ऋषिङमा ‘युवाको सहर’ अभियान : प्रविधिसंग युवालाई जोड्दै गाउँको विकास गरिने
नारायण खड्का

गाउँको आवश्यकतालाई पहिचान गरी स्थानीय युवालाई परिचालन गर्दै गाउँलाई युवाको सहर बनाउने अभियानमा तनहुँको ऋषिङ गाउँपालिका जोडिएको छ। ‘युवाको सहर’ अभियान अर्न्तर्गत गाँउपालिकामा बिल्ड क्याम्प सुरु भएको छ । ऋषिङ गाउँपालिकाले अमेरिकी दुतावासको सहकार्यमा आइतबारबाट उक्त अभियानको शुरुवात गरेको हो । नेपाल स्थित अमेरिकी दुतावासकी प्रवक्ता ऐना रिचियनले ऋषिङ बिल्ड क्याम्पको शुभारम्भको घोषणा गर्दै नेपालका धेरै स्थानीय सरकारसंग सहकार्य गर्दै आएको बताइन् । युवाहरुको क्षमता अभिवृद्धिसँगै स्थानीय स्तरमै युवाहरुलाई परिचालन गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई अमेरिकी सरकारले साथ दिदै आएको रिचियनले बताएकी थिइन्।
भर्चुवल माध्यमबाट कार्यक्रममा सहभागि भएकी रिचियनले अमेरिकाले सधै नेपालमा शान्ति र प्रजातन्त्र सुदृढीकरण होस भन्ने चाहना राखेको र परियोजना सञ्चालन गर्न स्थानीय सरकारले स्टोरी साइकललाई सहयोग गरेको उल्लेख गरेकी थिइन् ।
गाउँपालिकाको सहकार्यमा सुचना प्रविधिको अधिकतम प्रयोग गरी युवाहरुलाई आफ्नै गाँउ र सहरको बिकासमा प्रोत्साहन गर्ने, स्थानीय स्रोत साधनको पहिचान गरी त्यसको प्रयोगका लागि स्थानीयलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनको बजारीकरणमा सहयोग, पर्यटकीय सम्भावनाको खोजी र प्रचारप्रसारमा सहयोग, वातावरणमैत्री विकासका लागि योजना बनाउन सहजीकरण गर्ने, प्रतिभा र उर्जावान व्यक्तिहरूमा काम गर्ने संस्कृतिको विकास गराउन, स्थानीय तहमा प्रविधिको पहुँच विस्तार गर्ने लगायतको उद्देश्यले परियोजना सुरु गरिएको स्टोरी साइकलका संयोजक सौरभ ढकालले बताए ।
स्थानीय युवाहरुलाई परिचालन गरी प्रविधिको प्रयोग मार्फ गाउँको आवश्कताको सुचि बनाउने, कथा कार्यशाला गर्ने, स्थानीय आवश्यकता भित्रका कथा खोज्ने, संकलन गर्ने, इन्टरनेटका माध्यमबाट स्थानीय कथा, आवश्यकता र सम्भावनालाई प्रचारप्रसार र प्रवर्द्धन गर्ने, समुदायमा रहेका स्रोत, प्राकृतिक एवं सांस्कृतिक सम्पदा, बाटोघाटो, वन, पानी पँधेराको नंक्शाङ्कन गर्ने गरी आवश्यक योजना बनाइ लागु गर्न सहजीकरण गर्ने काम यस अभियान अन्तर्गत गरिने ढकालले बताए ।

स्थानीय स्रोत साधान, स्थानीय आवश्यकताको पहिचान हुने कथाहरु र ठाउँको जानकारी इन्टरनेटमा भेटिने, पर्यटकीय, ऐतिहासिक, धार्मिक स्थलहरु, प्राकृतिक एवं सांस्कृतिक सम्पदाका बारेमा इन्टरनेटबाट जानकारी लिन सकिने र स्थानीय उत्पादनको बजारीकरण इन्टरनेटबाटै गर्न सकिने लगायतका उपलब्धी हुने बताइएको छ।
स्थानीय बिकासमा युवा सहभागिता बढाउन र युवाहरुलाई प्रविधिमैत्री बनाउन परियोजन सुरु गरिएको अमेरिकी दुतावासका सञ्चार संयोजक अपार पौडेलले बताए । अबको समयमा युवाहरुको माग र आवश्यकतामा आधारित गतिविधि सञ्चालन गर्न सके मात्र युवाशक्तिलाई गाँउ/सहरमा केन्द्रित गर्न सकिन्छ भन्ने महसुस गरी कार्यक्रम डिजाइन गरिएको पौडेलले बताए। अभियानले इन्टरनेटको माध्यमबाट आफ्नो ठाउँको पहिचान, उत्पादनलाई बजारीकरण, पर्यटन प्रवर्द्धन लगायतका काममा युवाहरुलाई स्थानीय सरकारसँगै सहकार्य गराइ समृद्ध गाउँ/सहरको चाहना राखेको उनको थियो ।
