हिमपहिरोपछि बूढीगण्डकीमा बाढी, गोरखामा ठूलो क्षति, कहाँ के के क्षति भयो ?
घर, पुल, जलविद्युत् आयोजना र सडक संरचनामा क्षति; दर्जनौँ परिवार विस्थापित, पाँच जना सम्पर्कविहीन

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचको सिरिङ्गी हिमालमा हिमपहिरो खसेपछि उइनगुलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । बाढीले घर, पुल, जलविद्युत् आयोजना, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै विभिन्न बस्ती जोखिममा परेका छन् ।
बिहीबार बिहान ५ः३० बजेतिर हिमपहिरो खसेपछि उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बाढीले बगाएको छ भने अर्को घरमा बाढी पसेको छ । सोही वडाको घट्टेखोलामा बहादुर गुरुङको घरमा बाढी पसेको तथा सपना गुरुङको एउटा कच्ची घर बगाएको बताइएको छ । भैवा गुरुङका दुई कच्ची घर तथा विकास गुरुङको पाँच कोठे भवनसमेत बाढीले बगाएको छ । घट्टेखोलामै रहेको दुधपोखरी आमा समूहको तीन कोठे भवन पनि बाढीले बगाएको छ ।
चुमनुब्री–३ कै पैयुमा करिब ६–७ घर पुरिएको तथा बगरमा ५–६ घर पुरिएको प्रारम्भिक जानकारी आएको गोरखा प्रहरीले जनाएको छ । सल्लेरीमा करिब २०–२२ घर जोखिममा रहेका छन् । निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस आसपासका ७–८ वटा घरसमेत बाढीले बगाएको बताइएको छ ।
धार्चे गाउँपालिका–५ माछीखोलाको तल्लो बस्तीमा पनि बाढी पसेको छ । प्रारम्भिक विवरणअनुसार करिब १० घरमा बाढी पसेको, चारवटा किराना सामान राख्ने स्टोरमा क्षति पुगेको तथा १०–१२ वटा बंगुरका खोर पुरिएका छन् । सोही क्षेत्रका ५–७ घर तथा ५–७ वटा टहरामा समेत बाढी पसेको बताइएको छ ।
धार्चे–१ यारुबगरमा करिब १०–१२ घर र दोभानमा ५–६ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । यारुबगर र दोभानमा रहेका जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको बताइएको छ ।
आरुघाट गाउँपालिका–३ सोतीमा करिब १४–१५ घरमा बाढी पसेको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ । आरुघाट गाउँपालिका–९ नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ । तीन भागमा रहेको उक्त पुलको एक भाग बगेसँगै सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाढीले चुमनुब्री–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे–५ माछीखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ । पुलहरू बगाएपछि स्थानीयको आवतजावत तथा यातायात सम्पर्कमा थप समस्या भएको छ ।
यसैबीच, बाढीका कारण जोखिममा परेका तथा फसेका नागरिकको उद्धार गरिएको छ । धार्चे–१ यारुबगरमा फसेका स्थानीय तथा जलविद्युत् आयोजनामा कार्यरत १८ जना नेपाली नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ । चुमनुब्री–३ न्याकफेदीबाट नौ जना नेपाली नागरिकलाई न्याकगाउँमा उद्धार गरिएको छ ।
सिरिङ्गी हिमालको फेदीस्थित उइनगुलुङ क्षेत्रमा प्रहरी टोली पुग्दा आसपास करिब नौ किलोमिटर क्षेत्रमा पहिरो गएको पाइएको छ । उक्त क्षेत्रमा नौवटा भेडीगोठसहित गोठमा बस्ने मानिसहरू सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको छ । प्रहरी टोली घटनास्थलमा पुगे पनि क्षतिको विवरण भने अझै पुष्टि हुन बाँकी रहेको गोरखा प्रहरीले जनाएको छ ।
यसैगरी चुमनुब्री–६ चुम्चेतका पाँच जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । सम्पर्कविहीन हुनेमा ६९ वर्षीय सोनाम लामा, ५५ वर्षीया जिग्मे दोर्जे (मोन्चो), ५५ वर्षीया अञ्जिलामा, ६६ वर्षीया बन्ते सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन्जिङ दोर्जे लामासम्बन्धी विवरण प्राप्त भएको छ । यद्यपि नाम र संख्याको विवरणसमेत थप यकिन भइरहेको जनाइएको छ ।
हिमपहिरोपछि खोलाको बहावमा आएको परिवर्तन र बूढीगण्डकीमा बढेको जलसतहका कारण नदी आसपासका बस्तीमा थप जोखिम देखिएको छ । दुर्गम भौगोलिक क्षेत्र भएकाले सबै प्रभावित स्थानमा तत्काल पुग्न कठिनाइ भइरहेको छ । उद्धार, खोज तथा क्षतिको विस्तृत विवरण संकलनको काम जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।










