बेलचौतारा सोलार फार्मबाट ५ मेगावाट विद्युत उत्पादन, राष्ट्रिय प्रशारण लाइनमा जोडियो
भञ्ज्याङ समाचारदाता/दमौली
सौर्य विद्युत उत्पादनका लागि नेपालमा पहिलो सम्झौता गरिएको तनहुँको शुक्लागण्डकी नगरपालिका-५ वेलचौतारा सोलार फार्मबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । करिब ४२ करोड रुपैयाँको लागतमा तयार गरिएको सोलार फार्मबाट ५ मेगावट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको हो ।
चार वर्ष अगाडि निर्माण शुरु गरिएको आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने गरी पिपिए सम्झौता गरिएको छ । सन् २०१९ जुलाइमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएपनि कोरोना कहरका कारण निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ ।
निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सौर्य ऊर्जा परियोजनाको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले शुभारम्भ गरेकी हुन् ।
सो अवसरमा मन्त्री भुषालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताइन् । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै उनले भनिन्, ‘हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रति नीतिको ऊर्जामा पनि गएका छौँ ।’
मन्त्री भुषालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको बताइन् । गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उनको भनाई छ ।
विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुषालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताइन् । ‘अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ’, उनले भनिन्, ‘सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।’
जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी गराइन् ।
शुक्लागण्डकी-५ वेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी क्षेत्रफलको जग्गा ३० वर्षसम्मका लागि वाषिर्क १३ लाख रुपैयाँ भाडा तिर्ने गरी सोलार आयोजना शुरु गरिएको सोलर फार्मका सदस्य एवं शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी गराए ।
उनले भने, ‘आयोजनास्थलमा १३ हजार २९६ वटा सोलर प्यानल जडान गरिएको छ । आयोजनाबाट ६.३ मेगावट विद्युत उत्पादन हुने क्षमता भएपनि अहिले प्राधिकरणसंग ५ मेगावबट विद्यतुको प्रति युनिट ७.३० रुपैयाँमा खरिद बिक्री सम्झौता गरिएको छ ।’ सोलार आयोजना र प्राधिकरण बीच भएको पिपिए सम्झौता अनुसार उत्पादित ५ मेगावटसम्मको विद्युत प्रति युनिट ७.३० रुपैयाँमा खरिद गरेको छ । ५ मेगावट बढीको प्रति युनिट ३.६५ रुपैयाँमा आयोजनाले बेच्ने भएको छ ।
सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले बताए । ‘कोभिड संक्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ’, गुरुङले भने, ‘सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।’ कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ले लगानी गरेको छ । करिब ४३ करोड रुपैयाँको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।
प्रालिका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डेले सरकारले मिश्रति ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको बताए । सोलार परियोजना जलविद्युतको तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले जानकारी गराए ।
आयोजना सञ्चालनका लागि सुरुवाती चरणमा राज्यबाट समेत राम्रो साथ नपाएपनि अहिले सहज भएको प्रालिका निर्देशक शंकरजंग गुरुङले बताए । उनले भने, ‘व्यापारिक विद्युत उत्पादन गर्न विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो सौर्य विद्युत आयोजना भएकाले प्रणालीमा आउन बढी समय लागे पनि यसपछि आउने आयोजनाका लागि बाटो सहज भएको छ ।’ भारतको रेनेर्गो कम्पनीले निर्माण गरेका सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।
आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकास सम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । सौर्य विद्युत आयोजनाले वार्षिक ८७ लाख ५ हजार युनिट विद्युत उत्पादन गर्ने छ । आयोजनाले उत्पादन गरेको विद्युत ५ सय मिटर दुरीमा रहेको खैरेनीटार सबस्टेसनमा जोडिएको छ । यो आयोजनाले यस क्षेत्रका पर्यटनलाई समेत विकास गर्ने आयोजनाले दाबि गर्दै आएको छ ।