‘दिगो र लोकतान्त्रिक सहर डिजाइनका लागि युवा’ भावनालाई आत्मसाथ गर्दै करिब एक वर्षअघिदेखि नै गाउँपालिकाको आठ वटै वडाहरुको कृषि, पर्यटन र कला संस्कृतिका सम्भावना र कथाहरु खोज्दै नक्शा तयार पार्ने, गुगल अर्थमा महत्वपूर्ण ठाउँ, व्यवसाय समावेश गर्ने, जिविकोपार्जन हुने आधार र उद्यमशिलता सिर्जना गर्न सकिने बारे स्थलगत भ्रमण गरी युवा र जनप्रतिनिधिहरुसँग छलफल लगायतका कार्य अगाडि बडाइएको छ ।
गाउँपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरुलाई गाउँमै केन्द्रित गर्न पालिकाले बनाएको नीति, कार्यक्रम र योजनालाई यस अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे । ऋषिङ गाउँपालिकालाई अब्बल पालिकाको रुपमा स्थापित गर्ने कार्यमा आफु लागेको बताउँदै उनले युवाको सहर अभियानलाई पनि विशेष प्रथामिकताका साथ हेरेको बताए ।
‘कला, संस्कृतिको संरक्षणसंगै स्थानीय सम्भावना र उत्पादनको बजारीकरणमा अभियानले सहयोग पुग्ने अपेक्षा गरेका छौ’, उनले भने, ‘कार्य योजना कार्यान्वयनको पक्षमा अगाडि बढे ऋषिङको चिनारी फरक रुपमा हुन पाएको छ ।’
अभियानप्रति गाँउपालिका सकारात्मक रहेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए । पालिकाको समृद्धिको दिशामा महत्वपूर्ण पहल कदमी भएको चर्चा गर्दै पौडेलले युवाको सहर अभियानले युवाहरुको भूमिकालाई बढोत्तरी गर्ने विश्वास व्यक्त गरे ।
उक्त अभियानका लागि विज्ञ समूह समेत छनोट गरिएको छ । विज्ञ टोलीमा दिगो पर्यटन विज्ञ देवेन्द्र बस्नेत, कला संस्कृति विज्ञ मिलन बगाले र कृषि विज्ञ महेन्द्र श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा कला संस्कृति विद बगाललेले भौतिक बिकाससँगै कला संस्कृतिको संरक्षण र सम्वर्द्धन महत्वपूर्ण पक्ष भएको बताए । सामाजिक पूर्वाधारको संरक्षण गर्दै विकासका वाधा र सम्भावनाको पहिचान गरी सोही अनुसार अघि बढ्न आग्रह गरे ।
यस्तै पर्यटन सल्लाहकार बस्नेतले भौगोलिक वनावट र हावापानी राम्रो भएकाले पर्यटकीय दृष्टिकोणले ऋषिङ उर्वर क्षेत्र भएको बताए । समृद्धिको मार्गमा आफ्नो ठाउँ अगाडि बढाउन स्थानीयको भूमिका महत्वपूर्ण हुने र यस अभियानलाई स्थानीयले नै सघाउनु पर्ने उनले बताए ।
अभियानका कृषि सल्लाहकार श्रेष्ठले गाउँमा कृषिको सम्भावनालाई बुझेर सोही अनुसारको खेती गर्न सुझाव दिए । प्रकृति र माटोलाई जोगाउन प्राङ्गारिक मलको प्रयोग र जैविक विषादीको प्रयोगमा उनको जोड थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख गिनुमाया थापा, व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।
युवाको सहर स्टोरी साइकल र अमेरिकी सरकारद्वारा डिजाइन गरिएको यो अभियानले स्थानीय युवा र समुदायलाई प्रविधिको प्रयोग गरेर गाउँठाउँहरुलाई डिजाइन गर्ने र जीवन्त बनाउन लागि परेको छ । कथा र प्रविधिको माध्यमबाट दमौली, सुर्खेत, बारपाक, सप्तरी, सिन्धुली र खुम्बु लगायत देशका विभिन्न ग्रामीण र अर्ध सहरी भागहरुमा अभियानका कार्यक्रम सञ्चालन भएका छन् ।










