गण्डकीमा रोपाइँ: बागलुङमा सबैभन्दा बढी, गोरखामा कम, तनहुँमा ९२ प्रतिशत रोपाइँ

गण्डकी : साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा ८५, पर्वतमा ८०, लजजुङमा ७९ र म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत रोपाइँ भएको हो । निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलकानुसार यसवर्ष प्रदेशभरिमा करिब ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो ।

प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये वर्षेनी करिब एक लाख हेक्टरमा वर्षे धान लगाइने गरिएको छ । आगामी साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो ।

गत असार १५ गतेसम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ८४ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा त मध्यजेठदेखि नै रोपाइँ सुरू हुन्छ ।

यसवर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको उहाँको भनाइ छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । धान खेतीका लागि यहाँका विभिन्न जिल्लामा पकेट क्षेत्र तोकिएका छन् । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ यहाँका धान पकेट क्षेत्र हुन् ।

यस्तै, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker