बन्दिपुर गाउँपालिकाले वडा नं. १ लाई बाख्रापालनको पकेट क्षेत्रका रुपमा विस्तार गर्दै

तनहुँको बन्दिपुर गाउँपालिकाले वडा नं. १ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउने कार्यक्रम अगाडि बढाइएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो ।
प्रधामन्त्री कृषि परियोजना अन्तरगत बाख्रापालन पकेट क्षेत्रका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। गाउँपालिकाले बाख्रापालनका लागि १ नं. वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको अध्यक्ष पोख्रेलले बताए ।
वडाका अगुवा किसानलाई जिल्लाको भिमाद नगरपालिका-९ पाथार्दीस्थित नमूना रूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको छ । बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसान लगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो ।

बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँस लगायतका सम्पूर्ण काम गर्ने बताइएको छ ।
वडामा रहेको १० टोलका बाख्रापालन कृषक समुहमा आबद्ध गराइने भएको छ । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि शुरुमा एक हजार बाख्रा राखिने र एक घरधुरीले कम्तीमा पाँचवटा माउ बाख्रा पल्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले १५ लाख रुपैयाँ बजेट छुटयाइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो । एक सय ५० जना बाख्रापालन कृषक छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर-१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम शुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएका छन् ।










