आदिकवि भानुभक्त क्याम्पसको गुणस्तर सुनिश्चितता समितिको गोष्ठी

बन्दीपुर : आदिकवि भानुभक्त क्याम्पसले बन्दीपुरमा आइतबार गुणस्तर सुनिश्चितता समिति सबलीकरण सम्बन्धी एक दिने गोष्ठी गरेको छ । उक्त गोष्ठीमा व्यास नगरपालिकाका नगरप्रमुख तथा नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसहरूमा राजनीतिलाई प्रवेश दिन नहुने र गुणस्तरका लागि निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । उनले विद्यार्थी पलायन र आर्थिक स्रोतको सिमितता जस्ता समस्याहरूलाई समाधान गर्न युग सुहाउँदो प्रविधि र शिक्षण विधि अपनाउन सुझाव दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले क्याम्पसहरूको आपसी सहकार्यको महत्वलाई रेखांकित गर्दै आर्थिक स्रोत परिचालनका लागि कार्यक्रमहरू अघि बढाउनुपर्ने जोड दिए । नेपाल पब्लिक क्याम्पस संघका पूर्व अध्यक्ष भोलानाथ ओझाले सामुदायिक क्याम्पसहरूले सामना गरिरहेका समस्याहरूको मुख्य कारण प्रभावकारी नीतिको अभाव रहेको बताए ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायण प्रसाद भण्डारी र त्रिभुवन विश्वविद्यालयका प्रा. डा. प्रदिपचन्द्र गौतमले उच्च शिक्षा नीति र गुणस्तर सुनिश्चितता सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

गोष्ठीमा १० जिल्लाका १३ वटा क्यूएए प्राप्त क्याम्पसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, गोष्ठीको दौरान आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसबीच संस्थागत सहकार्यको सम्झौतामा हस्ताक्षर पनि गरिएको छ ।