७५ जना विद्यार्थीलाई खेल पोशाक वितरण
भञ्ज्याङ न्यूज

दमौलीका व्यवसायी मीनराज श्रेष्ठले आफ्नी पत्नीको स्मृतिमा व्यास-३ स्थित शिव पाञ्चायन अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत निम्न आय भएका विद्यार्थीलाई खेल पोशाक सहयोग गरेका छन् । विद्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले पत्नी बालकुमारीको स्मृतिमा ७५ जना बालबालिकालाई ७५ हजार रुपैयाँ बराबरको खेल पोशाक वितरण गरेका हुन् ।
कार्यक्रममा व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बालबालिकाका लागि श्रेष्ठले पुर्याएको सहयोग सराहनीय भएको बताए । उनले विद्यालयको वृत्ति विकासमा वडा कार्यालयबाट सक्दो सघाउने प्रतिवद्धता जनाएका थिए ।
श्रेष्ठका भाई एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका कारण समस्यामा परेका बालबालिकालाई सघाएको भन्दै प्रशंसा गरे । उनले आफ्ना तर्फबाट पनि थप २० बालबालिकालाई पोशाक दिने घोषणा गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पोशाक वितरण गर्न थप २० जना आवश्यक रहेको भन्दै त्यसका लागि शुभेच्छुकको सहयोग नपाए आफैं सहयोग दिने घोषणा गरे ।
सोही कार्यक्रममा अजय फर्निचरका सञ्चालक बाबुराम पुरीबाट १० हजार तथा हेल्लो बुक्स एण्ड स्टेशनरीका मिलन श्रेष्ठबाट २० हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले सबैलाई खेल पोशाकसहित आधुनिक शिक्षा उपलब्ध गराउने काममा सघाएको भन्दै श्रेष्ठ परिवारप्रति आभार व्यक्त गरे । १७५ विद्यार्थी आर्थिक अवस्था कमजोर भएका कारण खेल पोशाक नपाउने अवस्थामा रहेकाले आफूले सहयोगका लागि पहल गरेको स्थानीय प्रमोद पाण्डेले बताए ।










