बन्दीपुरको टुँडिखेलमा आज एकैपटक करिब एकहजार जनाले कौरा नाँच्दै

बन्दीपुर : पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा आज एकैपटक करिब एकहजार जनालाई एकैस्थानमा कौरा नचाइने भएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसर तथा ‘तमु ल्होसार’ पर्वको दिन आज पुस १५ गते वृहत कौरा नृत्य कार्यक्रम आयोजना गरिएको वृहत कौरा नृत्य कार्यक्रमका संयोजक एवं सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी गराए ।

‘बन्दीपुर भ्रमण वर्ष २०२५ र ल्होसार पर्व संगसंगै विविध साँस्कृतिक कार्यक्रमका साथ खाना महोत्सव समेत गरी तयारी भएको छ’, अध्यक्ष गुरुङले भने, ‘तमु ल्होसारको अवसरमा आजसम्मकै धेरै कलाकारहरुको सहभागितामा कौरा नाच, पुस १६ गते चर्चित व्याण्डका साथ संगीतमय न्यू यर इभ कार्यक्रम र पुस १७ गते राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ विविध खानाका परिकारहरुसंग आनन्द लिन पाइने छ ।’

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने मूल नाराका साथ तनहुँको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको संयोजक गुरुङले बताए ।

कार्यक्रममा सह–आयोजक, प्रवर्द्धक, कलाकार, दर्शक तथा सहयोगी सबैको खुला सहभागिता रहनेछ । नृत्यमा सहभागी हुन इच्छुक व्यक्तिहरूले आ–आफ्नो जातीय तथा संस्थागत पोशाकमा उपस्थिति हुने बताइएको छ । समूहगत रूपमा सहभागी हुन चाहनेले कम्तिमा २५ जनाको समूह बनाएर दर्ता गर्नुपर्नेछ । यस्ता समूहलाई कौरा नृत्य प्रतियोगितामा समेत सहभागी हुने अवसर प्रदान गरिने भएको छ। सहभागी कलाकार तथा समूहलाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको आयोजक समितिले जनाएको छ ।

यस्तै, बन्दीपुरमा २०२५ को अवसरमा सबैभन्दा धेरै जनाले समूहमा नाचेर तनहुँको सांस्कृतिक पहिचान बनेको कौरा नाचलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्ने भिजिट बन्दीपुर–२०२५ को अभियानमा आदिकवि भानुभक्त क्याम्पस/विद्यालयका ठूलो संख्यामा विद्यार्थीहरू सहभागी हुने भएको छ । भिजिट बन्दीपुर २०२५ को त्यस अभियानमा सहयोग पु¥याउन आदिकवि भानुभक्त क्याम्पस÷विद्यालयले ६२८ जना विद्यार्थीलाई कौरा नृत्यमा सहभागि गराउने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

यस अभियानमा सञ्चालक समिति, शिक्षक, विधार्थी र कर्मचारी समेत विद्यार्थीहरूसँगै बन्दीपुर भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए । पुस १५ गते गुरुङ समुदायको राष्ट्रिय पर्व ल्होसार र पुसे १५ को अवसरमा बन्दीपुरमा हुन लागेको उक्त कौरा नाच हेर्न र बन्दीपुरको भ्रमण गरी भरपूर मनोरञ्जन लिन आदिकवि भानुभक्त क्याम्पसले आफ्ना विद्यार्थी र अभिभावकहरूलाई अपिल गरेको छ ।

कौरा नृत्य र भिजिट बन्दीपुरलाई सफल बनाउनका लागि सोमबार अपरान्न सम्पदा नेपालका अध्यक्ष एवं भिजिट बन्दीपुर २०२५ का कौरा नृत्य तथा लोसार कार्यक्रमका संयोजक हरि सिं गुरुङको उपस्थितिमा आदिकवि भानुभक्त क्याम्पस/आदिकवि भानुभक्त विद्यालयका प्रतिनिधिहरू सहितको बन्दीपुर भ्रमण तयारी बैठक बसेको थियो ।

यस्तै, दुई रात तीन दिने यस महोत्सवमा बन्दीपुरका सम्पूर्ण होटल तथा होमस्टेका साथै केवुल कारमा विशेष छुटको व्यवस्था गरिएको बन्दीपुर भ्रमणप वर्ष २०२५ का संयोजक बैंस गुरुङले बताए । यस्तै, बन्दीपुरले आगामि सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने समेत योजना बनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker