व्यास नगरपालिका : आवधिक योजना निर्माणका लागि सरोकारवालासंग छलफल
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले आवधिक योजना निर्माणको लागि सरोकारवालाहरुसंग प्रारम्भिक छलफल सुरु गरेको छ । नगरपालिकाले बिहीबार आवधिक योजना निर्माण सन्दर्भमा विहीवार दमौलीमा प्रारम्भिक छलफल गरिएको हो । स्थानीय तहमा दीर्घकालिन, एकीकृत, नतिजामुखी र समावेशी योजना बनाउने उद्देश्यले आवधिक योजनाका विषयमा छलफल अगाडि बढाइएको छ। उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खानले योजना बनाउदा सबै पक्षलाई समेटनुपर्ने बताइन् । तीनै तहका सरकारको बीचमा प्रभावकारी समन्वय गरी योजना निर्माण भन्दै सदस्य खानले जनताको आवश्यकता र चाहनालाई पहिचान गरी योजना निर्माण गर्न सके स्थायी, दीर्घकालिनका साथै प्रभावकारी हुने बताइन ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्यहरु, आशा कोइरालाले योजना निर्माण गर्दा तीनै तहका सरकारबीच समन्वय नहुँदा अपेक्षित उपलब्धी प्राप्त नभएको बताउँदै योजना तर्जुमा गर्दा समाजका उत्पीडित वर्गको समेत समाजिक र आर्थिक उन्नती हुने गरी गर्न सुझाव दिएकी छन् ।
प्रदेश सदस्य दोवाटे विकले योजना समाजका सबै पक्षहरुलाई समेट्न सक्ने समावेशी खालको हुनुपर्ने बताए । उनले योजना निर्माण गर्दा दीर्घकालिन सोचका साथ जनताको जीवनस्तरमा परिवर्तन गर्न सक्ने खालको हुनुपर्ने उनको भनाई थियो ।
त्यस्तै, प्रदेश सदस्य सरिता गुरुङले योजना जनताको चाहना र आवश्यकतामा आधारित हुनुपर्ने बताइन् । व्यवहारिक र दर्ीघकालिन योजना निर्माण गर्न सके मात्र समाजका हरेक क्षेत्रको बिकासमा टेवा पुग्न बताइन् ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशकी सचिव इन्दु घिमिरेले स्थानीय सरकारले तर्जुमा गर्ने योजनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत गनुपर्ने बताइन । उनले राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेशले र प्रादेशिक लक्ष्य हासिल गर्न स्थानीय तहले सघाउने हो भने तीनै तहबीच प्रभावकारी समन्वयको अवस्था निर्माण हुने बताइन्।
‘योजना निर्माण गर्दा व्यवहारिक र भविष्यपरक ढंगले गर्नुपर्दछ’, उनले भनिन्, ‘तीनै तहबीच समन्वयात्मक ढंगले योजना निर्माण गर्न सक्ने हो भने एकै साथ गन्तव्यमा पुगिन्छ । स्थानीय तहले योजना बनाउँदा स्थानीय सम्भावनाको पहिचान गरी स्थानीय आवश्यकता परिपूर्ति हुने गरी बनाउनुपर्दछ ।’
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले आवधिक योजनाको परिचय, उद्देश्य, प्रकार, विश्वमा विकास अवधाारणामा आएका परिवर्तन र नेपालमा त्यसको विकासक्रम, आवधिक बिकास योजनाको आवश्यकता, तीनै तहका योजनाबीचको तालमेल, समृद्ध र सुखका राष्ट्रिय लक्ष्य, दिगो बिकासका लक्ष्य, स्थानीय तहले बनाउनुपर्ने आवश्यक दस्तावेजहका विषयमा सहजिकरण गरेका थिए ।
त्यस्तै पौडेलले स्थानीय तहले आफ्ना योजना तर्जुमा गर्ने आधारहरु, स्थानीय तहमा आवधिक विकास योजना तर्जुमाका लागि संस्थागत व्यवस्था, स्थानीय तहको स्थितिपत्र, परामर्शदाताको योग्यता, योजना तर्जुमाका चरणहरु, योजनामा समावेश गर्नुपर्ने विषयहरु, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्य लगायतका विषयमा समेत जानकारी गराएका थिए ।
आयोगकी सदस्य डा. भिमा ढुंगानाले आवधिक योजनाको समस्टिगत खाका, योजना निर्माणमा ख्याल गनुपर्ने पक्षहरु, आवधिक योजनाको उपक्षेत्रगत खाका, क्षेत्रगत प्रथामिकता, सुचक सहितको नतिजाको ढांचा, दिगो विकासको लक्ष्य र संकेत लगायतको विषयमा प्रस्तुती राखेकी थिइन् ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले योजनाहरुले संघसंस्थाको नेतृत्व फेरिएपनि निरन्तता पाउनुपर्नेमा जोड दिए । साथै व्यास नगरपालिकाको योजना निर्माण गर्दा तत्कालिन समयमा नगर बिकास कोषले बनाएको योजना, एकीकृत सहरी विकास योजना लगायतका बिकास योजनालाई पनि समेट्न आग्रह गरे । साथै नयाँ प्रविधि अन्तर्गत जिपिएस, जिआइएसलाई पनि योजनामा समेट्न आग्रह गरिएको थियो ।
अबको योजना निर्माण गर्दा कोभिडले अस्तव्यस्त बनाएका पहिलाका योजनाहरु पनि समेटिनुपर्ने, ठोस कार्यक्रमहरु योजनामा समावेश गर्न, योजना बनाउँदा भविष्यलाई केन्द्रमा राखेर बनाउन सहभागीबाट सुझाव आएको थियो ।
योजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले व्यासले आगामी वर्षकस्ता कार्यक्रम गर्ने भन्ने सम्बन्धमा दिशानिर्देश गर्न आवधिक योजना आवश्यक परेको बताए । जनताका आवश्यकताहरुलाई प्राथमिकीकरण गर्न योजनाले मद्दत गर्ने सिग्देलले बताए । नगरपालिकाले आयोजना गरेको उक्त छलफल कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधि र सरोकारवालाको सहभागीता रहेको थियो।










