काँकाकुल बनेका चुँदेर बासीको घरदैलोमा पुग्यो खानेपानीको धारा

सुनिता आचार्य/तनहुँ

७० वर्षीया सोममाया गुरुङ घरको दैलोमै खानेपानीको धारा झरेको देख्दा दंग छिन् । १५ वर्षको उमेरमा बिहे गरेर आएपछि निकै कष्टका साथ डोकोमा पानी बोकेर उपभोग गर्दै आएकी सोममायाले यसरी घरकै आँगनमा पानी आउँछ भन्ने सपनामा पनि सोचेकी थिइनन् ।

तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटरको दुरीमा रहेको चुदेर गाउँका बासिन्दा सहज रुपमा खानेपानी उपभोग गर्न नपाउँदा काँकाकुल जस्तै थिए । व्यास नगरपालिका-५ चुदेर गाउँका बासिन्दाको दैनिकी डोको बोकेर पानीको खोजीमा भौतारिनुपर्ने बाध्यता थियो । सोममायाले पनि बिहे गरेर आएपछि करिब ५३ वर्ष यसरी नै बिताएकी थिइन् ।

नगरपालिकाकै बासिन्दा भएपनि लामो समयसम्म गाउँमा पानीको समस्या समाधान नभएपछि धेरै परिवारले गाउँ छोडन बाध्य भएको सोममायाले सुनाइन् । उनले भनिन्, ‘बिहान ३ बजेदेखि ढोको बोकेर पानीको खोजीमा भौतारिनु पथ्र्यो । यहाँका धेरै मान्छेले राम्रोसंग पानी खान नपाउँदा गाउँ नै छाडेर गए ।’

पानीको चरम अभाव भएपछि बिस्तारै गाउँलेहरुले विकल्प खोज्न थाले र गाउँ सुनसान हुने अवस्थामा पुग्यो । गाउँलेले विभिन्न संघ संस्था तथा निकायको ढोका ढक्कढकाउँदा अहिले घर आँगनमै खानेपानीको धारा आएपछि स्थानीय दंग छन् ।

अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाई, व्यास नगरपालिका लगायतको सहयोगमा रोटरी क्लब अफ दमौलीले निर्माण गरिदिएको चुदेर खानेपानी आयोजना सम्पन्न भएसंगै अहिले स्थानीयको दैनिकीमा परिवर्तन आएको छ ।

२०७७ पुस २२ गतेबाट निर्माण थालिएको सो खानेपानी आयोजनाले करिब डेढ वर्षदेखि चुदेरको ७० घरधुरीलाई पानी उपलब्ध भएको छ। दुइ घण्टा लगाएर पानीको जोहो गर्न हिड्ने चुदेरबासीको अहिले घर आगनमै पानीको धरा खसेको छ । खानेपानी मात्र होइन अहिले उनीहरुले दैनिक उपभोगको लागि, गाईवस्तुलाई खुवाउनका साथै करेसा बारीमा प्रयोग गर्न समेत प्रशस्त पानी पाएका छन् ।

पानीकै कारण जीवनकालमा धेरै समस्या भोगेका यहाँका महिलाहरुले राहतको महशुस गरेका छन् । स्थानीय महिलाहरु भन्छन् ‘हामीले यति सजिलै पानी खान पाउँछौ भन्ने कल्पना समेत गरेका थिएनौं ।’ पानीकै कारण पाएको दुुःख सुनाउँदै स्थानीय ज्ञानुमयाा क्षेत्री भन्छिन्, ‘हिउँदमा त पानीको मुहान नै सुकेर खोलाबाट पानी बोकेर पनि खायौँं । अब भने ती दुःखका दिनको अन्त्य हुन्छ कि भन्ने लागेको छ ।’

स्थानीय निर्मला पौडेलले पानीको अभावका कारण भोगेको तितो अनुभव सुनाउँदै भन्छिन्, ‘गाइवस्तुलाई पनि दिन मन नलाग्ने धमिलो पानी हामीले खाएर बसेका थियौँ । गाग्रीमा ल्याएको पानी कुन बेला थेग्रिएर संग्लो हुन्छ अनि धितमर्ने गरी खाउँला जस्तो हुन्थ्यो ।’

त्यो बेला र अहिलेको तुलना गर्दै उनीले भनिन् मैले घरमा भैंसी, बाख्रा पालेको छु, बारीभरी साँगपात लगाएको छु । पानी आएसँगै जीवन फेरिएको महसुस गरेको छु । स्थानीय १८ वर्षीय सुमन पौडेलले खानेपानीको अभावका कारण पढाइमा परेको असर सुनाउँदै भने, ‘अहिले पानीको जोहो गर्न जानुपर्ने समयमा पढन पाएको छु । बर्खाको बेला असुरिक्षत धमिलो पानी पिउन बाध्य थियौं, अहिले डब्बल फिल्टर पानी पिउन पाएका छन् ।’

रोटरी अभियानबाट प्रत्येक घरमा खानेपानीको धारा जडन गरिएको छ । अहिले गाउँलेले कसरी आर्थिक उन्नतीका काम गर्न सकिन्छ भन्ने सोच्न थालेका छन् । सबै याम सुनसान र सुख्खा हुने उनीहरुको बारीमा अहिले हरियाली छाएको स्थानीय दलबहादुर थापाले बताए । पानी खुवाउन समस्या हुने भएकाले पशु पाल्न समेत छाडेका उनीहरुको गोठ अहिले हरिभराउ छन् । पानीकै अभावका कारण सरसफाइका ध्यान दिन नसकेका उनीहरुले अहिले शौचालय र घर वरपर सफा गर्न पाएको थापाले बताए ।

