्या यसअघिको तुलनामा घटेको छ ।
निर्वाचन कार्यालयले मतदाता नामावलीमा आफ्नो विवरण सही भए–नभएको यकिन गर्न तथा बसाइँसराइ वा अन्य कारणले विवरण परिवर्तन भएको भए आवश्यक प्रक्रिया पूरा गरी अद्यावधिक गराउन मतदातालाई आग्रह गरेको छ ।










