ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठद्वारा पूर्वसांसदका छोरामाथि कुटपिट

दुलेगौंडा : तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयलाई कुटपिट गरेको घटना बाहिरिएको छ । सात दिन अगाडी भिमाद निवासी पूर्वसांसद पदमबहादुर आलेका छोरा प्रभात आलेमाथि कुटपिट गरेको घटना बाहिरिएको हो ।
अध्यक्ष श्रेष्ठले आलेलाई घरमै बोलाएर आक्रमण गरेको भन्दै श्रेष्ठ विरुद्ध मंगलबार आलेले उजुरी दिएपछि घटना बाहिरिएको हो । भिमाद नगरपालिका–६ बस्ने प्रभात आलेलाई श्रेष्ठले कुटपिट गरी घाइते बनाएको बताइएको छ ।
काँग्रेस तनहुँका उपसभापति समेत रहेका श्रेष्ठले जग्गा सम्वन्धी विवादमा आलेलाई कुटपिट गरेको बुझिएको छ । भिमादस्थित मालेबगरको जग्गामा बाटो लैजाने भद्र सहमतिलाई अध्यक्ष श्रेष्ठले तोडेको भन्दै विवाद भएपछि घरमा सल्लाह गर्न बोलाएको र त्यहाँ पुगेपछि कंक्रिट भरिएको पीभीसी पाइपले कुटेको पीडित आलेको भनाइ छ ।

कुटपिटबाट आलेको बायाँ कानको श्रवणशक्ति गुमेको छ भने शरीरमा खाटो बसेकाले थप उपचार र स्वास्थ्य परीक्षणका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँले पोखरा रेफर गरेको छ ।
भिमादको मालेबगरमा बस्दै आएका गाउँपालिकाका अध्यक्ष श्रेष्ठले आफूले कुटपिट नगरेको र आफूमाथि जाइलाग्दा आत्मरक्षा गरेको बताएका छन् । गत बुधबार आलेले टेलिफोन गरेर मुख छोडेको र घर आएर लफडा गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, ‘मैले कुटपिट गरेको होइन, प्रभात आफैं भुइँमा लडेको हो । वर्षाै पुरानो जग्गा लेनदेनको विषयमा आलेसँग विवाद हुँदै आएको छ ।’
यता पीडित आलेले मंगलबार विहानदेखि इलाका प्रहरी कार्यालयमा उजुरी दिन आएपनि प्रहरी प्रशासनले आफ्नो उजुरी दर्ता गर्न आनाकानी गरेको गुनासो गरेका छन् । प्रहरीले ठाडो उजुरी मात्र लिएपनि लिखित उजुरी लिन इन्कार गरेको भन्दै नेपाली नागरिकले पाउने न्याय आफुले पनि पाउनुपर्ने पीडित आलेले बताए ।
कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारीमा जाहेरी दर्ता गर्न जाँदा ‘स्वास्थ्य उपचार गरेर निको हुनुहोस्’ भनेर जाहेरी फिर्ता पठाइएको आलेको गुनासो छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख पोषण थापाले कुटपिट सम्वन्धित घटनाको उजुरी अदालती प्रक्रिया भएकाले प्रहरीमा दर्ता नहुने प्रतिक्रिया दिए । थापाले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको र पीडितको ठाडो उजुरी बुझेको बताउँदै घटनाको विषयमा अनुसन्धान गरिने बताए ।
अधिवक्ता अमृत नेपालीले प्रहरीले कुटपिटको जाहेरी लिनुपर्ने बताए । सामान्य नागरिक अन्यायमा पर्दा प्रहरीले उजुरी लिएर अनुसन्धान गर्ने पिडकलाई पक्राउ गर्ने अधिकार प्रहरीसँग भएपनि उजुरी लिन आकाकानी गर्नुलाई सकरात्मक रुपमा लिन नहुने बताए ।










