बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ : अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालले बुधबार प्रथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चाले आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम बन्दीपुर गाउँपालिका अध्यक्ष एवं बन्दीपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
बन्दीपुर अस्पतालका अनिल गिरीले अस्पतालको समग्र सेवा, जनशक्ति, बजेट, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा सहभागि सेवाग्राही तथा सरोकारवालाबाट उठाइएका जिज्ञासा, गुनासा र सुझावको सम्बन्धित पक्षबाट सहजिकरण गरिएको थियो ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष, वडा नं. ४ का वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ–संस्था तथा विद्यालयका प्रमुख÷प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रमुख, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको अस्पतालका प्रवक्ता अञ्जिर भट्टराईले जानकारी गराए ।
उत्कृष्ट कर्मचारी सम्मान
यस्तै, सोही अवसरमा गत आर्थिक वर्ष २०८१÷०८२ का लागि बन्दीपुर अस्पतालका उत्कृष्ट कर्मचारीका रूपमा छनोट भएका रेशम पाटा मगर (कार्यालय सहयोगी) र रमा कायस्थ (अ.हे.ब.)लाई सम्मान गरिएको अस्पतालका गुनासो सुन्ने अधिकारी रामप्रसाद भट्टराईले बताए ।
अस्पतालले उच्च शिक्षा अध्ययनका लागि जान लाग्नुभएकी प्रिया श्रेष्ठ (स्टाफ नर्स) तथा व्यक्तिगत कारणले वैदेशिक रोजगारीमा जान लाग्नुभएकी बन्दीपुर अस्पतालको स्टाफ क्यान्टिन सञ्चालिकालाई मायाको चिनो सहित विदाई तथा सम्मान गरेको थियो ।
अस्पतालका अनुसार उत्कृष्ट कर्मचारी छनोट प्रक्रिया मेडिकल सुपरिटेन्डेन्ट अनिल गिरीको संयोजकत्वमा मेडिकल अफिसरद्वय डा. केबिन पौडेल र डा. सबना मियाँ सदस्य रहेको तीन सदस्यीय छनोट तथा सिफारिस समितिबाट गरिएको थियो । समितिले सुरुमा पाँच–पाँच जना पुरुष तथा महिला कर्मचारीको प्रस्ताव तयार गरी कार्यसम्पादन, अनुशासन, सेवाभाव र समग्र योगदानको आधारमा मूल्याङ्कन गरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको थियो ।