पानीको अभावका कारण आफ्नो थलो छाडेर विस्थापित भएकाहरु पनि बिस्तारै गाउँ फर्किन थालेका छन् । थापाले भने, ‘हामीले सपना देखेका त थियौं तर यसरी पुरा होला भन्ने लागेको थिएन । रोटरी अभियान हाम्रा लागि वरदान सावित भएको छ ।’

करिब ८४५ मिटरको दुरीमा रहेको मुहानबाट लिफ्ट प्रविधिबाट पानी ल्याएर ३ वटा ट्याक्कीमा संकलन गरी वितरण गर्ने गरिएको छ । चुदेरका बासिन्दा अहिले पानीको समस्याबाट पूर्ण रुपमा मुक्त भएका छन् । एक घण्टामा १० हजार लिटर पानी संकलन गरी अहिले चुदेर गाउँ, क्षेत्री गाउँ लगायतको ठाउँमा वितरण गर्न थालिएको छ ।

पानीको सहज उपलब्धता भएसँगै स्थानीयहरुले आर्थिकउपार्जनको बाटोमा लाग्ने योजना बनाएका छन् । मगर कला संस्कृतिको संगम स्थल, सफा र स्वच्छ वातावरण, प्राकृतिक सुन्दरताको अधिकत्तम उपयोग गरी स्थानीयले गाउँमा हामेस्टे सञ्चालनको योजना बनाएको सचेतना आमा समूहकी अध्यक्ष कामना थापाले बताइन् ।

‘गाउँमा बिजुली छदै छ, अब सडकको सहज पहुँच भए गाउँमा पाहुँनाहरु आउथे’ उनले भनिन्, ‘गाउँको उत्पादन बजारीकरणका लागि पनि सडक कालोपत्रेको खाँचो छ । नेपालटारसम्म बाटो राम्रो छ, यहाँ पुग्न जम्मा ३ किलोमिटर बाटो पिच भए हामीलाई धेरै सुविधा हुन्छ। स्थानीय सरकारले यति त गर्छ होला भन्ने हामीलाई लागेको छ ।’

चुदेर पुनः जागरणका मुख्य अभियन्ता प्रो. डा. दुर्गादत्त पौडेलले बालिकाहरुको शिक्षा र स्वास्थ्यलाई प्रथामिकता दिएर काम गर्ने इच्छा रहेको बताएका छन् । चुदेरमै जन्मिएर हाल अमेरिका बस्दै आएका पौडेलले सो क्षेत्रको खानेपानीको समस्या समाधान गरे जस्तै बालिकाहरुको शिक्षा र स्वास्थ्यमा देखिएको समस्या समाधान गर्ने योजना बनाउँदै गरेको सुनाए ।

अष्ट ज अमेरिकाका अध्यक्ष पौडेलले बालिकाहरुलाई पढाउन र उनीहरुमा प्रजनन् स्वास्थ्य, व्यक्तिगत स्वास्थ्यका विषयमा समस्याको अनुभूति गरेकाले त्यसको लागि काम गर्ने बताए । उनकै पहलमा उक्त खानेपानी आयोजना सम्पन्न गर्न अमेरिकामा सहयोग संकलन गरी कार्य अगाडि बढाइएको थियो ।

रोटरी अभियानमा जोडिएका रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईका निवर्तमान अध्यक्ष डा. अर्जुन अर्यालले चुुदेरको सामाजिक, आर्थिक र सांस्कृतिक बिकासको लागि निरन्तर सहकार्य र समन्वय गर्न तयार रहेको बताए । रोटरीले जागरण अभियान सुरुवात गरेकाले चुदेरलाई समृद्ध र आत्मनिर्भर गाउँको रुपमा बिकास गर्न निरन्तर सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । साथै रोटरीको सहयोग बमोजिम स्थानीयले पनि उत्तिकै सक्रियता देखाएर अभियान सफल बनाउन लागि परेको उनले बताए ।

पर्यटकीय सम्भावना बोकेको, मगरहरुको कला संस्कृतिमा पनि धनी ठाउँ भएकाले चुदेरलाई नमुना बस्तीको रुपमा बिकास गर्न आफु पनि लागि परेको वडाध्यक्ष बिष्णुकुमार (हिमाल) श्रेष्ठले बताए । उनले भने, ‘सहरी कोलाहलबाट अलिक टाढा शान्त ठाउँमा भएकाले यो गाउँको छुटटै महिमा छ, यसको मौलिकतामा आँच नआउने गरी यहाँको सभ्यतालाई जीवन्त राखी हामी बिकास गर्ने अभियानमा छौ ।’

चुदेर गाउँलाई रोटरी क्लबले कोर कम्युनिटी भिलेजको रुपमा बिकास गर्ने योजना अगाडि सारेको पर्यटनविद् तथा रोटरी क्लब अफ दमौलीका अध्यक्ष हरिसिं गुरुङले बताए । रोटरीले उक्त अभियान अन्तर्गत त्यस ठाउँको कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनलाई जोडेर चुदेर एकीकृत बिकास कार्यक्रम सुरु गर्ने योजना अगाडि ल्याएको छ । अध्यक्ष गुरुङले भने, ‘५० वर्ष अघिसम्म १५० भन्दा बढी घरधुरी रहेको चुदेर क्षेत्रमा खानेपानी अभावकै कारण गाउँ उजाडिदै गएको रहेछ । अब कोही विस्थापित नहोस भन्ने उद्देश्यले पुनः जागरण अभियान थालिएको छ र गाउँले परिवर्तनको अनुभूति पनि गर्न थालि सकेका छन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker