प्राकृतिकको मनोरम दृश्य हेर्न छिम्केश्वरी पुग्न थाले आन्तरिक पर्यटक

भञ्ज्याङ समाचारदाता/तनहुँ

समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आकर्षण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका-५ मा रहेको छिम्केश्वरी मन्दिर आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ ।

आँबुखैरेनीबाट लाब्दीसम्म करिब १८ किमीमध्ये नौ किमी कालोपत्र छ भने अन्य सडक ग्राभेल रहेको छ । ग्राभेल सडकपश्चात् सात सय ५० मिटर रेलिङ निर्माण गरिएकाले पैदल हिँड्नुपर्ने हुन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस मन्दिरमा हालै चार सय २५ किलोग्राम पित्तलको पाता प्रयोग गरी मन्दिरको छाना छाइएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो ।

प्यागोडाशैलीमा पुनः निर्माण गरिएको उक्त मन्दिरमा छाना, मुकुट, नागोल, झलर र गजुर निर्माण लगायतका कार्यमा पित्तल प्रयोग गरिएको हो । गाउँपालिकाको २१ लाख ५० हजार चार रुपैयाँ र बाँकी रकम उपभोक्ता समितिले ब्यहोर्ने गरी कूल रु २३ लाख ९७ हजार दुइ सय १८ लागतमा उक्त कार्य गरिएको हो । मन्दिरको छानाका लागि मात्रै ज्यालासहित रु १२ लाख खर्च भएको छ । मन्दिर परिसरमा मौला निर्माण गर्ने, मन्दिरको भित्री भागमा टायल बिच्छाउने, रङरोगन र टल्काउने लगायतका कार्य गरेर चिटिक्क बनाइएको उहाँले बताउनुभयो ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यस स्थानको मन्दिर जीर्ण बनेपछि गाउँपालिकाले करिब रु ४५ लाख बजेट विनियोजन गरी पुनर्निर्माण गरेको हो । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएको छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखाकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लास्टिकको पोखरीमा पानी संकलन गरेर गत वर्षेखि मन्दिर पुनर्निर्माणको काम सम्पन्न गरिएको छ ।

मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षबाट मन्दिर निर्माणको काम सुरु गरे पनि भौगोलिक विकटताका कारण निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । मन्दिरको भौतिक संरचना परिवर्तन गरी आकर्षण स्थल बनाएसँगै पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker